सम्पादकीय

असारे अनियमितता

विकासका काम असारमै आएर गर्नुभन्दा यसलाई नियमित प्रक्रियाका रूपमा अंगीकार गरियोस् भन्ने आम अपेक्षा छ। तर, देशमा विकासका नामको अनियमितता रोकिन सकेको छैन। सधैँ असारेझरी सुरु भएपछि सहरी क्षेत्रमा हतारहतार माटो हाल्ने, पिच गर्ने, खन्ने आदि गरिन्छ। वर्ष दिनसम्म नगरेको कामलाई किन असारकै झरीमा आएर हतार गरियो ? झरीमा गरेको अधिकांश विकासका कार्य दिगो हुने पनि होइन !  

यो हतारोको पछाडि अनियमित ढंगले बजेट सिध्याउने उद्देश्य मात्रै लुकेको पाइन्छ। एकातिर, असारे विकासको आतंकले स्थानीयवासी दिक्क हुन्छन्। अर्कोतिर, यहीबेला अनाहकमा स्रोतको दोहन हुन्छ। अहिले राजधानी काठमाडौंका केही सडक भकाभक खनेको देख्दा जोसुकैका मनमा तिल–जौ पाक्छन्। यस्तो किन गरिएको होला भन्ने लाग्छ। आखिर विकासको काम कोरोना विषाणुका निम्ति बन्दाबन्दीका बेला पनि गर्न दिइएकै थियो। त्यही बेला राजधानी काठमाडौंका सडक निकै राम्रा बनाइएका पनि हुन्। यसरी सडक बनाएको केही दिनमै फेरि तिनलाई भत्काएको देख्दा भने स्रोतको दुरुपयोग ठान्न सकिन्छ। आखिर यति चाँडै भत्काउनु थियो भने बनाउनु नै किन ?

राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जम्मुडाँडा नजिकैको सडक यतिबेला धमाधम डोजरले खनिएको छ। त्यो सडक ढलान गरिएको धेरै भएको छैन। सडक प्रयोगकर्तालाई यसको ढलान गरिएको समय थाहा छ। त्यो सडकलाई राम्ररी योजना गरेर मात्र ढलान गरेको भए अहिले फेरि अर्को बजेट सक्ने गरी त्यसलाई भत्काउनुपर्ने थिएन। भत्काउँदै, बनाउँदै गर्दा हुने स्रोत दुरुपयोगको सीमा छैन। यही स्थिति अन्य स्थानमा समेत देखिन्छ। बागमती करिडोरमा त्यसैगरी अहिले माटो हालिएको छ। समयमै त्यहाँ माटो हालेको भए त्यो सडक बलियो भइसक्थ्यो। अहिले झरीका कारण हिलाम्य भएको छ। भेलसँगै अधिकांश माटो बगिरहेको पनि छ। यसरी स्रोतको दुरुपयोग गर्नुभन्दा योजनाबद्ध ढंगले काम किन गरिँदैन ?

काठमाडौंमा खोला, खहरे आदि मिचेर बसाइएको बस्तीतिर अझ समस्या देखिन्छ। यस्तो बेतिथि राजधानी काठमाडौंसँगै देशैभरि छ। अहिले गाउँगाउँमा केन्द्रीय सिंहदरबार पुगेको छ। जसले केन्द्रका गलत अभ्यास तलैसम्म पु¥याएको जस्तो देखिएको छ। प्रदेश र स्थानीय सरकारले समेत आफ्नो कामलाई व्यवस्थित बनाउन सकेका छैनन्। असारे विकासको अनुचित प्रयोग फेरि पनि भइरहेको छ। स्थानीय स्तरमा असारे विकास सर्वसाधारणको आँखा छल्ने माध्यम भइरहेको छ। सरकारी कर्मचारी, राजनीतिक नेतृत्व र ठेकेदारको मिलेमतोमा आँखामा हिलोले टाल्ने काम भइरहेको छ भने पनि हुन्छ। 

सधैँ असारको झरी सुरु भएपछि सहरी क्षेत्रमा हतारहतार माटो हाल्ने, पिच गर्ने, खन्ने आदि गरिन्छ। वर्ष दिनसम्म नगरेको कामलाई किन असारकै झरीमा आएर हतार गरियो ? झरीमा गरेको अधिकांश विकासका कार्य दिगो हुने पनि होइन ! 

यतिबेला प्रदेश–२ अन्तर्गतका विभिन्न जिल्लामा समेत यही अभ्यास भइरहेको छ। यो स्थिति अन्य प्रदेशमा समेत दोहोरिएको छ। कोही पनि यो अभ्यास ठीक होइन भनेर सच्याउन तयार देखिँदैन। मुलुकको समग्र परिस्थिति नै यस्तै बनाइएको छ। पोहोर मात्र निर्माण गरिएका कतिपय जिल्लाका सडक अहिले पानीले बगाइसकेको भेटिन्छ। झरीमा र हतारहतार गरिएकाले कतिपय सडकका खाल्टा टालेको एक वर्षमै उप्केका छन्। एक वर्ष पनि नटिक्ने काम कसरी भइरहेको छ ? त्यसलाई अनुगमन गरेर अनियमितता गर्नेमाथि कारबाही गर्न किन सकिएको छैन ?

अर्कोतिर, बर्सेनि सबैतिर बजेट कनिकासरि छरिन्छ। अर्को वर्ष त्यसमा भएको प्रगति हेरेको, अनुगमन गरेको पाइँदैन। बरु पुनः बजेट छरिन्छ। अधिकांश काम उही वर्षात्कै बेला गरिन्छ। भेलपानीले विकास निर्माणलाई असर गर्छ भन्ने हेक्का किन नराखिएको होला ? मनसुन कुन बेला आउँछ भन्ने जानकारी सबैलाई छ। गत वर्ष यही अवस्था भोगिसकेपछि अहिले यस्तो नहोस् भन्नेमा ध्यान पु¥याउन नसकिने होइन। संघीय सरकारको बजेट जेठ १५ गते आउने संविधानमै लेखिएको छ। असार लागेपछि स्थानीय निकायको बजेट पनि तयार हुन्छ। यसलाई व्यस्थित गर्ने हो भने पानी नपर्ने मौसममा काम हुन सक्छ। विगतमा बजेट पारित हुँदा र त्यसका निम्ति अख्तियारी दिने समय ढिला भएका कारण विकास निर्माणका काममा समस्या भएको भनिन्थ्यो। वास्तवमा हामीकहाँ संरचनागत सुधार गरे पनि काम हुन सकेन। संविधानमै बजेट आउने समय निश्चित भएपछि नयाँ आर्थिक वर्ष साउन १ गते सुरु हुनासाथ काम गर्न नसकिने होइन। तर, ढिलासुस्ती उस्तै छ।  

देशैभरि प्रत्येक वर्ष असारमै भइरहेको यस्तो विकासको चौतर्फी विरोध भए पनि सुधार हुन सकेको छैन। यो वर्ष कोरोना महामारीका कारण स्रोत–साधनको अभाव छ। स्वास्थ्य क्षेत्रका निम्ति ठूलो रकम आवश्यक छ। फेरि पनि हाम्रो कामको ढर्रा उस्तै छ। सबै तहका सरकारले यो परिस्थितिलाई मनन गर्दै सुधार गर्नतिर लाग्नुपर्छ। यो वर्ष भइरहेको असारे विकास रोक्न वा यसमा भइरहेको खर्चको यथोचित मूल्यांकन गरेर मात्र भुक्तानी दिनतिर लाग्नुपर्छ। यस्तो ज्यादती गर्नेहरूमाथि कारबाही थाल्ने हो भने भविष्यमा फेरि यही प्रक्रिया दोहोरिने छैन। असारे विकासको कहरबाट सर्वसाधारणलाई जोगाउनुप-यो। विकासका काम गरेर भन्दा नगरेर यस्तो बेला सर्वसाधारणको जीवनका कष्ट कम गर्न सकिन्छ। अनाहकमा जताततै हिलो बनाएर किन बजेट सक्नु ?

प्रकाशित: २४ असार २०७७ ०५:०६ बुधबार

Download Nagarik App
Download Nagarik App