सम्पादकीय

विप्रेषणपछिको बाटो

कोरोना महामारीका कारण नेपालको वैदेशिक रोजगारीमा समस्या आउने र अर्थतन्त्रलाई धानेको रेमिट्यान्स (विप्रेषण) आय १५ प्रतिशतसम्म घट्न सक्ने भनी विज्ञले गरेको अनुमान अहिलेसम्म मिलेको छैन। गत वर्ष डिसेम्बर अन्तमा चीनको वुहानमा देखिएको कोरोना भाइरस नौ महिनामा विश्वभर फैलिएको छ। नेपाली युवा वैदेशिक रोजगारीमा जाने सबै गन्तव्य मुलुकमा यसले गम्भीर असर पार्ने र पारेको भन्दै विज्ञले रेमिट्यान्स आय १५ प्रतिशतसम्म कम हुने अनुमान गरेका थिए। लाखौँ नेपालीको वैदेशिक रोजगारी प्रभावित हुने अनुमान पनि थियो। वैदेशिक रोजगारीमा गएकामध्ये दश लाखभन्दा बढी फर्कने पनि बताइएको थियो। कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहे पनि देशमा न रेमिट्यान्स आय घटेको छ, न त सोचे जसरी नेपाली विदेशबाट फर्केकै छन्। दश लाख नेपाली फर्कने अनुमानमा अहिलेसम्म ५७ हजार हाराहारी मात्र आएका छन्। एक लाख ३६ हजारले फर्कन निवेदन दिएका छन्। सामान्य अवस्थाका बेला पनि चार–पाँच महिनामा ४५ हजारभन्दा बढी नेपाली स्वदेश फर्कने गरेका थिए।

पछिल्ला वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रतिमहिना ७०÷८० अर्ब रुपैयाँका दरले रेमिट्यान्स आइरहेको देखिन्छ। कोरोना महामारीका बेला पनि रेमिट्यान्स विगतको भन्दा खासै घटेको छैन। बरु उल्टै केही महिना बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। गत वर्ष करिब पाँच महिना कोरोनाको प्रभाव परे पनि आठ खर्ब ७५ अर्ब तीन करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यो चार अर्ब २४ करोडले मात्र कम हो। गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै सबैभन्दा बढी एक खर्ब एक अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालू आवको पहिलो महिना साउनमा पनि ९२ अर्ब ७१ करोड रेमिट्यान्स आएको छ। अघिल्लो साउनसँग तुलना गर्दा यो वर्षको २३ प्रतिशतले धेरै हो।

कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेका छन्। केहीको रोजगारी पनि गुमेको छ तर रेमिट्यान्स आय घटेको छैन। राष्ट्र बैंक यसमा तीन–चार कारण रहेको मान्छ। नेपालीले काम गर्ने स्रोत मुलुकमा कोरोना प्रभाव घट्दै जानु, बैंकिङ च्यालनबाट आउन थाल्नु, विदेशबाट घर फर्कनेले जम्मा गरेको बचत एकैचोटि ल्याउनु र चैत–वैशाखमा आउन नसकेको रेमिट्यान्स अहिले आउनुले रेमिट्यान्स बढेको अनुमान राष्ट्र बैंकको छ।

विश्व श्रम बजारमा सधैँ कामको अवसर पाइँदैन भन्ने धेरै मुलुकले बुझेका छन्। हाम्रोमा भने समस्या नआउँदासम्म नतात्ने प्रवृत्ति छ। त्यसैले रेमिट्यान्सको विकल्प खोज्न अब ढिला गर्नु हुँदैन। अहिल्यै विकल्प खोज्न नथाल्ने हो भने यो मुलुकका लागि घातक हुनेछ।

रेमिट्यान्स आय नघटेका कारण मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रलाई मजबुत बनाउन सहयोग पुगेको छ। मुलुकको शोधनान्तर अवस्था, चालू खाता र विदेशी विनिमय सञ्चिति बढाउन रेमिट्यान्सले भूमिका खेलेको छ। साउनसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ। यो तथ्यांकले सरकारसँग विदेशी मुद्रा पर्याप्त मात्रामा रहेको देखाएको छ। आयातीत सामानको भुक्तानी दिन सरकारलाई कुनै समस्या छैन। तर, आगामी दिनमा यो सुविधा सधैँ रहने संकेत देखिँदैन। कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा संकुचन आएको छ। करोडौँको संख्यामा रोजगारी अवसर गुमेको अवस्था छ। यसमा केही नेपाली युवाको पनि रोजगारी गुम्ने निश्चित छ।

अर्कोतिर यही बेला विदेश जानेभन्दा फर्कनेको संख्या धेरै भइरहेको छ। सरकारले गत २७ फागुनयता वैदेशिक रोजगारीमा जान रोक लगाएकोे थियो। दुई महिनाअघि यसलाई खोले पनि अहिलेसम्म करिब चार हजार जना मात्र रोजगारीमा गएका छन्। स्वदेशबाट फर्कनेभन्दा जाने कम हुन थाले भविष्यमा रेमिट्यान्स आयमा स्वभावैले धक्का लाग्नेछ। रेमिट्यान्स घटे मुलुकको अर्थतन्त्रमा बहुआयामिक समस्या देखा पर्नेछन्।  

वर्षौंदेखि आइरहेको रेमिट्यान्सले नेपालीको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको छ। अहिले नेपालको गरिबीको रेखामुनि दर १८ प्रतिशतमा झरेको छ। सर्वसाधारणको खर्च गर्ने क्षमता बढेको छ भने बचतको प्रतिशत पनि बढेको छ। वैदेशिक रोजगारीमा जाने युवाले पठाएको रेमिट्यान्स मुलुकको ५६ प्रतिशत घरधुरीमा प्रत्यक्ष रूपमा पुगेको सरकारी तथ्यांक छ। अबका केही वर्ष भने यो सुविधा हुने छैन। अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएसँगै ठूलो संख्यामा नेपाली फर्कंदै छन्। यसले एकातिर रेमिट्यान्स आय घट्ने छ भने अर्कोतर्फ स्वदेश फर्कनेलाई रोजगारमा लगाउने समस्या हुनेछ। सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई कृषि, पूर्वाधार निर्माण, निजीक्षेत्र लगायतमा रोजगारी दिने भनेको छ। तर, त्यो बजेटमा मात्र छ। यसको केही तयारी छैन। बजेटमा आकर्षक कार्यक्रम घोषणा गर्ने कार्यान्वयन नगर्ने सरकारको पुरानै प्रवृत्ति हो।

मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा महत्वपूर्ण छ। अन्य मुलुकमा पनि रेमिट्यान्स आय राम्रो छ। तर, ती सबै मुलुकले रेमिट्यान्सको विकल्प तयार गरिरहेका छन्। विश्व श्रम बजारमा सधैँ कामको अवसर पाइँदैन भन्ने धेरै मुलुकले बुझेका छन्। हाम्रोमा भने समस्या नआउँदासम्म नतात्ने प्रवृत्ति छ। त्यसैले रेमिट्यान्सको विकल्प खोज्न अब ढिला गर्नु हुँदैन। अहिल्यै विकल्प खोज्न नथाल्ने हो भने यो मुलुकका लागि घातक हुनेछ।

प्रकाशित: ११ आश्विन २०७७ ०५:०६ आइतबार

विप्रेषणप सम्पादकीय