राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल यतिबेला राजनीतिक वृत्तमा व्यापक चर्चामा छन्। आफूलाई दिएको जिम्मेवारीअनुसारको प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तुले उनलाई संस्थापनबाट निकै टाढा पुर्याएको छ। उनको प्रतिवेदनले एकातिर रास्वपाको टाउको दुखाएको छ भने महामन्त्रीबाटै निलम्बित हुनुपरेको छ। ढकाललाई दुत्कार्न र पार्टी अध्यक्ष रवि लामिछाने निकट हुन दलभित्रै यतिबेला होडबाजी भइरहेको छ। यसले एउटा दलभित्र हुनुपर्ने जीवन्त छलफललाई बेवास्ता गरेको अनुभूति सर्वत्र भइरहेको छ।
अहिले रास्वपामा देखिएको रडाकोलाई बुझ्न इलाम क्षेत्र नं. २ को निर्वाचनतर्फ फर्कनुपर्ने हुन्छ। जहाँ जित्ने दाबीका साथ उठाइएका रास्वपाका उम्मेदवारको जमानत जफत भएको थियो। यही घटनापछि रास्वपाले महामन्त्री ढकाललाई ‘समीक्षा यात्रा’ मा खटाएको थियो। उनको मुख्य कार्यादेश थियो-जनस्तरमा रास्वपाको नाडी छाम्नु। त्यसैले जेठ ६ देखि असार ५ गतेसम्म उनले ३८ वटा जिल्ला भ्रमण गरे। रास्वपाबारे जनता के भन्छन् भन्ने कोसेली ल्याए र यसलाई प्रतिवेदनका रूपमा पार्टीसमक्ष पेस गरे। तर, त्यो कोसेली नभएर रडाकोको पोको सावित भयो।
निर्वाचनमा आफूले सोचे जस्तो परिणाम नआएपछि त्यसको कारण खोतल्नु आगामी कार्यदिशाका लागि निकै उपयोगी अभ्यास हो। यसका लागि तयार भएर यो दलले आफूलाई लोकतान्त्रिक अभ्यासमा लगाएको पनि हो। यसै क्रममा समीक्षा यात्रामा पठाइएका नेता ढकालले खुलेर ‘जे देखियो, त्यही लेखियो’ शैली अपनाएका हुन्। गलतलाई पनि सही भनेर ‘रफु भर्नु’ भन्दा यथार्थ विवरण प्रस्तुत गर्नु उनले दलका निम्ति गरेको न्याय हो। जनस्तरमा देखिएको रास्वपाको यही वास्तविक तस्बिर प्रस्तुत गर्नु नै ढकालका निम्ति कारवाहीको कारक बनेको छ। दाग अनुहारमा लागेको थियो, ऐना पुछेर के हुन्थ्यो र?
तितो सत्य स्वीकार्ने व्यक्ति नै यथार्थमा नेता हो। आफूले चाहेजस्तो मात्रै सुन्नु नेता होइन ‘बादशाहको नयाँ पोशाक’ को पुनरावृत्ति मात्र हो। त्यही प्रवृत्तिका कारण ढकालको प्रतिवेदन पार्टी अध्यक्ष रवि लामिछाने र उनको ‘किचेन क्याबिनेट’ स्वीकार्य भएन। यही कारण दलभित्र भाँडभैलो भएको छ। यसले यस दलको नेतृत्व आम नागरिकबीच नराम्ररी उदांगिएको छ। यसले यो दलका मतदाता मात्र हैन, शुभचिन्तक समेतलाई ननिको लाग्ने अवस्था सिर्जना गरेको छ। नयाँ दलले मुलुकको राजनीतिमा नयाँ संस्कृति भित्र्याउँछ भन्ने आम अपेक्षामा तुषारापात भएको छ।
मुकुलले आफ्नो यात्राको निष्कर्ष ‘घण्टीमा कालो बादल मडारिएको’ प्रतीकात्मक वाक्यांशद्वारा अभिव्यक्त गरेका छन्। अनि पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्न गम्भीर प्रश्न गरेका छन् र गम्भीर र संवेदनशील प्रश्नका अगाडि हामी खडा छौँ भन्दै सुझाएका पनि छन् -पार्टी जोगाउन ‘सशक्त’ निर्णय लिनुपर्छ। उनैले सार्वजनिक गरेका यो निष्कर्ष हेर्दा लाग्छ, यत्तिकै आधारमा उनीमाथि कारबाही हुनु अधिनायकवादी झलक देखिन्छ। आफू सम्बद्ध, आफूले माया गर्ने पार्टीप्रति एउटा सामान्य सदस्यले त चिन्ता जाहेर गर्न पाउँछ भने महामन्त्री जस्तो मान्छेले यति भन्ने हैसियत पनि राख्दैन? साँच्चै यस्तो हो भने रास्वपा दल नबनिसकेको प्रष्ट हुन्छ।
नेपालका ठूला दल भनिने कांग्रेस, एमाले, माओवादी मात्र हैन, राप्रपा, मधेसकेन्द्रित दल आदिमा नेतृत्वको आलोचना गर्नेलाई पाखा लगाइँदै आइएको सत्य हो। जस्तो– यतिबेला पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरेबापत एमाले नेता भीम रावल किनारमा पुर्याइएका छन् कतिपय त पार्टीमा बस्नै नसकेर छाडी पनि सके। त्यसैगरी माओवादीमा पनि अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नेहरू त्यहाँ टिक्न सक्ने अवस्था छैन भने कांग्रेसमा पनि देउवाको विरोध गर्नेहरू स्वतः पाखा लाग्ने अवस्था छ। मधेसी दलमा त यस्तो पक्षपात झनै बढी छ। यस्तो परिवेशमा निकै तामझामका साथ नयाँपन दिने आश्वासनको पोको बोकेर आएको रास्वपा नेतृत्वको यो रवैयाले उनीहरू त यो मामलामा झन् पुराना पार्टीभन्दा पनि निर्दयी रहेछन् भन्ने आमबुझाइ बनेको छ।
आलोचना ग्रहण गर्ने शक्ति र स्वच्छ प्रतिस्पर्धा लोकतन्त्रका गहना हुन्। यिनलाई पचाउन नसक्दा अनुदारवादी अनुहार छर्लङ्ग हुन्छ। त्यसैले आफ्नै महामन्त्रीले पार्टीको वास्तविक स्थितिबारे पेस गरेका प्रतिवेदनलाई गम्भीर रूपमा लिनुको सट्टा उल्टै उनीमाथि प्रतिशोध साँध्ने जुनखाले हर्कत यतिबेला रास्वपामा पलाएको छ, त्यसले रास्वपालाई त जनताबाट झनै टाढा पुर्याउँछ नै, साथै उसले आगामी दिनमा अरूमाथि उठाउने प्रश्नमा पनि नैतिक संकट सिर्जना गर्छ। भविश्यमा कसैले पनि सत्य बोल्ने आँट गर्ने छैनन्। सत्यको घाँटी निमोठ्न थालेपछि चाकडी र चाप्लुसी मात्र दलको चरित्र बन्ने निश्चित छ।
प्रकाशित: २१ असार २०८१ ०५:०७ शुक्रबार