सम्पादकीय

दुर्घटनाग्रस्त सुरक्षा योजना

सवारी दुर्घटना नेपालका लागि असामान्य छ। सडक स्तरोन्नति, नयाँ नयाँ प्रविधियुक्त सवारी साधन, ट्राफिक चेतना अभिवृद्धि तथा आममानिसमा यात्राप्रतिको उन्नत बुझाइले दुर्घटना कम हुँदै जानुपर्ने हो। विडम्बना, हाम्रो देशमा यी यावत् पक्षका बाबजुद सवारी दुर्घटना बढ्दो रूपमा भइरहेका छन्। दुर्घटना कसरी बढिरहेका छन् भन्ने थाहा पाउन केही दिनयताका घटना पर्याप्त छन्।

केही दिनअघि मात्र कालीकोटको पलाँता गाउँपालिका–३ मा जिप दुर्घटना भयो। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–७ मा यात्रु बस दुर्घटना भयो। वीरेन्द्रनगर नगरपालिका–१४ नजिकै रातानांग्लामा अर्को गाडी दुर्घटना भयो। यी पंक्ति लेख्दासम्म पनि दुर्घटनाका खबर आउने क्रम जारी छ। यस्ता दुर्घटनामा घाइते संख्या धेरै छ भने मृत्यु पनि बढिरहेको छ। उपचाररत कतिपय जीवनमरणको दोसाँधमा छन्।

विशेषगरी चाडपर्वका बेला यस्ता दुर्घटना बढी हुने गरेका छन्। यतिबेला स्वाभाविकरूपमै मानिसको आवतजावत बाक्लो हुने गर्छ। धेरैलाई ओसारपसार गर्न भनेर नयाँ र अरू सवारी साधन थप्नेतर्फ यातायात व्यवसायीले ध्यान पुर्‍याउने गर्दैनन्। यस्तो अवस्थामा सीमित र नियमित साधनबाटै धेरै मानिस ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। एकातिर सर्वसाधारणलाई गन्तव्यमा पुग्न हतारो हुन्छ भने अर्कोतिर यातायात व्यवसायीले पनि यस्तो बेलालाई कमाउने अवसरका रूपमा परिणत गर्छन्। दुर्घटनाको एउटा मुख्य कारण यो पनि हुने गरेको छ।

सुरक्षा निकायले जहिले पनि चाडपर्व लक्षित सुरक्षा योजना भनेर अघि सार्ने गरेको देखिएको छ। तर यस्तै चाडपर्वको वरिपरि सडक दुर्घटना धेरै भइरहेका हुन्छन्। यो पनि एक वा दुई वर्ष नभएर सधैँजसो दोहोरिइरहेको पाइन्छ। यस्तो अवस्थाले सुरक्षा निकायको योजना नै दुर्घटनामा परेको पुष्टि हुन्छ। हैन भने योजना लागु हुँदाहुँदै पनि किन दुर्घटना न्यून भइरहेको छैन ? किन मानिसले अनाहकमा ज्यान गुमाइरहनुपरेको छ ? प्रश्न धेरै छन्।

खाल्डाखुल्डीयुक्त सडक, थोत्रा सवारी साधन, लापरबाहीपूर्ण चलाइ, चालकले मादक पदार्थ सेवन गरेर चलाउनु, क्षमताभन्दा बढी यात्रु र सामान राखिनु, यात्रुले पनि ठाउँ नभएको साधनमा समेत यात्रा गर्न मरिहत्ते गर्नु, छतमा समेत भरिभराउ यात्रु राख्नु जस्ता कारण देखिएका छन् दुर्घटनाका साथै ठाउँ ठाउँमा ट्राफिक संकेत अभाव, बाटोको जानकारी दिने सूचनाहरू नहुनु तथा ट्राफिक प्रहरीको कम सक्रियता वा अभाव पनि यस्ता दुर्घटनाका अन्य कारण बनेका छन्।

कारण जेसुकै भए पनि नेपालमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको र यस्ता दुर्घटनाबाट आमनागरिकको जीवन सकिने गरेको यथार्थ कसैबाट छिपेको छैन। बर्सेनि हुने हजारौँ घाइते र अंगभंगवालाको जीवन पनि त्यत्तिकै दुःखदायी हुने गरेको छ। तर पनि यस्ता दुर्घटना न्यून गराउन आवश्यक योजना र त्यसको कार्यान्वयनमा भने सरकार चुकेकै देखिन्छ। नत्र यस्ता घटना बारम्बार दोहोरिइरहने पक्कै थिएनन्।

सवारी चालक अनुमतिपत्रको जथाभावी वितरण दुर्घटनाको अर्को कारण हो। यातायात कार्यालयका कर्मचारीकै मिलेमतोमा बिचौलियामार्फत हजारौँजनाले नक्कली वा घूस खुवाएर सवारी चालक अनुमतिपत्र लिएका खबर सञ्चार माध्यममार्फत सार्वजनिक भएकै छन्। पछिल्लो समय सरकारले नै यस विषयमा अध्ययन र कारबाही थालेबाट पनि सवारी चालक अनुमतिपत्र वितरणमा हुने गरेको अनियमितताको आकार थाहा पाउन सहज भएको छ। त्यसैले यो कारण पनि दुर्घटना गराउन मुख्य भूमिकायुक्त देखिएको छ।

सरकारले नेपाल भित्र्याउँदा नै प्रत्येक सवारी साधनसँग कर लिने गर्छ। यस्तो कर बर्सेनि तिर्नुपर्छ। सडक प्रयोग गरेबापत ढाटपिच्छे तिर्नुपर्ने कर त पहिल्यैदेखि कायम छ। यसरी पाइलैपिच्छे कर तिरेपछि सवारी साधन उपयुक्त मार्गमा गुड्न पाउनुपर्ने हो। दुर्घटना हुने सम्भावित कारणहरू खोजेर त्यसलाई सरकारले नै निराकरण गरिदिनुपर्ने हो । तर सरकारी पारा भने करचाहिँ लिइरहने तर सवारी साधनका लागि अर्थात सडक प्रयोगकर्ताका लागि उपलब्ध गराउनुपर्ने आधारभूत व्यवस्थाबाट भने पन्छिने गरेको छ। फलस्वरूप, बर्सेनि सयौँ मानिस मर्ने गरेका छन् भने हजारौँ घाइते तथा अंगभंग हुने गरेका छन्।

प्राकृतिक प्रकोप, युद्ध, रोगको महामारी आदिबाट मानिसलाई बचाउन गाह्रो हुन्छ तर सावधानी अपनाइयो भने सवारी दुर्घटनाबाट चाहिँ बचाउन सकिन्छ। यसरी बचाउन सकिने उपायसमेत नअपनाउँदा मानिसको ज्यानै जाने अवस्था सिर्जना हुनु भनेको निर्दोष मानिसमाथिको अपराध हो जुन राज्यले खुलेयाम गरिरहेको छ। यसका लागि उसलाई क्षमा दिन सकिन्न। जहाँसम्म यस्तो दुर्घटनामा यातायात व्यवसायी र सुरक्षा कर्मचारीको भूमिका छ, अनुपातका आधारमा उनीहरूलाई पनि दण्डित गर्ने व्यवस्था मिलाइनुपर्छ। दुर्घटनाको अस्वाभाविक स्थितिलाई संवोधन नगर्ने हो भने यसले अरू धेरै जनधनको क्षति गर्ने निश्चित छ। 

प्रकाशित: २८ कार्तिक २०८१ ०६:०० बुधबार

#Road accident in Nepal