सम्पादकीय

क्यान मौन किन ?

क्यानडा र अमेरिकामा भएको आइसिसी विश्वकप लिग–२ प्रतियोगिताबाट गएको कात्तिक २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका नेपाली पुरुष क्रिकेट टोलीका खेलाडी र पदाधिकारीका हातमा अमेरिकालाई टी–२० मा ‘ह्वाइट वास’ गरेर प्राप्त कप त थियो तर उनीहरूको मुहार भावशून्य देखिन्थ्यो। नहोस् पनि कसरी, लिग–२ का पछिल्ला दुई सिरिजका आठ खेलमा नेपालले एक मात्र जित हासिल गरेको थियो। खराब प्रदर्शनले पुरै सिरिज नेपालका लागि बिर्सनलायक बनेको थियो। विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका कप्तान रोहितकुमार पौडेल र सहायक प्रशिक्षक जगत् टमाटाले एक दिवसीय क्रिकेटमा अभ्यासमा कमी र क्यानडाको पिचमा अभ्यस्त नभएका कारण पराजय भोग्नुपरेको कारण सुनाए। अमेरिकामा भने टिमले राम्रै खेलेको तर हार बेहोर्नुपरेको उनीहरूको भनाइ थियो।

लिग–२ मा अहिलेसम्म नेपालले १२ खेल खेलेको छ, जसमा मात्र दुई जितसहित टोली पुछारबाट दोस्रोमा छ। एसोसिएट्स टोलीका आठ देशमध्ये नेपाल युएईभन्दा माथि छ। तर स्मरण गर्नुपर्ने कुरा के हो भने युएईले अहिलेसम्म केवल १० खेल मात्र खेलेको छ। १२ खेलमा आठ जितसहित १६ अंकका साथ अमेरिका शीर्ष स्थानमा छ भने क्यानडा उत्तिकै अंकका साथ रटरेटका आधारमा तालिकाको दोस्रो स्थानमा छ। स्कटल्यान्ड, नेदरल्यान्ड्स, ओमन र नामिबिया क्रमशः तालिकामा तेस्रो, चौथो, पाँचौ र छैटौं स्थानमा छन्।

त्यसो त लिग–२ मा सहभागी प्रत्येक टोलीले कुल ३६ वटा खेल खेल्नुपर्नेछ जसका लागि सन् २०२६ डिसेम्बरसम्मको समयावधि तय गरिएको छ । त्यसरी हेर्ने हो भने नेपालले अझै २४ वटा खेल खेल्नै बाँकी छ र सुधारको प्रशस्त अवसर पनि छ। पछिल्लो लिग–२ को प्रदर्शनलाई हेर्ने हो भने बाँकी १२ मध्ये जित्नैपर्ने १० खेलमा ११ खेल जित्दै एकदिवसीय दर्जा पनि बचाएको र विश्वकप छनोटको अविश्वसनीय यात्रा तय गरेको तथ्य पनि हाम्रै सामु छ । अहिले पनि उक्त क्षणको झल्को नेपाली क्रिकेटप्रेमीलाई आइरहन्छ।

यसरी हेर्ने हो भने आशा झिनो होइन, नेपालको एक दिवसीय दर्जा र पुनः विश्वकप यात्रामा आश्वस्त हुन सकिन्छ। तर के नेपाली टोलीबाट हामीले फेरि पनि त्यस्तै अप्रत्यासित र अविश्वसनीय खेलकै अपेक्षा राख्नुपर्ने हो ? कतै खेलाडी, नेपाल क्रिकेट संघ दर्शकलाई अनिश्चयको बन्दी बनाउने रणनीतिमा त लागिरहेका छैनन् ? यस्तो होइन भने किन नेपाल समान हैसियतका प्रतिस्पर्धीसँग १२ खेलमा आठमा हारको सामना गर्छ ? किन बेलैमा बुद्धि पुर्‍याउँदैन ? किन समयमै खेलहरू आफ्नो पक्षमा पार्दै दर्शकलाई बेचैन होइन आफ्नो टिमको क्षमताप्रति विश्वास दिलाउँदैन ?

यति गर्न नसक्ने हो भने हामीले स्विकार्नुपर्छ, हाम्रा खेलाडी र क्रिकेट नेतृत्वले विगतबाट कुनै पाठ सिकेनन्। मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षण कलाबाट पहिले हार्न नजान्ने टिमबाट अहिले जित्न नजान्ने टिममा परिणत भइरहँदा हामीले बीचमा कारणहरूको खोजी गर्न सकेनौं। वर्ष दिनकै फरकमा नेपाली टोलीमा के भइरहेको छ, जसले जितको भोकलाई गौण बनाइरहेको छ ? समस्या खेलाडीमा छ या प्रशिक्षणमा या क्यानमा ? नागरिककले जवाफ पाउनुपर्छ।

एकै स्तरअनुरूपको प्रदर्शन नहुनु नेपाली टोलीको पुरानै समस्या हो। यसका लागि नगरी नहुने उपचार भनेको प्रणाली र संरचनाको विकास हो। तर हामी प्रणालीभन्दा व्यक्तिलाई नायक बनाउनेतर्फ तल्लीन छौं। यहाँ कुनै खेल जिते खेलाडीलाई एकाएक नायक बनाइने, सहर परिक्रमा गराइने, सम्मान र पुरस्कारको बाढी लाग्ने प्रवृत्ति बढेको छ। खेल र खेलाडीको स्तर र उपलब्धि निर्धारण गरी कस्तो सम्मान गर्ने भन्ने कुनै मापदण्ड नै छैन। एक्कासि प्राप्त यस्तो यशले खेलाडीको जीवनशैली र भावी खेलजीवनमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे पनि कुनै हेक्का छैन। राज्यले खेलाडीको जीवनको चिन्ता नगर्दा नागरिकस्तरबाट यस्तो हुनु पूर्णतः अनुचित पनि होइन। तर समग्र खेल क्षेत्रको प्रगति चाहने हो भने राज्यलाई नै जिम्मेवार बनाउने पहलकदमीको विकल्प अरू हुनै सक्तैन।

जितमा राष्ट्रवादी भइहाल्ने प्रवृत्ति सबैतिर छ। तर हारिहाले स्वयंको चित्त बुझाउने हामी नेपालीको अनौठो बानी पनि छ। ‘नेपाली हो, धन्न यति त खेल्यो, गर्‍यो, भोकभोकै खेलेको छ, राज्यले के दिएको छ ?’ जस्ता खेलाडी पुल्पुल्याउने खेल भावना र प्रतिस्पर्धा प्रतिकूल भाष्यले हामीलाई बलियो होइन झन्ै कमजोर बनाइरहेको छ, हीन बनाइरहेको छ। यसले हारमा कारण खोज्ने, मिहीन विश्लेषण गर्ने, पुरस्कार र दण्डको व्यवस्था गर्ने न्यूनतम अनुशासन पालना गर्नसमेत वञ्चित गर्छ। हाम्रो आलोचनात्मक चेतसमेत भुत्ते बनाउँछ, जसको सिकार सञ्चारकर्मीसमेत भइरहेका छन्।  

लिग–२ मा नेपालको खराब प्रदर्शनमा चतुर र पारस नेतृत्वको क्यान जवाफदेही हुनुपर्छ। हाम्रो अबको ध्यान बचेका खेलहरूमा केन्द्रित हुनुपर्छ, जसमा सुरुवात विजयबाटै हुनुपर्छ। नेपालीले नेपालले विश्वकप छनोट खेल होइन विश्वकप नै खेलेको हेर्न पाउनुपर्छ। घरेलु संरचनालाई बलियो बनाउँदै टेस्ट राष्ट्र बन्नेतर्फ स्पष्ट मार्गचित्र अघि सार्नुपर्छ। ‘यदि र तर’को गुन्जाइस गर्ने अधिकार क्यानलाई छैन। 

प्रकाशित: २५ कार्तिक २०८१ ०६:०४ आइतबार

#cricket #Cricket Association of Nepal (CAN)