भुटानमा विकासको मापन कुल गार्हस्थ्य उत्पादन (ग्रस डोमेस्टिक प्रोडक्ट–जिडिपी) भन्दा कुल राष्ट्रिय खुसी (ग्रस नेसनल ह्याप्पिनेस–जिएनएच) बाट गरिन्छ। यसका लागि भुटान सरकारबाट खटाइएका एजेन्टहरूले घरघर गएर खुसीका सूचकहरूबारे सर्वेक्षण गर्छन्। अम्बरबहादुर गुरुङ र गुणराज कुइँकेल यस्तै दुई गणक हुन्, जो नागरिकका खुसीको स्तर नाप्न खटिएका छन्। यसक्रममा उनीहरूसँग नौ वर्गका एक सय ४८ वटा प्रश्नको सूची छ। अत्यन्त बेखुसीका लागि शून्य र सबैभन्दा बढी खुसीका लागि १० अंक कायम गरिएको छ। खुसीको यो सर्वेक्षणमा यी दुईले धेरैजनासँग प्रश्न गर्छन्, जसमध्ये तीन श्रीमती भएका एक धनी किसान, रक्सीको लतमा फसेकी आमाकी किशोरी छोरी, बारमा काम गर्ने लैंगिक अल्पसंख्यक र भर्खरै विधवा बनेर धर्ममा शान्ति खोजिरहेकी एक महिलाका भनाइ मननयोग्य लाग्छन्। रोचक त के भने खुसीबारे प्रश्न सोध्ने गणकमध्येका एक अम्बरबहादुर ४० कटिसकेर पनि आफू एक्लो भएको, सरकारले अझैं नागरिकताबाट वञ्चित गरेका कारण बेहोर्नुपरेको अनेक समस्याबाट स्वयं बेखुसी छन्।
ललितपुरको यलमाया केन्द्रमा ६ मंसिरदेखि भइरहेको दक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथएसिया (एफएसए)’मा प्रदर्शित ‘एजेन्ट अफ ह्याप्पिनेस’को सार यही हो। भुटानका अरूण भट्टराई र हंगेरीकी डोरोत्या जुर्बो निर्देशित र अमेरिकामा यसै वर्षको सनडान्स फेस्टिभलमा पहिलोपटक प्रदर्शित र वृत्तचित्रतर्फ ग्रान्ड जुरी पुरस्कारमा समेत मनोनीत यो वृत्तचित्रले सतहमा भुटानको चर्चित कुल राष्ट्रिय खुसी परियोजनाको प्रारम्भिक सर्वेक्षण र यसको प्रक्रियाबारे हामीलाई अवगत त गराउँछ नै। सँगै, यो वृत्तचित्रको खुबी के छ भने यसले जति देखाउँछ, दर्शकलाई त्योभन्दा धेरै बढी बताउँछ, बुझाउँछ।
खुसी हरेक व्यक्तिको खोज हो। जब जनताको खुसी सरकारकै प्राथमिकता बन्छ तब यो झन्ै विशिष्ट बन्न पुग्छ। जनताको खुसीका लागि भुटानका चौथो राजा जिग्मे सिङ्घे वाङचुकले सन् १९७० कै दशकमा प्रस्तुत गरेको भनिएको यो अवधारणालाई सन् २००८ मा नियुक्त नयाँ राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले झनै गम्भीरतापूर्वक लिएको पाइन्छ। तर भुटानको यो खुसी परियोजना नेपालीभाषी भुटानी र नेपालका लागि भने सधैं मजाक र व्यंग्य बनिरहेको छ। त्यो हिजै मात्र सन् १९९० कै दशकको कुरा हो, जब दक्षिण भुटानबाट झन्डै डेढ लाख नेपालीभाषी भुटानी (ल्होत्साम्पा) देश छाड्न बाध्य पारिए। भुटानले खेदेपछि भारत हुँदै उनीहरू पुख्र्यौली भूमि नेपाल आई झापा, मोरङमा शरण लिए। नेपालीभाषीलाई देशनिकाला गरेका तिनै भुटानी शासक थिए, जसले सन् १७०० मै आफ्नो औलोग्रस्त क्षेत्रमा बस्ती बसाउन नेपालीलाई देश बोलाएका थिए। मिहिनेती नेपालीले दक्षिण भुटानलाई आफ्नो पौरखले हराभरा बनाए, जसको कर भुटानी शासकका लागि राजस्वको बलियो स्रोत हुन्थ्यो। तर जब नेपालीहरू लेखपढ गरेर सरकारी ओहोदाहरूमै पुग्न थाले, तब ड्रुक शासकका लागि नेपालीभाषीले पुरै भुटानलाई अर्को सिक्किम बनाउने त होइनन् भन्नेलगायतका त्रासले सताउन थाल्यो। त्यसपछि सन् १९८८ मा ‘एक राष्ट्र, एक जाति’को राष्ट्रिय योजना ‘डिक्लम नम्झा’ अघि सारेर बिस्तारै नेपालीभाषीमाथि पहिलेका दिइएका अधिकारहरू कटौती गर्दै जागिर पाउन, विद्यालयमा भर्ती हुनसमेत अनुमति लिनुपर्नेजस्ता अनेकन् कानुन लादियो, जबकि एक समय डुक्पा र ल्होत्साम्पाबीच विवाहका लागि प्रोत्साहन गर्ने नीति नै ल्याइएको थियो।
यसबीचमा नेपाल र भुटानबीच थुप्रै पटक शरणार्थीलाई देश नै फर्काउने वार्ता पनि भयो। पहिले त भुटानले आफ्ना देशका नागरिकलाई चिन्नसमेत अस्वीकार गर्दै ती भुटानी नभएको झुट फैलायो। पछि तिनले आफूखुसी देश छाडेकाले फर्काउन नसकिने बतायो। आफ्नो देश फर्कन चाहने भुटानीलाई भारतले झापा सीमामै सुरक्षा फौज प्रयोग गरेर रोक्यो। भुटानीलाई भारत हुँदै आउन दिने तर त्यही बाटो हुँदै फर्कन नदिने यो भारतको सरासर गलत नीति थियो। तर भुटानको सुरक्षाको जिम्मा लिएको भारतकै कारण कुटनीतिक दबाबमा नेपाल कमजोर बन्यो।
दशकौंसम्म नेपालका शरणार्थी शिविरमा नेपाल सरकार, संयुक्त राष्ट्र संघलगायतका दातृ निकायले दिएको खाएर, घामपानी सहेर, अनागरिक भएर, आफ्नो देश भुटान फर्कने र उतै मर्ने सपना साँचेका एक लाखभन्दा बढी भुटानी अहिले तेस्रो देश पुनःस्थापना कार्यक्रममार्फत युरोप र अमेरिका पुगेका छन्। झन्डै सात हजार शरणार्थी त अहिले पनि शिविरमै छन्। विडम्बना त के छ भने भुटानी जेलमा अझैं पनि थुप्रै नेपालीभाषी छन्, जो कुनै दिन छुट्ने र आफन्त भेट्ने प्रतीक्षामा छन्। गएको असारमा मात्र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दबाबमा ३२, ३० र २० वर्ष भुटानी जेल बसेका क्रमशः रामबहादुर राई, मधुकर मगर र मानबहादुर खालिङले नेपाल आएर आफ्ना पीडा सुनाएका थिए। ‘उडिराखेको चरालाई धेरै वर्ष पिँजडामा राखेर छाडिएजस्तै म जेलबाट निस्किँदा निकै खुसी भएँ,’ ६३ वर्षीय रामबहादुरले भनेका थिए, ‘नेपाल आइपुगेपछि भने म निकै दुःखी भएँ, न गाँस छ न बास।’
पुर्ख्यौली थलो, जाति र संस्कार बेग्लै भएको भन्दै आफ्नै नागरिकमाथि यतिसम्मको निर्मम हुन सक्ने भुटानी शासक कसरी खुसी हुनसक्छन् ? पटक्कै सक्दैनन्। बरु भुटानी जनता विश्वमै अद्वितीय भएको भन्दै यस्तै खुसीको यस्तै भ्रम छर्न खोज्छन्। विगत बिर्साउने खेलमा अभ्यस्त शासकहरू त्यही भूतले लेखेटिएर पतन हुनुपरेको इतिहासबाट भुटानी शासक पनि बच्न सक्दैनन्। तर यही कथन हाम्रै पूर्वराजा ज्ञानेन्द्रमा पनि लागु हुन्छ। हालै मात्र भुटानी राजपरिवारको निमन्त्रणामा थिम्पु पुगेका ज्ञानेन्द्रले बिनासंकोच त्यहाँ जुन आतिथ्यतापान गरे, त्यसमा नेपालीभाषीको आँसु मिसिएको उनले हेक्का नै पाएनन्। आफूलाई अहिले पनि जनताको राजा भन्न र भनाउन रुचाउने ज्ञानेन्द्रले थिम्पुले नेपालीभाषीमाथि गरेको दमन वैधानिक तुल्याउन यत्रो खातिरदारी गरिरहेको नबुझ्नु देशकै लागि घात सिवाय केही होइन।
ल्होत्साम्पा समुदायका दुई गणकमार्फत ल्होत्साम्पा समुदायकै निर्देशकले वृत्तचित्रमार्फत जनतालाई जसरी जबर्जस्ती खुसी भएको देखाउने शासकको जुन परपीडक शासनशैली ‘दुःखी भाष्य’ निर्माण गरेका छन्, यसको सार्वजनिकीकरणका लागि ‘एजेन्ट अफ ह्याप्पिनेस’टोली र फिल्म साउथएशिया दुवैलाई साधुवाद छ। सतहमा यो सपाट वृत्तचित्र हो तर अन्तर्यमा भुटानी जनताको उदासीको चित्र पनि। सँगै लोकतन्त्र चाहको राजनीति पनि।
प्रकाशित: ९ मंसिर २०८१ ०६:०३ आइतबार