सम्पादकीय

मधेसलाई लागुपदार्थको दलदलबाट बचाऊ

मधेसका युवा दिन/प्रतिदिन लागुपदार्थको दुव्र्यसनमा फसिरहेका छन्। सेवन मात्र हैन, ओसारपसारमा समेत यी युवा सक्रिय रहनु दुःखद पक्ष हो। सीमापारि भारतदेखि नेपालकै पहाडी जिल्ला हुँदै काठमाडौँसम्मका युवा गिरोह यतिखेर यहाँको लागु पदार्थ धन्दामा संलग्न देखिएकाले बेलैमा समाधानतर्फ राज्यका निका क्रियाशील हुनुपर्ने अवस्था आइपरेको छ।

लागुपदार्थको सेवन र कारोबार किन यहाँ ‘व्यवसाय’ कै रूपमा फस्टाइरहेको भन्ने कारण जान्न आवश्यक छ किनकि कुनै पनि समस्याको समाधान त्यसको कारणसित जोडिएको हुन्छ। अर्थात् कारण पत्ता नलगाई समाधान असम्भव हुन्छ। बेरोजगारी, अशिक्षा, गरिबी, विकास निर्माण सबै सूचकांकमा पुछारतिर पर्छ यो प्रदेश। खासगरी मुलुककै सबैभन्दा बढी दलित समुदायको बसोबास रहेको क्षेत्र यही हो। जो अभावै अभावको जिन्दगी बाँचिरहेका छन् अहिले पनि। त्यसैले यो प्रदेशका अन्य समुदाय तुलनात्मकरूपमा शिक्षित, सम्पन्न, धनी देखिए पनि यिनै दलित र विपन्न समुदायको गिर्दो अवस्थाका कारण सिंगो प्रदेशका मानवीय र विकाससम्बन्धी सूचकहरू झन् झन् तल धकेलिएका देखिन्छ।

आर्थिक सर्वेक्षणअनुसार गरिबी अन्त्यको राष्ट्रिय प्रतिशत ६.०७ छ भने मधेस प्रदेशको मात्र ४.६७ छ। त्यसैगरी शून्य भोकमरीको राष्ट्रिय प्रतिशत ३.८७ छ भने मधेसको १.८६ छ। अनि गुणस्तरीय शिक्षाको राष्ट्रिय प्रतिशत ३.२६ छ भने मधेसको ५.४६ छ। यसरी नै असमानता न्यूनीकरणको राष्ट्रिय प्रतिशत ६.५१ प्रतिशत भएकामा मधेसको चाहिँ ३.३२ छ। त्यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म औसत रोजगारी दिन कर्णालीमा सबैभन्दा बढी ७१.६ र सबैभन्दा कम मधेसमा ३४.८ छ। यी तथ्यांकले पनि मधेसको हरकुरामा अधोगति दर्शाउँछ।

यस्तो अवस्थामा मधेस प्रदेशमा विकृति मौलाउनु स्वाभाविक हो। खासमा शोषण, विकृति र आपराधिक क्रियाकलाप फस्टाउने भनेकै बाध्यतामा हो। अनि बाध्यताको ऊर्वर भूमिचाहिँ अभाव हो। माथि उल्लेख भएका तथ्यांकले पनि देखाउँछन् कि अभावको रेखा मधेसमा चढ्दो छ। अर्कोतर्फ जीविकोपार्जनको समस्या पनि उत्तिकै छ। यसबीचमा मधेसमा लागु औषधको धन्दा बढोत्तरी हुनुमा खासै आश्चर्य मान्नु आवश्यक छैन।

युवावस्था सिक्ने, रमाइलो गर्ने र जीवनका महŒवाकांक्षा पूरा गरिछाड्ने स्वभावबाट निर्देशित हुन्छ। यस्तो अवस्थामा उसले आफ्ना सोख, आवश्यकता र महŒवाकांक्षा पूर्ति गर्न जस्ता उपाय पनि अपनाउन पछि नपर्ने प्रवृत्ति सिर्जना हुन्छ। यो काम गरेबापत पछि कुनै सजाय भोग्नुपर्ला वा लफडा आइलाग्ला भनेरसमेत सोच्न नभ्याउने उमेर समूह हो यो। त्यसैले पनि धेरै अभिभावकलाई युवावस्तामा प्रवेश गरेका आफ्ना छोराछोरीलाई विकृत मार्गमा लाग्नबाट जोगाउन हम्मेहम्मे पर्ने गर्छ। अहिले मधेस प्रदेशमा देखिएको युवा र लागुपदार्थबीचको सम्बन्ध सूत्र पनि यही होभन्दा फरक पर्दैन।

युवा देश विकासका कर्णधार हुन्। पहिलो कुरा त, धेरै नेपाली युवा वैदेशिक रोजगारीका क्रममा विशेषगरी खाडी राष्ट्रमा जाँदा जाँदा सकिनै लागिसके। बाँकी रहेका अर्थात् तुलनात्मकरूपमा सम्पन्न युवाहरू पनि पढाइका नाममा विदेश जाने क्रम जारी छ । यस्तो अवस्थामा जो युवा विविध कारणले देशमै छन्, उनीहरू पनि लागुपदार्थ सेवन तथा ओसारपसारको भासमा जाकिन थाल्नु मधेस वा कुनै प्रदेशको मात्र नभई सिंगै मुलुकको चिन्ताको विषय हो। त्यसैले यो समस्या सक्दो चाँडो निर्मूल गर्न राज्यका सबै निकाय परिचालन गर्नुको विकल्प छैन।

सबैभन्दा पहिले मधेसी युवाका समस्या पहिचान गर्ने र त्यसैअनुसारको उपचार पद्धति अपनाउने शैली मधेसका युवालाई लागु औषधको दलदलबाट बाहिर उतार्ने सही उपाय हुन सक्छ। उनीहरूका बेरोजगारी, नैराश्य, अशिक्षा, सिपबिहीनता र हरेक अवसरबाट वञ्चितीकरण जस्ता समस्या हुन सक्छन् । जसले निराशासँगै विकृति अंगाल्नुपर्ने बाध्यतासमेत आइलागेको हुन सक्छ। त्यसैले यो समस्यालाई सामान्य ठानिनु हुन्न । त्यसपछि सचेतना, खबरदारी, सतर्कता र कानुनी उपचारसमेतका मार्ग अवलम्बन गर्न सकिन्छ। एकैपटक कानुनी उपचार मात्र गरिनाले पनि समस्या नामेट नहुन सक्छ । त्यसैले मुख्य कुरा समस्याको जरो पहिल्याएर त्यहीँबाट उपचार सुरु गर्नुको विकल्प देखिन्न। 

प्रकाशित: १२ कार्तिक २०८१ ०६:०३ सोमबार

#Madhesh #drug