कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापनाको विषयमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको बताएको छ। पार्टीको शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सत्ता प्राप्त नहुन्जेल राजसंस्था र हिन्दुराष्ट्रका लागि भन्दै आन्दोलनको कुरा गर्ने तर सत्ता पाएपछि सबै कुरा बिर्सने राप्रपा दोहोरो चरित्रको उपज भएको आरोप पनि लगाइएको छ। यस्तो प्रवृत्तिलाई उदांगो गर्नेलगायत उद्देश्यका साथ पार्टीले आगामी फागुन ७–९ सम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने र चैतदेखि भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिका निम्ति निर्णायक जनआन्दोलन गर्ने घोषणा पनि गरेको छ।
अझैसम्म नाममा प्रजातन्त्र राखेका यी दुवै दलका मुख्य राजनीतिक मुद्दा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना बन्दै आएका छन्। रोचक त के छ भने यी दुवै राप्रपा आफूलाई अजेन्डाका आधिकारिक उत्तराधिकारी मान्छन्। आफू होइन अर्को राप्रपा नक्कली, झेली भएको दाबी गरिरहन्छन्। तीन वर्षअघि महाधिवेशनमा थापालाई हराउँदै लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भए। थापालाई हार यति अप्रत्यासित थियो कि उनले यसमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका देखे। आफूले राजसंस्था पुनःस्थापनाका लागि यति लामो लडाइँ लडेको तर राजाले अहिले उल्टै आफूलाई हराउन षड्यन्त्र गरेको समेत बताए। उता राप्रपा नेता–कार्यकर्तामा भने थापामाथि ज्ञानेन्द्रको शासनकालमा गृहमन्त्री बनाइएका थापामाथि गणतन्त्रपछिका सरकारहरूमा पनि गएकाले राजा र राजावादीलाई धोका दिएको आरोप थियो। लामो समय हार सहन नसकेर थापाले राप्रपा नेपाल गठन गरे। एक वर्षअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लिङ्देन पनि उपप्रधानमन्त्री बने।
राजनीतिलाई थोरै नियाल्नेलाई पनि थाहा हुन्छ, मुलुक प्रजातन्त्र प्राप्तिपछि २०४७ सालमा गठित पूर्वपञ्च संगठित यो दल स्थापनाकालदेखि नै पद र प्रतिष्ठाको लोभमा विभाजनको रोगबाट ग्रस्त रह्यो। संस्थापक अध्यक्ष सूर्यबहादुर थापा लामो समय यसका सूत्रधार रहे। लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती, राजेश्वर देवकोटा, रोशन कार्कीलगायत नेताको दल अदलबदलको कुनै टुंगो हुँदैनथ्यो। सबैले राप्रपालाई नै पार्टीको नाम अपनाए पनि गाई, हलो, थापा, चन्द, प्रजातान्त्रिक, राष्ट्रवादी, नेपालजस्ता फुर्का जोडेर नयाँ पार्टी गठन गर्नु उनीहरूका लागि अनौठो थिएन, भएन।
वास्तविकता के हो भने, राजा र हिन्दुराष्ट्र फर्काउन चाहनेका लागि सबैभन्दा ठुलो शक्ति भनेको जनादेश हो, जुन दुवैथरीका राप्रपासँग छैन। पटकपटकका निर्वाचनहरूले यसलाई पुष्टि गरिसकेका छन्। त्यति हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिमा परम्परा र रूढी विचारलाई सम्बोधन गर्न भन्दै राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रका नाममा राजनीति गरिरहेको छ, जुन अहिलेका लागि असम्भवप्रायः छ भन्नेमा नेताहरूमै पनि आशंका छैन। त्यसैले राजसंस्था यो नारा राप्रपाका लागि सत्ता र शक्तिका वैशाखी मात्र हुन्।
त्यसो त अहिले पनि समयसमयमा राप्रपा मात्र होइन, स्वघोषित केही मौसमी नेताहरू पनि राजा र हिन्दुराष्ट्र फर्काउने कुरा गर्छन्। ‘राजा आऊ, देश बचाऊ’ भन्दै कुर्लन्छन्। तीमध्ये अधिकांशको पृष्ठभूमि हेर्ने हो भने पञ्चायती शासन व्यवस्थाबाटै पालितपोषित, लाभान्वित पात्र र उनीहरूका सन्तान नै हुने गरेका छन्। विडम्बनाचाहिँ के भने प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नै नेतृत्वमा पिता महेन्द्र शैलीमा शासनको अभ्याससमेत गरेका पूर्वराजा ज्ञानेन्द्रसमेत कहिलेकाहिँ यो भिडको उक्साहटमा रोमाञ्चक भइरहेका भेटिन्छन्। सरकारले र जनपरम्पराले सांस्कृतिक रूपमा दिएको सम्मानलाई उनले राजनीतिक बनाउने चेष्टा गरिरहेका देखिन्छन्।
राप्रपा र राजावादी पात्रसँगै देशभित्र एउटा तप्का छ, जो दक्षिणी छिमेकीतर्फ हेरेर चाँडै नै नेपालको शासनव्यवस्थामा हिन्दुराष्ट्र र राजा पुनःस्थापित हुनेमा आशा पालेर बसेको छ। निश्चित छ, यो सोचमा हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनले ठुलो धक्का दिएको छ, जहाँ भारतीय जनता पार्टी (भाजपा) को दबदबा तोडिएको छ। र, आफूलाई अपराजेय सम्राट र जैविक उत्पादन नभई परमात्माको अंश ठान्ने नरेन्द्र मोदीसमेत गठबन्धन सरकार बनाउन बाध्य भएका छन्। हिन्दुत्वको राजनीति गर्नेहरूलाई वर्षौंसम्म स्तब्ध पार्ने अर्को दुर्भाग्य पनि यही चुनावमा भएको छ, जहाँ रामराज्य अयोध्यामै भाजपाको लज्जास्पद पराजय भयो। भगवान् रामको मन्दिर प्राण–प्रतिष्ठालाई आफ्नो प्रमुख चुनावी अजेन्डा बनाएको भाजपाका लागि यो हार पार्टीको मात्र होइन, हिन्दुत्वकै हारमा रूपमा यतिबेला व्याख्या भइरहेको छ। भारतको निर्वाचन नेपालका हिन्दुत्ववादी राजनीतिक शक्ति राप्रपाका साथै अन्य पात्र र प्रवृत्तिलाई गतिलो पाठ हो र हुनुपर्छ।
भ्रम नरहोस्, नेपालमा कसैले राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सक्छन् भने ती नेपाली जनता हुन्। यथार्थचाहिँ जनता यतिबेला गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको व्यावहारिक अभ्यासमा जुटेका छन्। गरिबीसँग संघर्ष गर्दै समृद्धितर्फको सकसपूर्ण यात्रामा छन्। आसेपासे पुँजीवाद, संस्थागत भ्रष्टाचार र चटके राजनीतिको सास्तीबाट मुक्ति खोजिरहेका छन्। आज शासन गरिरहेका लोकतान्त्रिक भनिएका दलहरूले जनताका यी आधारभूत समस्या समाधान गरिरहेका छैनन् भन्ने लाग्छ भने राप्रपा, राजावादीजस्ता समूहले तत्कालका लागि आफ्ना सिद्धान्तलाई थाती राखेर जनताका यिनै समस्यामाथि राजनीति गर्नुपर्छ। निरंकुश वंशवादका पर्याय राजालाई पुनः गद्दीसीन बनाएर जनतालाई पुनः रैती बनाउन होइन, जनता मालिक भएको लोकतान्त्रिक शासनमा भरोसा गर्नुपर्छ। खती निम्त्याउने अतीतमोह भविष्यका लागि सुखद हुन सक्दैन।
प्रकाशित: २ असार २०८१ ०६:०९ आइतबार