सम्पादकीय

थामेले बजाएको खतराको घण्टी

शुक्रबार हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५मा सामान्य खोलामा गेग्रानसहित आएको ठुलो बाढीले थामे गाउँ नै बगाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको हेलिकोप्टर फुटेजका अनुसार लेदोसहितको बाढी दुईवटा हिमताल फुटेर आएको पुष्टि भएको छ। बाढी दिउँसो आएका कारण मानवीय क्षति नभए पनि यो बाढीले सात घर, पाँच होटल, थामे आधारभूत विद्यालयको छात्रावास र क्लिनिक पनि क्षतिग्रस्त भएको छ।

अप्रत्यासित आएको बाढीले सुन्दर गाउँका नापनक्सा नै कुरूप बनाएको छ। यो विपत्ले प्राकृतिक प्रकोपसामु हामी कति निरीह छौ भन्ने पुनः पुष्टि भएको छ। केही वर्षअघि मात्र सिन्धुपाल्चोकको मेलम्ची र गएको वर्ष मुस्ताङको कागबेनीमा आएको यस्तै बाढीले ठुलो मात्रामा आर्थिक नोक्सानी गरेको थियो। क्षतिका हिसाबले थामेमा आएको बाढीलाई तुलनात्मक रूपमा कम आँक्न सकिएला तर यसले देखाएको संकेत भने भयावह छ। यो घटनाबाट हाम्रा उच्च पहाडी क्षेत्र प्राकृतिक विपत् र जलवायु परिवर्तनको सम्भावित कारणले कति जोखिममा छन् भन्ने प्रमाणित भएको छ।

थामे खोलाको माथिल्लो तटीय क्षेत्रमा कैयौं हिमताल र ससाना पोखरी छन्। हेलिकोप्टर निरीक्षणमा टासिलाप्चा आधार शिविरनजिकै रहेका ताल फुटेर बाढी आएको देखिएको छ। त्यस क्षेत्रमा पछिल्ला दिनमा परेको पानी र बढेको तापक्रम दुवैका कारण हिमताल फुटेको हुन सक्ने जल तथा मौसम विज्ञान विभागको तर्क छ। दोलखा र सोलुखुम्बुको सिमाना भएर बग्ने थामे दुधकोसी नदीको सहायक खोला हो। थामेमा विपत् आएको यो पहिलो घटना भने होइन। स्थानीयका अनुसार २०४२ साउन २० गते दिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना बगाएको थियो। त्यतिबेला ३० वटा घर, १४ वटा पुल बगाउनुका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएका थिए।

विश्वव्यापी रूपमा तापमान वृद्धिका कारण नेपालको हिमाली क्षेत्रमा हिमताल र पोखरीको संख्या बढेका छन्। हिमतालको आकार बढेको छ। हिमपहिरो जाने क्रम बढ्दो छ। हिमनदीको क्षेत्रफल र घनत्व घटेको छ। हिउँले ढकमक्क ढाकिने हिमालहरूमा हिउँ क्रमशः घट्न थालेका छन्। छाया वर्ष क्षेत्र अर्थात् रेन स्याडो मानिने हिमालपारिका जिल्लामा समेत वर्षाले सताउन थालेको छ।

यी समग्र घटनाक्रम भविष्यका लागि पटक्कै सुखद छैनन्। किनभने जलवायु परिवर्तनले विपत् भविष्यवाणीको हाम्रो पुरानो ज्ञान प्रणालीमा चुनौती थपिदिएको छ। हिजो पानी कम पर्ने ठाउँमा असिनासहितको अनवरत वर्षा हुन थालेको छ, बाढी कहिल्यै नभोगेको पुस्ता बाढीबाटै विस्थापित हुनुपरेको छ। यस्तो नदेखेको मात्र होइन, कल्पनासमेत नगरेको दुर्घटनाबाट सबैभन्दा बढी पहाडी र हिमाली क्षेत्रका जनता पीडित हुनुपरेको छ। तर मानव सिर्जित यो विपत्मा आइलागेको अर्को आपत्चाहिँ के छ भने यस्ता सम्भावित जोखिम क्षेत्रबारे हामीकहाँ न पर्याप्त अध्ययन, अनुसन्धान भएका छन् न जोखिमकै आकलन गरिएको छ। यस्ता विपत्सँग जुध्न हामीकहाँ पर्याप्त स्रोतसाधन मात्र नभएर तयारी पनि छैन।

हो, पृथ्वीको तापमान बढाउन नेपालको नगण्य योगदान छ। तर तितो वास्तविकता, जलवायुजन्य विपत्को जोखिममा हामी नै अग्रपंक्तिमा छौं। जलवायु परिवर्तनले हाम्रो अर्थतन्त्र र जीवनयापनमा समेत प्रभाव पार्न थालेको छ। यो सन्दर्भमा हामीले विश्व समुदायमा जलवायु न्यायका लागि आफ्ना आवाज अझ बढी मुखरित गर्नुपर्ने बेला आएको छ। संकट थेग्न सक्ने क्षमताको हिसाबले नेपाल कमजोर रहेको सन्दर्भमा विश्व समुदायले नेपालको अनुकूलन क्षमता बढाउन सहयोग गर्नुपर्छ। सँगै जलवायुजन्य विपत्ले निम्त्याएको हानिनोक्सानीको क्षतिपूर्तिमा समेत नेपाललाई विश्व समुदायको सहयोग आवश्यक भएकोमा हामीले जोडदार वकालत गर्नुपर्छ। आर्थिक तथा वित्तीय हिसाबले कमजोर राष्ट्रले जलवायु परिवर्तनले ल्याएका ठुला चुनौतीसँग लड्ने क्षमता राख्दैनन् भन्ने तथ्य सबैले मनन गर्नुपर्छ।

यतिबेला नेपालले जलवायु संकटको सामना गर्न एकसाथ दुईवटा लडाइँ लड्नु छ। एउटा आफैसँग र अर्को विश्व समुदायसँग। जलवायु कूटनीतिमार्फत नेपालले आफूले भोगिरहेको र सम्भावित संकट र त्यसविरुद्ध लड्न विश्वको ध्यान आकर्षित गर्न सक्छ। विकसित देशहरूलाई जिम्मेवार बनाउन नेपालले आफूजस्ता देशहरूको नेतृत्व पनि गर्न सक्छ। यसका निम्ति हामीले यसै वर्ष मात्र नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको विचारलाई मनन गर्नुपर्छ। जलवायुजन्य संकटबाट विश्वमा परेको असरको प्रमाण खोज्न नेपालको हिमाली क्षेत्रको भ्रमण गरेका उनले यस विषयमा अत्यन्तै संवेदनशील हुन विश्व समाज र नेपाल सरकारलाई समेत आह्वान गरेका थिए।

विपत् आइपर्दा जुटेजस्तो गर्ने तर त्यसअघिपछि बेवास्ता गर्ने हाम्रो राज्य संयन्त्रको कार्यशैलीमा पटक्कै सुधार हुन सकेको छैन। शासक त सधैं सत्ताकै भागदौडमा व्यस्त भएको हामीले देखेकै छौं। ढिलै भए पनि हामीले नबुझी सुखै छैन्, जलवायु संकट अहिलेका सबैखाले संकटमध्ये सबैभन्दा ठुलो संकट हो, महासंकट हो। यसविरुद्धको संघर्षमा पनि हामीलाई त्यस्तै महाएकता र महागठबन्धनको आवश्यकता छ। नत्र हार निश्चित छ। 

प्रकाशित: २ भाद्र २०८१ ०५:५६ आइतबार

# sampadakiya # Thamele Bajayeko Khatarako Ghanti