सम्पादकीय

बाइडेन विजयको अर्थ

अमेरिकामा राष्ट्रपति निर्वाचनमा विजयी हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेजभन्दा बढी मत पाइ जो बाइडेन ४६ औँ राष्ट्रपतिमा विजयी भएका छन्। बाइडेनको जीत र अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको हारलाई उदारवादी राजनीतिको विजयका रुपमा अथ्र्याइउको छ। सन् २०१६ को निर्वाचनमा उग्र राष्ट्रवादको नारा अघि सारेर निर्वाचन जितेका ट्रम्पले त्यसयता पनि आफनो अजेन्डालाई निरन्तरता दिँदै आएका हुन् जसले अमेरिकी समाजलाई तीव्र विभाजन र ध्रुवीकरणतर्फ लगेको छ। र, यसपटकको निर्वाचनमा पनि ट्रम्पले आफ्नो त्यही राष्ट्रवादी र अनुदारवादी कार्ड नै प्रयोग गरेका थिए भने बाइडेनले विभाजित र ध्रुवीकृत अमेरिकालाई आफूले जोड्ने भनी भाषण दिँदै आएका थिए। उपराष्ट्रपति पदका लागि एसियन–अमेरिकन कमला ह्यारिसलाई छनोट गरेर बाइडेनले सुरुवातमै त्यस्तो संकेत दिइसकेका थिए। त्यसो त अमेरिकामा आप्रवसान, अल्पसंख्यकको अजेन्डादेखि समावेशी लोकतन्त्रलगायतका विषयमा डेमोक्र्याटिक पार्टीले उदारवादी धारको प्रतिनिधित्व गर्छ भने रिपब्लिकन पार्टीले अनुदारवादी खेमाको। यो पृष्ठभूमिमा चुनावी सुरुवातदेखि नै बाइडेनले व्यावहारिक हिसावले समेत आफूलाई उदारवादी लोकतन्त्रको पक्षमा उभ्याएका थिए। त्यसैले पनि बाइडेनको अहिलेको जीतलाई उदारवादी राजनीतिको विजयका रूपमा लिइएको हो। 

यता, ट्रम्पको हारलाई भने प्रियतावादी राष्ट्रवादी राजनीतिको पराजयका रूपमा लिइएको छ। उनको उदय ‘अमेरिकालाई फेरि महान् बनाउने’ भन्ने त्यस्तै लोकरिझ्याइँ अजेन्डाका कारण भएको हो। अमेरिकामा ट्रम्पको उदयसँगै संसारभर लोकरिझ्याइँ (पपुलिज्म), अनुदार र उग्रराष्ट्रवादको लहर नै देखिएको हो। चाहे दक्षिण अमेरिकी मुलुकमा होस् वा युरोपमा वा एसियाली मुलुकहरूमा नै किन नहोस्, उग्र राष्ट्रवाद र दक्षिणपन्थी धारको उदय भएको देखिन्छ। यतिसम्म कि दक्षिण एसियाली मुलुकहरूमा समेत यसको प्रभाव देखिएकै हो। विश्व महाशक्तिका रूपमा परिचित अमेरिकाको राष्ट्रपति निर्वाचनले धेरथोर सबैतिर प्रभाव पार्ने भएकाले पनि विश्वको ध्यान त्यसतर्फ तानिने गर्छ। र, त्यहाँको निर्वाचन परिणामले अन्यत्रको राजनीतिमा समेत केही हदसम्म प्रभाव पार्छ जसले गर्दा पनि अमेरिकी चुनावी परिणामको सन्देशले महत्वपूर्ण अर्थ राख्छ। यसपटक रिपब्लिकन त्यसमाथि पनि ट्रम्प जस्ता अनुदारवादी नेताको पराजयले विश्वमा उदाउँदै गएको दक्षिणपन्थी राजनीतिमा केही हदसम्म धक्का लाग्ने विश्लेषण हुन थालेको छ।

अहिलेको निर्वाचनमा अनुदारवादी खेमाको प्रतिनिधित्व गर्ने ट्रम्पको मत घटेको रूपमा बुझ्न हुँदैन। त्यसैले पनि दि इकोनोमिस्टले भनेझैँ ‘ट्रम्पले निर्वाचन हारे पनि अमेरिकामा ट्रम्पिज्म लामो समयसम्मै रहन सक्छ।’

संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले पनि यसपटकको अमेरिकी निर्वाचनलाई प्रभावित गरेकै हो। त्यसो त यसपटक अमेरिकी राष्ट्रपति चुनावअघि कोरोना भाइरस नियन्त्रणका रणनीति, यसले अर्थतन्त्रमा पारेको प्रभावलगायतका विषय मुख्य अजेन्डाका रूपमा देखिएका थिए। कोरोना भाइरस महामारी नियन्त्रण गर्न ट्रम्प असफल भएका र जनस्वास्थ्यका मापदण्डहरूलाई बेवास्ता गरेको आरोप ट्रम्पलाई लाग्दै आएको छ भने उनले अर्थतन्त्र जोगाउन ‘रिस्क’ लिएको दावी गर्दै आएका थिए। जे भए पनि चीनबाट फैलिएको यो महामारीपछि अमेरिकामा चीन विरोधी मत बलियो बन्दै गएको थियो। त्यसैले पनि यसपटक ट्रम्पले चीनप्रति आक्रामक अभिव्यक्ति दिँदै अमेरिकी जनताको त्यस किसिमको भावनालाई आफूतिर आकर्षित गर्ने प्रयत्न गरेकै हुन्। तर, सधै एकै किसिमको राष्ट्रवादी रागले मात्रै काम गर्दैन भन्ने पक्षलाई यसपटकको अमेरिकी निर्वाचनले सही सावित गरिदिएको छ। त्यति मात्र होइन, चुनाव जित्न शक्ति र सत्ता होइन, जनताको भावना जित्न सक्नुपर्ने यथार्थलाई पनि प्रष्ट्याइदिएको छ। ट्रम्पसँग शक्ति र सत्ता भए पनि उनले ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिन सकेनन्।

त्यति हुँदाहुँदै पनि ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज ल्याउन नसकेका मात्र हुन्, पपुलर मत बाइडेनकै हाराहारीमा ल्याएका छन्।  अमेरिकाको प्रत्येक ५० राज्यबाट दुई जना दरले नियुक्त हुने सिनेटर र हाउसका लागि प्रत्येक राज्यमा जनसंख्याका आधारमा तोकिएको निर्वाचन क्षेत्रबाट चुनिने प्रतिनिधिको संख्या जोडेर ५ सय ३८ इलेक्टोरल कलेज निर्धारण गरिएको हुन्छ। त्यसमा जसले आवश्यक बहुमत (२७० मत) ल्याउँछ, त्यही राष्ट्रपतिमा विजयी हुन्छ। कुनै पनि राज्यमा जसले धेरै प्रत्यक्ष मत प्राप्त गर्छ,  त्यो राज्यको सबै इलेक्टोरल कलेज त्यही उम्मेदवारले पाउँछ भने कम मत ल्याएको उम्मेदवारले एउटा इलेक्टोरल कलेज पनि पाउँदैन। यस हिसावले इलेक्टोरल कलेजमा ट्रम्प धेरै पछि परे पनि लोकप्रिय मतमा भने बाइडेनकै हाराहारीमा छन्। अहिले पनि ट्रम्पले ७ करोड ३ लाख ९६ हजारभन्दा बढी मत ल्याएका छन् जबकि बाइडेनले पनि ७ करोड ४५ लाख ६६ हजार मत ल्याएका हुन्। यसमा केही संख्या अझै बढ्न सक्छ। त्यसो त अघिल्लो चुनावमा पनि ट्रम्पले ६ करोड २९ लाख ८४ हजारभन्दा बढी मत ल्याएका थिए भने हिलारी क्लिन्टनले त्यसभन्दा बढी ६ करोड ५८ लाख ५३ हजारभन्दा बढी मत ल्याउँदा पनि आवश्यक इलेक्टोरल कलेज ल्याउन नसक्दा निर्वाचनमा पराजित भएकी थिइन्। त्यसैले अहिलेको निर्वाचनमा अनुदारवादी खेमाको प्रतिनिधित्व गर्ने ट्रम्पको मत घटेको रूपमा बुझ्न हुँदैन। त्यसैले पनि दि इकोनोमिस्टले भनेझैँ ‘ट्रम्पले निर्वाचन हारे पनि अमेरिकामा ट्रम्पिज्म लामो समयसम्मै रहन सक्छ।’ त्यसैले राष्ट्रपतिमा निर्वाचित बाइडेनको मुख्य चुनौती भनेकै अमेरिकामा रहेको ट्रम्पिज्मलाई साँघु¥याउँदै विभाजित र ध्रुवीकृत अमेरिकी समाजलाई उदारवादी धारमा फर्काउनु हो। त्यससँगै विभिन्न शक्ति राष्ट्रसँग बढ्दै गएको दूरी कम गर्नेदेखि आन्तरिक अर्थतन्त्रलाई मजबुत गर्ने, कोरोना भाइरसका कारण देखिएको अहिलेको स्वास्थ्य संकटको सम्बोधन गर्नेदेखि ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने जस्ता चुनौती त यसै पनि चुनौतीका रूपमा रहेकै छन्। त्यसैले पनि राजनीति र परराष्ट्र मामिलामा अनुभवी रहेका बाइडेनप्रति यतिखेर संसारभरकै ध्यान आकृष्ट भएको छ।

प्रकाशित: २४ कार्तिक २०७७ ०६:०१ सोमबार

सम्पादकीय अमेरिकी राष्ट्रपति निर्वाचन बाइडेनको जीत