सम्पादकीय

अग्रपंक्तिका योद्धाप्रति

कोभिड–१९ रोकथाम एवं उपचारका लागि अहिले डाक्टर, नर्स, सुरक्षाकर्मी, स्थानीय जनप्रतिधिलगायतका व्यक्ति जे÷जसरी अग्रपंक्तिमा खटिरहेका छन्, त्यो तारिफयोग्य छ । तर सरकार, रोजगारदातादेखि स्थानीय समुदायसम्मले उनीहरूप्रति गरेको व्यवहारचाहिँ उल्टै हतोत्साहित बनाउने किसिमको छ । उदाहरणका लागि नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा काम गर्ने डाक्टर–नर्स बसेको होस्टेल घेराउ गरी स्थानीय टोलवासीले जुन किसिमको दुव्र्यवहार गरे, त्यो निन्दनीय छ । आफूहरू घरमा आउजाउ गर्दा संक्रमण फैलन सक्ने डरले अस्पतालका केही डाक्टर, नर्स र कर्मचारी भदौ ४ गतेदेखि काठमाडौँ महानगरपालिका–३१ स्थित बानेश्वरको मिलनचोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्दै आएका थिए । तर उनीहरूलाई स्थानीयले घेराउ गरी तथानाम गाली गरेको घटनाले महामारीविरुद्ध अग्रपंक्तिमा खटिने योद्धालाई स्थानीय समुदायले कुन हदसम्म हतोत्साही र अपमान गरेको छ भन्ने कुरा देखाएको छ । यस किसिमको अपमान र दुव्र्यवहारमा संलग्न जोकोही किन नहोउन्, सरकारले कारबाहीको दायरामा ल्याएर अग्रपंक्तिमा खटिएका यी योद्धाको मनोबल उच्च बनाउन जरुरी छ ।  

स्वास्थ्यकर्मीप्रति गरिएका यस्ता दुव्र्यवहारका अनेकौँ दृष्टान्त छन् । चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले बिरामीको उपचारका क्रममा जब आफैँ संक्रमित भए, त्यसपछि छिमेकीहरूले उनीप्रति गरेका व्यवहार उत्तिकै आलोच्य छ । छिमेकी÷स्थानीय समुदायले यस्तो बेला हौसला दिएर उच्च मनोबल बनाउन सहयोग गर्नुको साटो कोरोना संक्रमितको घर भन्ने फ्लेक्स ब्यानर झुण्ड्याउन आएका घटना आधुनिक सभ्य समाजका लागि लज्जाको विषय हो । त्यसैले उनले सामाजिक सञ्जालमा नै लेखे– ‘यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति, तपाईँको छिमेकी यस्ता नपरुन् । सामाजिक बहिष्कारको पीडा अरूलाई नपरोस्, आत्मबल कमजोर भएका तिमीहरूका हर्कतबाट नमरुन् ।’ त्यसो त विगतमा पनि डेरामा बस्दै आएका स्वास्थ्यकर्मीलाई घर धनीले बस्न नदिएको र दुव्र्यवहार गरेका धेरै घटना सार्वजनिक भइसकेका छन् । मुख्य कुरा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्म सबैमा व्यक्ति र स्थानीय समुदायले जुन किसिमको हर्कत गरिरहेका छन्, त्यस्तो कार्य अविलम्ब बन्द हुनुपर्छ ।  

त्यसो त गृह मन्त्रालयले संक्रमित व्यक्ति वा अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई वरपरको समाजले हेप्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य गरे नजिकको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध गर्दै यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लालाई परिपत्र गर्दै कसैले दुव्र्यवहार गरे कारबाही गर्न निर्देशन दिएको पनि जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पनि स्वास्थ्यकर्मीहरूमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । यसरी अग्रपंक्तिमा काम गर्ने योद्धाहरू सामाजिक बहिष्करणमा परेका छन् भने अर्काेतिर आफँै संक्रमणको उच्च जोखिममा छन् । चिकित्सक, नर्स, ल्याब टेक्निसियन, पारामेडिक्सदेखि अस्पतालका कर्मचारी गरी ४ सय ५४ जना संक्रमित भइसकेका तथ्यले पनि यही जोखिमको अवस्था देखाएको छ । कतिपय अवस्थामा आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) को अभावका कारण पनि स्वास्थ्यकर्मी संक्रमित हुने गरेका छन् । विगतमा सरकारले स्वास्थ्यकर्मीहरूलाई पिपिइ नै दिन नसकेको कुरा पनि सार्वजनिक भएकै विषय हो ।  

त्यतिमात्र होइन, अस्पतालको वातावरणबाट पनि कतिपयमा संक्रमणको जोखिम बढ्ने गरेको छ । जस्तो कि बिरामीको सेवामा २४ सै घण्टा खट्नुपर्ने नर्सहरूमा साना तथा भेन्टिलेसन नभएका ‘चेन्जिङ’ रुममा हुने भीडभाडदेखि अस्पतालले छुट्याएका साना कोठामा बसेर खाना तथा खाजा खानुपर्ने बाध्यताले संक्रमणको जोखिम बढाएको छ । त्यसैले काम गर्ने वातावरणको पक्षमा पनि अस्पतालदेखि सम्बन्धित निकायहरूले उत्तिकै ध्यान दिन जरुरी छ । त्यसो त यसरी जोखिम मोलेर खटिने व्यक्तिहरूलाई सरकारले अतिरिक्त भत्ता दिने भने पनि कतिपयले त्यस्तो सुविधा नपाएको गुनासो पनि उत्तिकै छ । अझ निजी अस्पतालहरूमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरूका सवालमा नोकरी गुमेको, आधा तलबमा काम गर्नुपर्ने बाध्यता आएको, रोजगारदाताले जबर्जस्ती बिदामा बस्न लगाएको जस्ता समस्या देखिएका छन् । र, नेपाल नर्सिड संघमा यस्ता गुनासाको संख्या दिनहुँ बढ्दै गएको छ । स्टाफ नर्सलाई सरकारी हिसाबले राजपत्र अनंकित पाँचौँ तह मानिएकाले कम्तीमा २८ हजार २०६ रुपियाँ तलब दिनुपर्छ । तर निजी अस्पतालले उनीहरूलाई त्यसको आधा मात्र तलब दिने गरेका छन् । एकातिर तलब कम छ भने अर्काेतिर कामको चापचाहिँ अत्यधिक छ । डब्लुएचओले जनरल वार्डमा एक नर्सले ५÷६ जना बिरामी हेर्न सक्ने बताए पनि नेपालका अधिकांश निजी तथा सरकारी अस्पतालमा एक नर्सले २५ भन्दा बढी बिरामी हेर्दै आएका र कतिपय अस्पतालमा त यो संख्या ४० सम्म पुग्ने स्वयं सरकारी अधिकारी नै बताउँछन् । सरकारी निर्देशिकामा उल्लेख भएका प्रावधान कार्यान्वयन लैजाने हो भने अहिलेको तुलनामा ३ गुना बढी नर्स चाहिन्छ । त्यसैले अहिलेको परिस्थितिमा महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका चाहे स्वास्थ्यकर्मी हुन् वा सुरक्षाकर्मी वा सरसफाइकर्मी सबैको पेसागत सुरक्षा, व्यक्तिगत सुरक्षादेखि प्रोत्साहन भत्तासम्म सुनिश्चित गर्नुपर्छ । मुख्य कुरा सरकारदेखि समुदायसम्म सबैले उनीहरूको मनोबल उच्च राख्ने प्रयास गरेमात्रै महामारीविरुद्धको युद्धमा जीत हासिल गर्न सकिन्छ । त्यसैले यस्ता अग्रपंक्तिमा खटिएका व्यक्तिहरूलाई जोकोही पक्षले हतोत्साही होइन, उत्साहित बनाउने काम गरौँ

प्रकाशित: ९ भाद्र २०७७ ०४:५० मंगलबार

सम्पादकीय अग्रपंक्तिका योद्धा कोभिड–१९