सम्पादकीय

अक्षम्य आक्रमण

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लहानस्थित मालपोत कार्यालयमा गराएको बम विष्फोट आतंककारी गतिविधि हो । तराई/मधेसमा विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चाले व्यक्ति हत्यादेखि विष्फोटसम्मका आपराधिक गतिविधि गर्दै आफ्नो उपस्थिति देखाएको थियो । २०६१ सालमा गोइतको नेतृत्वमा स्थापना गरिएको यो समूहले विशेष गरी माओवादी शान्ति प्रक्रियामा आएपछि हिंसात्मक गतिविधिलाई बढाएको थियो । तर यो मोर्चा पछि विभिन्न समूहमा विभाजित हुँदै गयो भने तराई/मधेसमा कुनैबेला दर्जनभन्दा बढी यस्ता सशस्त्र र आपराधिक समूह सक्रिय थिए । पछि कतिपय समूह प्रहरी कारबाहीका कारण निस्तेज भए भने कतिपय समूहका नेता/कार्यकर्ताले राज्यका निकायसमक्ष आत्मसमर्पण गरे । र, राजनीतिक मागसमेत राखेका केही समूह वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा पनि आए । तराई/मधेशमा सक्रिय यस्ता समूह पछिल्लो समय कमजोर हुँदै गएका थिए भने उनीहरूका गतिविधि शून्य थियो । तर अहिले राजनीतिक अस्थिरताको मौका छोपी जनतान्त्रिक तराई मुक्ति मोर्चा फेरि जुन हिसाबले आपराधिक गतिविधिमा उद्यत भएको छ, त्यो कुनै हालतमा पनि सह्य हुँदैन । यस्ता सशस्त्र समूहको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न राज्यले कुनै कसर बाँकी राख्नहुँदैन । यस्ता आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न आवश्यक छ ।  

सिरहा विष्फोटनमा आठ जना घाइते भएका छन् जसमध्ये गम्भीर घाइते धनगढीमाई नगरपालिका–४ का दिनेशकुमार भण्डारीको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भण्डारीलाई सैनिक हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । लहान नगरपालिका–८ स्थित भाडाको घरमा सञ्चालित मालपोत कार्यालयको पहिलो तल्लामा विष्फोट गराइएको प्रेसर कुकर बमका कारण नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजारका लक्ष्मी राना, बेचनी मगर, फूलकुमारी महतो, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा र भगवानपुर गाउँपालिकाका बद्रीनारायण यादव घाइते भएका छन् । घटनामा घाइते अन्यको उपचार विराटनगर र लहानस्थित अस्पतालहरूमा भइरहेको छ । यसरी सर्वसाधारणलाई लक्षित गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले जे/जस्ता गतिविधि गरेको छ, त्यो अक्षम्य अपराध हो । तर मोर्चाले भ्रष्टाचार विरोधी अभियानअन्तर्गत कारबाही गरिएको भन्दै विज्ञप्ती जारी गरेको मात्र छैन, उच्चस्तरको कारबाही हुने चेतावनीसमेत दिएको छ । यसबाट मोर्चाले जुनसुकै बेला अन्य आपराधिक घटना गराउन सक्ने संभावना देखिएको छ । त्यसैले पनि प्रहरी प्रशासनलगायत राज्यका अन्य निकायहरू चनाखो भई यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्नैपर्छ ।  

यो घटना जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले त्यस दिन गरेको छ जुन दिन त्यही समूहको पोलिटब्युरो सदस्य बताउने रामविलास यादव जिल्ला प्रशासन कार्यालय सिरहामा सार्वजनिक भएका थिए । यादव सार्वजनिक भएको केहीबेरमै नजिकैको मालपोत कार्यालयमा बिष्फोट भएको हो । जिल्ला प्रशासन कार्यालय सिरहामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको रोहवरमा यादव सार्वजनिक भएका हुन् । यादवमाथि सिरहामा दुईवटा बम विस्फोटमा संलग्न रहेको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । यादवलाई मन्त्री श्रेष्ठले माला लगाएर स्वागत गर्दै सरकारले द्वन्द्व अन्त्य गर्न खोजेको बताएका थिए । तर यादव सार्वजनिक भएको केही बेरमै भिडभाडयुक्त सरकारी कार्यालयमा विष्फोट भएबाट तराई/मधेसमा फेरि पनि सशस्त्र समूह सल्बलाउन सक्ने संकेत मिलेको छ । सशस्त्र हिंसाको राजनीति गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सरकारले शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएलगत्तै मधेसमा सशस्त्र हिंसाको सल्बलाहट भएको देखिन्छ ।  

त्यति मात्र होइन, सरकारले यसअघि नै अलग राज्यको माग राख्दै आएको सिके राउत समूहलाई समेत मूलधारको राजनीतिमा समाहित गरेको हो । यो अवस्थालाई ध्यानमा राख्दै गोइतले पनि आफ्ना गतिविधि बढाउन खोजेको देखिन्छ । त्यसो त गोइत समूहले विगतमा संयुक्त राष्ट्र संघको रोहबरमा मात्र सरकारी वार्ता टोलीसँग वार्ता गर्ने भनी सर्त राखेको थियो जसलाई सरकारी पक्षले अस्वीकार गरेको हो । पछिल्लो समय जनतान्त्रिक गोइत समूह शिथिल बनेको थियो भने अहिले फेरि तराई/मधेसमा त्रासको वातावरण सिर्जना गर्न खोजेको देखिन्छ । त्यसैले सर्वसाधारणमा त्रास उत्पन्न गराउने यस्ता क्रियाकलापलाई कुनै पनि हिसाबले राजनीतिक मान्न मिल्दैन, आपराधिक र आतंककारी गतिविधि हुन् । यस्ता गतिविधिलाई सरकारले सुरुमै नियन्त्रण गर्नुपर्छ । यस्ता आपराधिक गतिविधिलाई राजनीतिक आवरण दिएर अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिने गल्ती पनि सरकारबाट हुनुहुँदैन । विगतमा शान्ति वार्ताको नाममा आपराधिक क्रियाकलापलाई समेत उन्मुक्ति दिने काम भएकै कारण यस्ता समूह उत्साहित भएको तथ्यलाई मनन गर्दै आगामी दिनमा राज्यको तर्फबाट त्यस किसिमको गल्ती गर्नैहुँदैन ।  

जिल्ला सदरमुकाम त्यसमा पनि मालपोत कार्यालय जस्तो सेवाग्राहीको भिडभाड हुने स्थानमा गरिएको यति ठूलो घटनाबारे प्रहरीले सुइँकोसमेत नपाउनु आफैँमा अचम्मलाग्दो पक्ष हो । त्यसमाथि इलाका प्रहरी कार्यालयबाट मालपोत कार्यालय सय मिटरको दूरीमा रहेको छ भने लहान क्षेत्रलाई केन्द्र बनाएर प्रदेश, जिल्ला र इलाका प्रहरीबाट विशेष प्रहरीको नाममा १० जना जति घुमुवा प्रहरी खटिएका हुन्छन् । यति धेरै सुरक्षाकर्मी परिचालित भएको स्थानमा दिउँसै बम विष्फोट गराएर अपराधी जे/जसरी उम्किएको छ, त्यो सुरक्षा निकायको पनि असफलता हो । यसका साथै घटनामा संलग्न व्यक्ति उम्किएको मात्र होइन, अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न नसक्नुले सुरक्षा व्यवस्थामाथि समेत प्रश्नचिह्न खडा भएको छ । त्यसैले यो घटनाबाट पाठ सिक्दै आगामी दिनमा सुरक्षा निकायले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ ताकि यस्ता आपराधिक समूहले यस्ता घटना गराउन नसकून् । 

प्रकाशित: ३ चैत्र २०७७ ०६:२१ मंगलबार

Download Nagarik App
Download Nagarik App