सम्पादकीय

आशाको आरम्भ

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सातै प्रदेशमा एकैपटक सुरु भएसँगै आशाको किरण देखिएको छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल विधिबाट शुभारम्भ गर्दै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने त्यो पनि करिब तीन महिनाभित्र भनी व्यक्त गरेको प्रतिबद्धता उत्साहित पार्ने किसिमको छ । प्रतिबद्धता ठूलो होइन, त्यसको कार्यान्वय महत्वपूर्ण हो । त्यसैले सबै नागरिकलाई तीन महिनाभित्र कोभिडविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धतासँगै प्रधानमन्त्री ओलीको बोलीको अग्निपरीक्षा सुरु भएको छ । त्यसो त जनताप्रति प्रतिबद्ध भएर प्रयासको थालनी गर्ने हो भने त्यो असम्भव छैन । त्यसैले आगामी दिनमा कोरोना खोप ल्याउन सरकारले चाल्ने कदममा  प्रधानमन्त्रीको प्रतिबद्धताको कार्यान्वयन निर्भर रहन्छ ।  

सरकारले छिटोभन्दा छिटो कोरोनाविरुद्धको थप मात्रा खोप ल्याएर सबै नागरिकलाई निःशुल्क लगाउने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने कोभिडविरुद्धको विजयमा अहिले सुरु भएको आशाको आरम्भले सार्थकता पाउनेछ । 

कोभिड–१९ विरुद्ध खोप निर्माणको क्रममा विभिन्न देशबीच अग्रिम बुकिङको प्रतिस्पर्धा हुँदै गर्दा नेपाल अलमलमै रह्यो । कुनै प्रयास नगरेको भन्दै चर्काे आलोचना हुँदा सरकारले ‘छिमेकी देशहरूमा खोप अभियान सुरु हुँदा नेपाल टुलुटुलु हेरेर बस्ने अवस्था रहँदैन’ भन्ने जवाफ फर्काएको थियो । अहिले भारत सरकारको अनुदानकै खोप किन नहोस्, दक्षिण एसियामा भारतपछि कोरोना खोप अभियान सुरुवात गर्ने दोस्रो मुलुक नेपाल बनेको छ । भारतमा खोप अभियान सुरु भएलगत्तै नेपाललाई समेत १० लाख मात्रा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उपलब्ध गराएका कारण यो संभव भएको हो । अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोप भारत सरकारले उपलब्ध गराएसँगै नेपालमा लगाउन सुरु गरिएको हो ।  

पछिल्लो समय नेपाल–भारतबीच विभिन्न तहमा भएका भेटघाट र कुराकानीमा नेपाली पक्षले भारतमा उत्पादित कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो । त्यसमा भारत पनि सकारात्मक थियो । तर, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा खोप कूटनीतिले मूर्त रूप पाएको हो । ज्ञवाली भारतमा हुँदै यता नेपालमा औषधि विभागले भारतीय खोप निर्माता सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । तर अहिले भारतले जति मात्रामा खोप उपलब्ध गराएको छ, त्यसैलाई मात्र उपलब्धिका रूपमा व्याख्या गरेर बस्नुको कुनै अर्थ छैन । बरु, नेपालका लागि भण्डारण, मूल्यदेखि सहज आपूर्तिका हिसाबले पनि सबैभन्दा उपयुक्त खोप सेरम इन्स्टिच्युटकै भएकाले पनि थप डोजका लागि भारत सरकारदेखि कम्पनीसँग सिधै कुराकानी गर्न उत्तिकै आवश्यक छ । परराष्ट्रमन्त्री ज्ञवालीकै भ्रमणका क्रममा पनि नेपाली पक्षले सेरम इन्स्टिच्युटसँग कुराकानी गरेको हो । तर यस किसिमको कुराकानीलाई निरन्तरता दिन आवश्यक छ । यसका साथै परराष्ट्रमार्फत भारत सरकारलाई पठाएको पत्रमा उसले खरिद गर्ने हरेक खोपमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको मात्रा पनि संलग्न गरेर खरिदमा सहजीकरण गर्न अनुरोध गर्दै आएको छ । परराष्ट्रले अन्य मुलुकलाई पनि खोप खरिदका लागि कूटनीतिक नोट पठाएको बताउँदै आएको छ । तर अहिलेसम्म पहिलो चरणमा उपलब्ध १० लाख डोजबाहेक अन्य परिणाममा खासै उपलब्धि भएको देखिँदैन ।  

पहिलो चरणको अभियानमा ४ लाख ३० हजारलाई खोप दिइने भएको छ जसमा स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शवबाहन चालकलगायत पर्नेछन् । बाँकी खोप वृद्धाश्रम र बालआश्रममा कार्यरत व्यक्तिहरूलाई लगाइने भएको छ । पहिलो चरणको खोप अभियानको १० दिनभित्रैमा खोपका अन्य मात्रा ल्याउने पनि सरकारी दाबी छ । दोस्रो चरणमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुरक्षाकर्मीलगायतलाई दिने सरकारको योजना छ । सरकारले त्यस्तो खोप कहाँबाट र कुन देशबाट ल्याउन लागेको हो भन्ने विषयमा चाहिँ प्रष्ट पारेको छैन । तर अहिले प्रयोगमा ल्याइएको कोभिसिल्ड खोप अनुसन्धानबाट प्रमाणित भएकाले सुरक्षित रहेको चिकित्सकहरूले नै बताउँदै आएका छन् । भारतमा १६ लाखभन्दा बढी जनसंख्याले लगाइसकेको र लगाएपछि कुनै गम्भीर असर नदेखिएकाले पनि खोप सुरक्षित रहेको चिकित्सकहरूको तर्क छ ।

नेपालमा पनि खोपको विषयमा अन्योल रहेको अवस्थामा चिकित्सकहरूले खोप सुरक्षित रहेको बताएका मात्र छैनन्, सुरुमा आफैँ लगाएर सर्वसाधारणलाई खोपको सुरक्षाप्रति निश्चिन्त हुन सन्देश दिइरहेका छन् । खोप अभियान शुभारम्भ गरेको दिन पहिलो खोप नै शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारीले लगाएर खोप सुरक्षित रहेको सन्देश दिएका हुन् । चिकित्सकहरूले नै यो खोप लगाएकाले कम्तीमा यसप्रति सर्वसाधारण आश्वस्त छन् । खोप अभियानको पहिलो दिन ९ हजार ८४ जनाले यो खोप लगाएकामा कसैमा पनि असर नदेखिएकाले पनि सर्वसाधारणमा निर्धक्क भएर खोप लगाउने वातावरण बन्दैछ । यो अवस्थामा सरकारले छिटोभन्दा छिटो कोरोनाविरुद्धको थप मात्रा खोप ल्याएर सबै नागरिकलाई निःशुल्क लगाउने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने कोभिडविरुद्धको विजयमा अहिले सुरु भएको आशाको आरम्भले सार्थकता पाउनेछ ।

प्रकाशित: १५ माघ २०७७ ०३:३२ बिहीबार

Download Nagarik App
Download Nagarik App