सम्पादकीय

महामारीमा जिउ जोगाउनू

यो बेला कोरोना विषाणु संक्रमण उत्कर्षमा पुगेको छ । जतिबेला यसको संक्रमण कम थियो, हामी पूर्ण बन्दाबन्दीमा थियौँ । अहिले उत्कर्षमा पुगेको छ, यो बेला सबैतिर खुल्न थालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत सुरु भइसकेका छन् । विगत छ महिना पटक–पटक गरी बन्दाबन्दीमा रहे पनि यसको संक्रमण रोकिएन । कोरोना संक्रमण भन्दा भोकले मर्ने स्थिति देखिएपछि यो बन्दाबन्दीलाई सामान्यकालतर्फ उन्मुख गराउनुपर्ने बाध्यतामा सरकार पनि पुगेको हो । कोरोना विषाणु लामो समय हामीबीच रहने निश्चित भएपछि यसबाट जोगिँदै दैनिक कार्यव्यवहारमा लाग्नुको विकल्प रहेन ।  

बन्दाबन्दी खुले पनि कोरोना विषाणु हामीबीच रहिरहेको यो समयलाई ‘न्यु नर्मल’ का रूपमा स्वीकार गरिएको छ । यसका निम्ति आवश्यक सावधानी अपनाएर मात्र दैनिक कार्य व्यवहारमा लाग्नुपर्ने हुन्छ । धुवाँधुलोका कारण हाम्रा निम्ति मास्क प्रयोग नयाँ नभए पनि स्यानिटाइजरको प्रयोग नौलो थियो । आज स्यानिटाइजरलाई हाम्रो दैनिक जीवनको अत्यावश्यक वस्तुका रूपमा ग्रहण गरिएको छ । साबुन–पानीले हात धुने अभ्यासको महत्व कति धेरै छ भन्ने पनि हामीले बुझेका छौँ । व्यक्ति–व्यक्तिबीच कायम गर्नुपर्ने भौतिक दूरीको अभ्यासलाई पनि हामीले महत्वका साथ लिइरहेका छौँ । यो बेलामा केही पक्ष अझै खुलिसकेका छैनन् । सिनेमाहल, मठमन्दिर अझै खुलेका छैनन् । मानिसलाई अझै भीडभाड नगर्न भनिएको छ । जसलाई अत्यावश्यक भएर काममा जानुपर्नेछ, तिनले पनि ‘न्यु नर्मल’ का सावधानी अपनाउनुपर्ने अवस्था छ ।  

होटल, रिसोर्ट आदि खुल्न थालेका उत्साहका खबर पनि सार्वजनिक भइरहेका छन् । पर्यटन व्यवसाय ध्वस्त भएको छ । यसैमा निर्भर हुने ठूलो जनसंख्याको अवस्था यतिबेला निकै कठिन भएको छ । बिस्तारै व्यवसाय खुल्न थालेपछि जीवन सामान्य अवस्थातिर जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

यो बेलामा सोमबारदेखि विमानस्थलमा नयाँ गतिविधि सुरु भएको छ । कोरोना कालमा बन्दाबन्दी हुँदा चार्टर्ड उडान भए पनि नियमित उडान हुन सकेका थिएनन् । नियमित उडान हुन थालेपछि स्वाभाविकरूपमा आवतजावतका गतिविधि बढ्ने छन् । तर यसरी हुने उडानमा न्युनतम स्वास्थ्य उपाय अपनाइन्छ÷अपनाइँदैन ? राजधानी काठमाडौँ यतिबेला कोरोना विषाणुको केन्द्र बन्न पुगेको छ । कुनैबेला देशका अन्य जिल्लामा यो अवस्था रहेको हो । राजधानी काठमाडौँ तुलनात्मकरूपमा सुरक्षित थियो । अब राजधानी काठमाडौँबाट संक्रमण देशका विभिन्न भागमा दैनिक उडानमार्फत् प्रसार हुने देखिन्छ । त्यति मात्रै होइन, राजधानी आउनेहरूबाट पनि यो थप हुने निश्चित छ । यस्तो अवस्थामा कोरोनाको प्रसार कसरी कम हुन्छ भन्नेतर्फ कति ध्यान दिइएको छ ? वास्तवमा त्यसतर्फ ध्यान दिइएको देखिएको छैन ।  

होटल, रिसोर्ट आदि खुल्न थालेका उत्साहका खबर पनि सार्वजनिक भइरहेका छन् । पर्यटन व्यवसाय ध्वस्त भएको छ । यसैमा निर्भर हुने ठूलो जनसंख्याको अवस्था यतिबेला निकै कठिन भएको छ । बिस्तारै व्यवसाय खुल्न थालेपछि जीवन सामान्य अवस्थातिर जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ । हामी सबैमा कोरोनासँगै बाँच्न सिक्नुपर्छ भन्ने भइसके पनि यो खुला अवस्थालाई कसरी संक्रमणको प्रसार कम गर्ने भन्नेतिर भने ध्यान पुग्न नसकेको देखिएको छ । अझै हामी अत्यावश्यकबाहेक सडकमा निस्कनु उचित छैन । हामी जति धेरै कम भीडमा जान रोकिन्छौँ, त्यति नै यसबाट सुरक्षित हुने छौँ । कतिपयले कोरोना भाइरस संक्रमणलाई अति सामान्यरूपमा लिने र कतिपयले भने यसलाई अत्यन्तै भयाबह बनाउने दुवैथरी प्रवृत्ति खतरा देखिन्छ । तर यसलाई ठीक ढंगले बुझ्ने र सन्तुलित व्यवहार गर्ने अवस्था अहिलेका निम्ति आवश्यक छ । दैनिक रोजीरोटीका निम्ति हामीले संघर्ष नगरी भएको छैन । त्यसका निम्ति न्यूनतम सुरक्षा उपाय पालना गर्नैपर्छ । अन्यथा, कोरोना संक्रमण भइसकेपछि उपचार र त्यसका निम्ति एकान्तमा बस्नुपर्ने अवस्थाले हामीलाई थप पिरलो हुन्छ । त्यसैले सकेसम्म यसको संक्रमण कम गर्नेतर्फ हाम्रो ध्यान जानुपर्छ । वास्तवमा संक्रमणको गति रोकियो भने यसलाई नियन्त्रण गर्न सकिन्छ । कुनै व्यक्तिमा भएको संक्रमण त्यतिमै सीमित भयो भने अरू जनसंख्या जोगिन्छ । अरूलाई कसरी जोगाउन सकिन्छ भन्ने जिम्मेवार गतिविधि हामी सबैको भयो भने कोरोना विषाणु संक्रमण सहजै रोकिने निश्चित छ ।

कोरोना विषाणुविरुद्धको खोप विकास भइरहेका समाचार हामीले पढिरहेका छौँ तर त्यो खोप नआउञ्जेल मास्कलाई नै ‘कच्चा खोप’ का रूपमा ग्रहण गर्नुपर्ने राय विशेषज्ञहरूबाट आइरहेको छ । यो स्थितिमा हामीले हाम्रो ‘न्यु नर्मल’ को अभ्यासलाई बढ्ता परिपक्व बनाउनुपर्ने आवश्यकता छ । अब सरकारका तर्फबाट नागरिकलाई कतै जान छेकबार छैन । यसको अर्थ तपाईँ आफैँ जिम्मेवार हुनुहोस् भनिएको हो । आफैँ जिम्मेवार हुने मात्र होइन, उपचार पनि आफैँ गर्नुपर्नेतर्फ सरकारले आग्रह गरिरहेको छ । सरकारले उपचार गराउन नसक्ने हकमा आफैँले गर्दा हुने हाम्रो शारीरिक र सम्पत्तिको क्षतितर्फ पनि ध्यान पुग्न सक्नुपर्छ । हाम्रा पुर्खाले भनेकै छन्– हुलचालमा जिउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू ।  

वास्तवमा यो महामारीमा हामी आफैँले आफूलाई जोगाउनुको विकल्प छैन ।

प्रकाशित: ६ आश्विन २०७७ ०६:०६ मंगलबार

सम्पादकीय कोराना महामारी