कुनैबेला थियो, जतिबेला छठ पर्वलाई भोजपुरी र मैथिलीभाषी हिन्दुको मुख्य चाडका रूपमा अथ्र्याइन्थ्यो। हुन पनि यो पर्व यिनै समुदायमा विशेष रौनकसाथ मनाइन्थ्यो भने अन्यत्र यसको महत्ता बुझिसकिएको थिएन। यतिबेला यसले व्यापकता पाइसकेको छ। छठ अब न तराईको मात्र पर्व रह्यो न त भोजपुरी, मैथिली जस्ता भाषाविशेषमा मात्र केन्द्रित। यो त तराईदेखि पहाड हुँदै हिमालसम्म र भोजपुरीदेखि खस हुँदै नेवारी भाषभाषीसम्म जताततै फैलिइसकेको छ। जसको प्रमाण यतिबेला सर्वत्र देख्न सकिन्छ।
कात्तिक शुक्ल पक्षको चौथो तिथि पारेर सुरु हुने यो पर्व मंगलबारबाट मनाउन थालिइसकिएको छ। सत्य र अहिंसाप्रति मानव रुचि बढाउने मुख्य विशेषतायुक्त छठ पर्व सबै प्राणीप्रति दयावान बन्न प्रेरित गर्ने चाडसमेत हो। त्यसैले न यो पर्व हिंसात्मक हुने गर्छ न त खासै तडकभडक नै। यही कारण पनि छठ पर्वमा विशेषगरी केरा, सुन्तला, नरिवल जस्ता फलफूल र उखु, मुला, अदुवाको बोट आदि छठी मातालाई अर्पण गर्ने चलन छ ।
यो पर्वका अवसरमा पहिलो दिन नुहाएर सफासुग्घर भइ अलिनो खाना खाने, दोस्रो दिन निराहार बस्ने र साँझपख छठी माईको पूजा गरी प्रसाद ग्रहण गर्ने गरिन्छ भने तेस्रो दिन निराहार बसी ठेकुवा नामक परिकार बनाइन्छ। जुन छठका बेला बनाइने मुख्य र विशेष परिकार पनि हो। अनि साँझ पोखरी, नदी आदिमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। चौथो दिनचाहिँ बिहानै उदाउँदो सूर्यलाई अर्घ दिइ व्रत तथा पर्व समापन गरिन्छ।
यसरी हेर्दा यो पर्व सूर्यको उपासनासँग सम्बन्धित छ। सौर्य प्रकाश र तापविना यो सृष्टिको परिकल्पना हुन सक्दैन। प्रकाश र ताप नहुने बित्तिकै सबै वनस्पति र प्राणीको अन्त्य हुन्छ। केही मानिस सूर्यबिहीन पृथ्वीमा केही दिन, महिला वा केही वर्ष बाँच सके पनि यो निरन्तर चल्न सक्दैन भन्ने तथ्यलाई संसारले बुझिसकेको छ। यही पक्षलाई बुझेका हाम्रा पुर्खाले सुर्योपासनालाई विशेष महत्त्व दिएको हुनुपर्छ। छठ पर्वमा व्रत लिँदा जे जस्ता उपलब्धि हुने कल्पना गरिएको छ, त्यसलाई अन्यथा ठान्नु पर्दैन। विशेषगरी महिलाहरू यो पर्वभर निराहार बस्छन् र आफ्नो तथा परिवार र समस्त लोकको भलाइको कामना गर्छन्। सँगै आफन्तजन र अतिथिजनलाई समेत बोलाएर प्रसाद ग्रहण गराउने, सत्कार गर्ने कर्ममा पनि उत्तिकै तल्लीन रहन्छन्। यसले सामाजिक सद्भाव बनाउन पनि विशेष भूमिका खेल्छ।
राजधानीका गुहेश्वरी, थापाथलीलगायतका नदीहरू तिहार लगत्तै झिलिमिली हुने गरेका छन् छठको तयारीका लागि। पहिले पहिले छठ पर्व मनाउनकै लागि तराई जाने गरेका श्रद्धालुहरू अब संघीय राजधानी र अन्यत्र सहर÷गाउँमा समेत यस पर्वको रौनक बढ्दै गएकाले आआफ्नै ठाउँमा धूमधामसँग मनाउने अवस्था सिर्जना भएको छ। छठ पछिल्ला वर्षहरूमा सर्वप्रिय बन्दै गएको छ। यसै पनि हाम्रा सबैखाले नागरिकबीच सद्भावपूर्ण रहेको छ। कसैले गरेको तीर्थव्रतबाट प्रेरित भएर त्यसलाई अपनाउने उत्सुकता सबैमा देखिन्छ। यसले हाम्रो समाजमा रहेको उदारतालाई समेत देखाउँन्छ। यही कारण पनि छठ अब कुनै वर्गविशेष, समुदायविशेष र ठाउँविशेषको मात्र पर्व रहेन। एकापसमा घुलमिल हुने, साझा थलोमा बस्ने र पूजाआजा गर्ने, मिलिजुली प्रसाद ग्रहण गर्ने, छठी माताको विशेष प्रसाद ठेकुवाको स्वाद लिने र पछि पछिसम्म पनि सम्झिरहने जस्ता कार्यले एकापसमा सम्बन्ध गाढा तुल्याएको छ। त्यसैले पनि छठ विस्तार छरिएका मनहरू जोड्ने माध्यमका रूपमा विकास भइरहेको छ। जसलाई निकै सकारात्मक पक्ष मान्नुपर्छ ।
नेपाल पर्व र चाडको खुला संग्रहालय हो। आधुनिक विकासको चरम चुलीमा पुगेर पनि आनन्दको खोजी र सुन्दर हिमालदेखि तरेली फाँटसम्मको अनुभव गर्न चाहनेलाई यी चाडले थप उत्साहित तुल्याउँछन्। भर्खरै सकिएका दसैँ, तिहार र अहिले जारी छठ यसका उदाहरण हुन्। जतिबेला जस्तासुकै अप्ठेरोलाई पनि थाती राखेर नेपालीहरू रमाउन जानेका छन्। यसले मानिसको खुसीको रेखालाई माथि लैजान मद्दत गर्छ।
भद्रपुरको मेची नदी होस् या काठमाडौँको मनोहरा, सर्लाहीको वाग्मती होस् या सिन्धुलीको मरिण, वीरगञ्जको घडीअर्वा होस् या जनकपुरको गंगासागर, नेपालगञ्जको रानीतलाउ होस् या कैलालीको घोडाघोडी, कुनै यस्तो ठाउँ भेटिन्न जहाँका नदी र तलाउ छठ मनाउनेहरूको आस्थाले भरिभराउ नहोस्। केराको खम्बा र हरिया तरकारी अनि बाँस÷निगालोका ढकी र फूलप्रसादले सजिसजाउ नहुन्। जहाँ न पहाडे मात्र भेटिन्छन् न त तराईबासी मात्र। न भोजपुरीभाषी मात्र सामेल हुन्छन् न त थारूभाषी मात्र। त्यसैले यो पर्व त्यस्तो रंगीन संसारमय हुन्छ जहाँ धर्तीमा सिर्जना भएका सबै रंग, वर्ग, समुदाय, क्षेत्र आदिको प्रतिनिधित्व क्रमशः बढ्दो छ। त्यसैले त छठ एउटा पर्व मात्र नभएर पछिल्लो समय मुलुकलाई एउटै मालामा सजाउने धागोका रूपमा परिणत भइरहेको छ।
यस्तो महत्वपूर्ण पर्वमा सामेल सम्पूर्ण आस्थावानप्रति शुभकामना !
प्रकाशित: २१ कार्तिक २०८१ ०६:२५ बुधबार