सम्पादकीय

विद्यालयमा रमाए राउटे बालबालिका

राउटे समुदायमा औपचारिक शिक्षा अनौठो कुरा हो। स्थायी बसोबास पनि उनीहरूको रुचिको विषय होइन। अन्य समाजसँग घुलमिल गर्ने र खेतीपाती गर्नु पनि उनीहरूको संस्कार होइन। खासगरी अस्थायी प्रकृतिको आवासस्थल बनाएर जंगलमा बसोबास गर्नु र निश्चित समयपछि पुनः अस्थायी बस्ती सार्नु यो समुदायको विशेषता हो। त्यसैले यो समुदायमा पढालेखा व्यक्ति पाउन मुस्किल पर्छ भन्दा अत्युक्ति हुँदैन।

गत शुक्रबार भने दैलेखको गुराँस गाउँपालिका–१ स्थित खड्काबाडाको शारदा आधारभूत विद्यालयमा एउटा अनौठो दृश्य देखा पर्‍यो। जहाँ ३० जना राउटे बालबालिका विद्यालयमा आए। वरिपरि नियाले। अरू समुदायका विद्यार्थीसँग भलाकुसारी गरे। पढ्ने मनसाय व्यक्त गरे। अनि अरू विद्यार्थी र शिक्षिका/शिक्षकसँगै तस्बिर पनि खिचाए। खड्काबाडा सोही पालिकाको मैनीखोलाबाट करिब आधा घण्टाको दूरीमा पर्छ जहाँ केही समयदेखि राउटेहरूको एउटा समूह बसोबास गरिरहेको छ। उनीहरूले विद्यार्थी र गुरुहरूसँग आफूहरूलाई पढ्न मन लागे पनि समुदायका मुखियाबाट अनुमति नपाएको गुनासो गरे । त्यति मात्र हैन, मुखियाको यो पुस्ता रहेसम्म विद्यालय आएर पढ्न सम्भव नहुने धारणा पनि व्यक्त गरे।  साक्षात्कारमा व्यक्त गरेका धारणाबाट प्रष्टै बुझिन्थ्यो कि उनीहरू पढ्न चाहन्छन् तर मुखियाहरू बाधक छन्। आफूहरू बालबालिका नै भएकाले यो तगारो तत्कालै छिचोल्न नसक्ने संकेत पनि उनीहरूको थियो।

यो घटनापछि राउटे बालबालिका भोलिपल्टैदेखि विद्यालय नियमित आएर पढिहाल्छन् भन्ने हैन। तर एकमुष्ठरूपमा जम्मा भएर विद्यालयसम्म आउनु र पढाइप्रति रुचि देखाउनु पनि यो समुदायको विशेषतासामु ससानै किन नहोस् ‘क्रान्ति’ नै हो भन्दा अचम्म मान्नुपर्दैन। यसरी विद्यालय परिसरसम्म आउन अनुमतिका लागि पनि यो समुदायका मुखियासँग ठूलै अनुनय/विनय गर्नुपरेको थियो। जसका लागि राउटे समुदायसँग काम गरिरहेको सोसेक नेपाल नामक संस्थालाई धन्यवाद दिनु उचित हुनेछ।

त्यसो त यो संस्थाले यी राउटे बालबालिकालाई बस्ती भन्दा पर लगेर खेलाउने नाममा पढ्न सिकाउने काम पनि गरिरहेको छ । त्यसैले केही बालबालिका सामान्य लेखपढ गर्न पनि जान्दछन्। बस्ती र नजिकै पढाउँदा मुखियाहरूले अनुमति नदिने भएकाले पढाउनकै लागि खेलाउने नाममा टाढा लैजाने यो संस्थाको रणनीति पनि प्रशंसालायक छ।

राउटे नेपालको अन्तिम फिरन्ते लोपोन्मुख जाति हो। परम्परागत घुमन्ते जीवनशैली अपनाउने यो आदिवासी समुदाय नेपाली मात्र नभई विदेशीका लागिसमेत चासो र जिज्ञासाको विषय बन्दै आएको छ। खासगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पाइने राउटेको जनसंख्या विक्रम संवत् २०७८ को जनगणनाअनुसार ५६६ छ । जसमा पुरुष २८९ जना छन् भने महिलाको संख्या २७७ छ। जसमध्ये कर्णाली प्रदेशमा १४७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा ४१९ जना छन्।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गरिएको ‘घुमन्ते–फिरन्ते लोपोन्मुख आदिवासी जनजाति राउटेको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन, २०८१’ अनुसार यो समुदायमा ६ देखि १२ वर्षका २६ प्रतिशत छन्। जसमा बालक १९ जना छन् भने बालिका १६ जना छन्। तर कुनै पनि बालबालिका औपचारिक वा अनौपचारिक शिक्षाको पहुँचमा छैनन्। जबकि पढ्न सुरु गर्ने अर्थात विद्यालय जाने मुख्य उमेर नै यही हो। यो अवस्थाले देखाउँछ कि आधारभूत शिक्षा सबैले सहज र सर्वसुलभ ढंगले पाउनुपर्ने नेपालको संवैधानिक व्यवस्थाबाट समेत यो समुदाय वञ्चित छ।

अहिले एउटा संस्थाको पहलमा राउटे बालबालिकालाई विद्यालयसम्म ल्याउन मुखियाहरूबाट जुन अनुमति मिलेको छ, त्यो पनि चानचुने सफलता पक्कै होइन। आगामी दिनमा यस्तो प्रयासलाई जारी राख्ने र उनीहरूलाई सम्झाइबुझाइ गरिरहने हो भने ती बालबालिका विद्यालय नियमित आएर पठ्नपाठनमा संलग्न हुने सम्भावना खासै टाढा देखिन्न। त्यसैले एउटा लोपोन्मुख फिरन्ते समुदायका बालबालिकाको यो शैक्षिक अभिरुचिलाई फलदायी तुल्याउन सम्बन्धित सबै पक्ष लागिपर्नुपर्छ। भनाइ नै छ– एउटा राम्रो सुरुवात नै आधा उपलब्धि हो।

प्रकाशित: १० भाद्र २०८१ ०६:०४ सोमबार

#Raute