सम्पादकीय

हामी गोटी क्यारमबोर्डका

हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने।

कवि भूपि शेरचनले लेखेका ‘हामी’ कविताका यी पंक्ति ६० वर्षसम्म उस्तै छन्। २०१७ सालमा ‘रूपरेखा’मा छापिएको यो कवितामा वर्णन गरेको समय फेरिएको छैन। अहिले पनि हाम्रो राजनीतिक नेतृत्व आफैँं मिल्न सक्दैन। आफैँं छुट्टिन पनि सक्दैन। तिनलाई कसैले मिलाइदिनुपर्छ। कसैले छुट्याइदिनुपर्छ।  

समकालीन राजनीतिक परिदृश्यमा केही घटना र पात्र यसरी नै अघि बढिरहेका छन्। हिजो पात्रहरू भिन्न थिए। आज भिन्न पात्र राजनीतिक रंगमञ्चमा देखिन्छन्। तिनका प्रवृत्ति यथावत छन्। यही प्रवृत्तिका कारण मुलुकले जति ठूला परिवर्तन देखे पनि आमजीवनमा तात्विक अन्तर आएको छैन। उही झगडा, उही कोलाहल, उही वितृष्णाको शृंखलातर्फ मुलुक अघि बढेको छ।  

प्रत्येकपटक यहाँको राजनीति यहीँका पात्रले चलाऊन् भन्ने अपेक्षा हुन्छ। यो आवाज मुखरित हुन्छ। यहीँका पात्रलाई शक्ति प्राप्त हुन्छ तर तिनले आर्जन गरेको शक्तिले काम गर्न सक्दैन। फेरि नयाँ पात्रको खोजी हुन्छ। ती पात्रमा उही प्रवृत्तिको पुनरावृत्ति हुन्छ। कुनै बेला यहाँका राजनीतिक पात्रलाई हुल बाँधेर युरोपेली राजदूतहरूले आफ्नो अजेन्डामा सहमत गराउन कोसिस गर्थे। तिनले दिएका प्रेस्क्रिप्सन लिएर समाधानका औषधि पसलमा बिरामी पात्रहरू दौडिरहेका हुन्थे।  

जनआन्दोलन २०६२/०६३ का बेला युरोपेली राजदूतावासका प्रतिनिधिहरू महाराजगन्जमा तत्कालीन आन्दोनलका केन्द्र गिरिजाप्रसाद कोइराला निवासमा गएका दृश्यलाई कसैले मन पराएको थिएन। आन्दोलनको राप र तापले नेताहरू आफैंँ निर्णय गर्न सक्ने स्थितिमा पुगेको बताइरहेका थिए। बिस्तारै ती दृश्य फेरिए। त्यसपछि पनि संविधानका मुद्दामा एकपछि अर्को गर्दै यस्तै दबाब भइरहे। कहिले आफ्ना अजेन्डा संविधानमा राख्न पनि तिनले भूमिका खेलिरहे।  

छिमेकी भारतले यहाँका मुद्दामा ‘माइक्रो मेनेजमेन्ट’ गर्दै आएकामा त्यत्तिकै विरोध हुन्थ्यो। राजदूत नेताका बैठक कक्षमा पुग्नु स्वाभाविक हुन्थ्यो। तैपनि यस्तो नहोस् भन्ने आग्रह हुन्थ्यो। यहीँको बुद्धि र विवेकले लागेका निर्णय गरियोस् भन्ने आग्रह हुन्थ्यो। पछिल्लो समय यो प्रवृत्तिमा कमी आएको देखिएको हो। यहाँको अजेन्डा यही व्यवस्थापन होस् भन्ने कामना गर्नु स्वाभाविक हो।  

यी मामिलामा सबैले प्रशंसा गर्ने मुलुक चीन रहेको हो। उसको ‘शान्त कूटनीति’ले आमनेपालीको मन जितेको हो। अन्य देशले यहाँका मुद्दामा आफ्नो प्रभाव पारेको देखेर कसैलाई चित्त बुझ्दैनथ्यो। तर केही समययता चिनियाँ राजदूतको सक्रियता विगतमा अन्यको जस्तै देखिन थालेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको निर्माणदेखि अहिलेसम्म यसमा देखिएका समस्या समाधानका निम्ति ‘सहजीकरण’ गर्ने काम हुन थालेको छ। नेकपाको आन्तरिक शक्ति संघर्षमा चिनियाँ राजदूत होउ याङ्छीको सक्रियतालाई पनि स्वाभाविक मान्न सकिँदैन। नेताहरूलाई मिल्नका निम्ति गरिएको यो प्रयास असल उद्देश्यको भए पनि सहज होइन।  

कुनै एउटा दलभित्रको विवादमा समेत अन्य देशले भूमिका खेलिदिनुपर्ने अवस्थाले हाम्रो आफ्नो अक्षमताको ढाकछोप गर्न सक्दैन। मिलाउनका निम्ति यस्तो प्रयास गरिनु उचित भएको भनेर पक्षपोषण गर्न सकिँदैन। हामी आफैँं मिल्न वा नमिल्नका निम्ति अग्रसर हुन सक्नुपर्छ। अरू कसैले मिलाउने वा नमिलाउने हुनुहुँदैन। स्वाभाविक हो– सबै देशका राजदूतावास यहाँ आफ्नै स्वार्थ रक्षाका निम्ति आएका छन्। तैपनि तिनले हाम्रा आन्तरिक समस्यामा समेत ‘सहजीकरण’ गरिदिनुपर्ने अवस्थालाई ठीक भन्न सकिँदैन।  

यस्तो काम भारत, अमेरिका, युरोप आदिले गर्नु पनि बेठीक हो। यही काम अहिले चीनबाट भइरहेकामा त्यो पनि बेठीक हो। हाम्रा आन्तरिक गतिविधिमा समेत कुनै खास मुलुकले भूमिका खेल्ने अवस्था आउनुलाई स्वाभाविक मान्न सकिँदैन। खासगरी विदेशीसँगको भेटघाटमा हामी आफैँंले केही नियम बनाएका छौँं। यस्ता भेटघाटमा परराष्ट्र मन्त्रालयलाई सरिक गराउनुपर्ने हो। हाम्रो देशका नेताहरूले कस्तो विषयमा विदेशीसँग परामर्श गर्छन् ? त्यसले समग्रमा मुलुकलाई कसरी फाइदा पुग्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक हुन्छ।  

चिनियाँ राजदूत याङ्छीले पछिल्लो चरणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतलाई भेटेकी छन्। उनको यो सक्रियता सत्तारुढ नेकपाभित्रका समस्या समाधान निम्ति हो भन्ने प्रस्ट भइसकेको छ। नेकपा मिलेर अघि बढ्दा सबैलाई राम्रो लाग्छ। यही कुरा कुनै एउटा देशको राजदूतले सम्झाइदिनुपर्ने अवस्था आउनु स्वाभाविक होइन।  

हामी अझै स्वतन्त्र निर्णय गर्न सक्षम नरहेको यसले देखाउँछ। यहाँको ससानो विषयको व्यवस्थापनसमेत अन्यत्रबाटै गरिदिनुपर्ने अवस्थामा आमनागरिकले सुधार खोजेको हो। हामी भने भूपिको उही ६० वर्ष पुरानो ‘हामी’ कविताकै पंक्तिमा चित्रित पात्र भएका छौंँ। कवितामा अगाडि लेखिएको छ–  

हामी रङ–रोगन छुटेका
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँं
एउटा मनोरञ्जक खेलका सामग्री्एर
उटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौँं।

प्रकाशित: २५ असार २०७७ ०५:५१ बिहीबार

सम्पादकीय भूपि शेरचन समकालीन राजनीतिक