धेरैका निम्ति जलवायु संकट अझै वास्तविक जस्तो लागिसकेको छैन। यो अरू कसैले सिर्जना गरेको भ्रम ठानेर अल्मलिनु पनि उचित हुँदैन। यो संकट जति–जति हाम्रा घर आँगनसम्म आइरहेको छ, त्यतित्यति यसको गहनता महसुस भइरहेको छ। बडादसैँको मुखैमा यही असोज ९ र १० मा आएको घनघोर वर्षाले ल्याएको संकटले देशको जनसंख्यालाई छिन्नभिन्न तुल्याएपछि धेरैलाई यो संकटबाट जीवन टाढा छैन भन्ने लाग्नु स्वाभाविक हो। मेलम्ची खानेपानी आयोजना होस् वा थामेमा आएको हिमपहिरो, यसले अहिले गम्भीर बनाउने अवस्था सिर्जना भएको छ।
विश्वका कतिपय नेतालाई अझै यो चिन्ताको विषय लागिसकेको छैन। त्यसै कारण यो संकटबाट जोगिने विषयलाई प्राथमिकतामा पारेका छैनन्। र, यसलाई बेलैमा प्राथमिकतामा पारी हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन भएको क्षति पुर्ताल गर्न आवश्यक भूमिका निर्वाह नगर्ने हो भने आगामी दिन कठिन हुनेछन्। चुनौतीपूर्ण विषयमा सरोकारवालाहरूसँग संवाद गर्दै समस्या समाधानतर्फ नलाग्ने हो भने पछि पर्ने अवस्था आएको छ। त्यही भएर जलवायु संकट र यसले निम्त्याएका समस्यामा क्षतिपूर्तिका विषयमा आफूलाई चनाखो बनाउँदै अघि बढ्न जान्ने राजनीतिक नेतृत्व पनि अहिलेको समयका लागि अपरिहार्य बन्न गएको छ।
त्यसैले यो विषय राजनीति, कूटनीति, प्रेस तथा नागरिक समाज सबैको मुद्दा बन्नुपर्ने अवस्था आएको छ। नागरिक र रिपब्लिका दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडिया र द न्युयोर्क टाइम्सको सहकार्यमा बिहीबार आयोजित ‘द कल फर माउन्ट एभरेस्ट फर ग्लोबल क्लाइमेट एक्सन’ अर्थात् ‘ विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयमा संवादका वक्ताले जलवायु संकटलाई गहिरो गरी औल्याएका छन्। त्यसमा उनीहरूले सञ्चार माध्यमलाई जलवायु विषयमा लेख्ने र नागरिकलाई बुझाउने गरी छुट्टै डेस्क राख्नसमेत आग्रह गरेका छन् भने राजनीतिक नेतृत्वलाई यो विषयको गम्भीरता बुझ्न सुझाएका छन्। न्युयोर्क टाइम्स अन्तर्राष्ट्रियका अध्यक्ष स्टेफन डनबर जोन्सनले राजनीतिक व्यक्तिलाई आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणको दैनिक जीवनमा परेका असरबारे प्राथमिकता दिन उनले त्यत्तिकै आह्वान गरेका होइनन्। हिजोका दिनमा गरिबी, बेरोजगारी वा यस्तै समस्यामा मात्र बोले पुग्थ्यो। अब जलवायु संकट गहिरिँदै जाँदा तिनका जीवनमा पर्न थालेको बहुआयामिक प्रभाव हिजोको भन्दा चुनौतीपूर्ण हुन थालेको छ। उनका अनुसार दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणको कथा अहिले आएर जलवायु संकटले दोहोर्याउने अवस्था आएको छ। नेपाल जस्ता सीमित स्रोतसाधन र विदेशी सहयोगको जोडबलमा निर्माण गरेका पूर्वाधार एकाएक काम नलाग्ने हुँदा त्यसको पुनर्निर्माण झनै कठिन हुने देखिएको छ। मेलम्ची आयोजना निर्माण गर्न मुलुकले दुई दशकभन्दा बढी समय कुरेको छ। तर बिग्रने बेलामा केहीछिन पनि लाग्दैन। त्यत्तिकै स्रोत लगाउन पनि तत्काल सम्भव हुँदैन। दशकौँ लगाएर हासिल गरिएका विकासका उपलब्धिहरू एउटै झड्काले तहसनहस हुने यस्तो अवस्थामा क्षतिपूर्ति माग गर्न सक्षम नेतृत्व आवश्यक हुने देखिन थालेको छ।
जलवायु संकट विज्ञानले पुष्टि गरेको विषय हो। तैपनि विश्वका कतिपय प्रभावशाली नेताले यसलाई अन्यथारूपमा चित्रण गर्दै आएका छन्। एकातिर राजनीतिक नेतृत्वले आफ्नो स्वार्थअनुकूल चित्रण गर्ने र अर्कोतिर यस विषयमा आएका समाचार र विचारबाट सर्वसाधारणले असहाय महसुस गर्ने अवस्था पनि छ। त्यसैले यसका निम्ति समाधान चाहिएको छ। अहिले देखिएका समस्याको समाधान कसरी निकाल्ने भन्ने ध्येय र दृष्टिकोण अहिले अझ टड्कारो बन्न पुगेको छ।
अबका २६ वर्ष अर्थात् सन् २०५० सम्म खुद कार्बन उत्सर्जनलाई शून्यमा झार्ने विश्वव्यापी लक्ष्य छ। सर्वसाधारणलाई यसो गर्दाका फाइदा बताउनु र बुझाउनु अहिलेको आवश्यकता हो। जलवायु संकटका भयानक चित्रणले मात्र सर्वसाधारणलाई यसको गम्भीरता बुझाउन सम्भव छैन। यस्ता समाचार पढ्दा युवाहरू झनै आत्तिन सक्छन्। तर तिनका घरैछेउमा आइपुगेको संकटको कारण र त्यसको समाधानबारे निरन्तर चर्चा आवश्यक देखिएको छ। यो संकटमा कुनै पनि बेला कोही पनि पर्न सक्छ भन्नेबित्तिकै त्यसको समाधानका निम्ति सोच्ने अवस्था आउँछ। यो विषयको अमूर्ततालाई चिन्नु र व्यवहार गर्नु अहिलेको आवश्यकता रहिआएको छ।
जलवायु संकटले अहिल्यै सबैभन्दा पछाडि पारिएका व्यक्ति र समूहलाई नै बढ्ता प्रभाव पारिरहेको छ। पुरुषभन्दा महिलालाई बढ्ता प्रभाव पार्छ भन्ने पक्ष अध्ययनले पुष्टि गरेको छ। जलवायु संकटले नयाँ किसिमका मौसमी प्रवृत्ति अनुभव गर्नुपर्ने अवस्थामा पुर्याएको छ। यसले खानेपानीको संकटलाई झनै गहि¥याउँछ। हालैको बाढीपहिरोपछि मुलुककै कैयन् व्यक्तिले अझै स्वच्छ खानेपानी पाएका छैनन्। कैयन्ले बिजुली र टेलिफोन पाउन कैयन् दिन प्रतीक्षा गर्नुपरेको छ। अझ धेरै त आफ्नो थातथलो छाडेर जलवायु शरणार्थी बन्नुपरेको छ। त्यसैले जलवायु संकटबाट आउने विपत्ति सामना गर्न सक्ने पूर्वाधार, त्यसको तयारी र परिआउँदा प्रतिकार्य गर्न सक्ने क्षमता अभिवृद्धि अहिलेको आवश्यकता भइसकेको छ। परम्परागत सोच र तयारीले मात्र अब नपुग्ने भइसकेको छ। त्यसैकारण पनि जलवायु संकटबारे ठूला अध्ययन, अनुसन्धान र विज्ञानका कठिन व्याख्याभन्दा जीवन र जगत्लाई बुझाउन सक्ने पहल अपरिहार्य भइसकेका छन्। आफ्ना सन्ततिको भविष्यलाई विचार गरेर अघि बढ्नेहरू मात्र जलवायु संकटलाई आत्मसात गर्दै अगाडि बढ्न सक्षम हुनेछन्।
प्रकाशित: २ कार्तिक २०८१ ०५:५९ शुक्रबार