सम्पादकीय

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन। यातायात प्रयोजनकै लागि निर्माण भएको यो मार्ग यही कारण नेपालको विकास इतिहासमा कोसेढुंगा साबित हुन पुगेको हो।

यो मार्ग छिचोलिएको संयोग यस्तो परेको छ कि जति बेला नेपालीहरू नयाँ वर्षको हर्षोल्लासमा थिए। यही नव वर्ष उत्सवमा यो घटनाले थप उत्साह थपेको छ। विक्रम संवत् २०७९ को सुरुतिर मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सञ्चालनमा आएको थियो। त्यसैगरी त्यसको केही समयपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । यसरी हरेक वर्ष कम्तीमा पनि एउटा गर्वलायक विकास आयोजना सम्पन्न हुँदै जाने हो भने नेपालले विकासमा छलाङ मार्न बेर छैन। यस अर्थमा नव वर्ष २०८१ ले सुरुमै दिएको यो सकारात्मक उपहारलाई निरन्तरता दिन सक्नुपर्छ।

हुन त यो सुरुङ मार्गको लम्बाइ मात्र दुई हजार ६ सय ८८ मिटर (२.७ किलोमिटर) मात्र हो तर यसको लम्बाइ, चौडाइ र पार गर्न लाग्ने अवधि, लागत महँगो कि सस्तो जस्ता विभिन्न पक्षमा बहस गर्नुभन्दा पनि मुख्य कुरा नेपाल व्यावसायिक सुरुङ मार्गमा प्रवेश ग¥यो भन्ने हो । त्यसैले पनि यो कार्य सबै नेपालीको गौरवसँग जोडिएको छ। थुप्रै राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा छन् हाम्रो देशमा। जसको प्रगति खबर खासै उत्साहजनक छैन। यस्तो अवस्थामा यो सुरुङ मार्गले सफलता चुम्नु आफैँमा गर्वलायक पक्ष हो।

यो सुरुङ मार्गले काठमाडौँ उपत्यका भित्रिने दुरी २.८ किलोमिटर घटाउने जानकारी दिइएको छ । यो सुरुङ मार्ग प्रयोग गरेर काठमाडौँ आउँदा ३३ मिनेट र काठमाडौँबाहिर जाँदा २३ मिनेट बचत हुनेछ। २०७६ कात्तिकबाट निर्माण थालिएको यो आयोजनाका लागि सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो। करिब २२ अर्ब रुपैयाँ लागतको यो आयोजना सम्झौतामा उल्लेख मितिभन्दा केही ढिलो सम्पन्न भएको हो।

विश्वका विभिन्न मुलुक विकासमा चमत्कार देखाउन प्रतिस्पर्धात्मक ढंगले लागिपरेका छन्। विशेषगरी छिमेकी मुलुक चीनले विकास क्षेत्रमा गरेको चमत्कार बाँकी विश्वसँगै हामीलाई पनि हौस्याउन काफी छ। त्यसैगरी अर्को छिमेकी भारतले गरेको विकास पनि उत्तिकै लोभलाग्दो छ। तर यी दुई विशाल छिमेकीबीच रहेको फुच्चे नेपाल भने यो क्षेत्रमा निकै पछि देखिएको छ। त्यसैले जसरी अहिले सुरुङ मार्गमा नेपालले ‘ब्रेक थ्रु’ गर्‍यो अब यसैलाई आधार घटना मानेर आगामी दिनहरूमा समग्र विकासमा ब्रेक थ्रु गर्ने वाचा आजैबाट गर्नुपर्छ। त्यसो भएमा मात्र हामी पनि छिमेकीका अगाडि शिर ठाडो पारेर उभिने आँट गर्न सक्षम हुने छौँ।

विकास निर्माण त्यस्तो चिज हो जसलाई अस्थिरता घाँडो हुन्छ। नेपालले यो क्षेत्रमा खासै प्रगति गर्न नसक्नुको मुख्य कारण पनि राजनीतिक अस्थिरता नै हो। अर्को कुरा राजनीतिक अस्थिरता नेपालको मात्र नभएर दक्षिण एसियाका सबै देशको रोग हो तर पनि अरू देशले यो अस्थिरतालाई थाती राखेर भए पनि विकास निर्माणको कामलाई अघि बढाएका देखिएको छ। यस्तो अवस्थालाई आत्मसात गर्दै नेपाली नेताहरूले कम्तीमा पनि विकासका कार्यमा सहमति र सहकार्य गरेर अघि बढ्नैपर्छ। माथि उल्लेख भएझैँ प्रत्येक नयाँ वर्षमा यसैगरी कम्तीमा पनि एउटा नै किन नहोस्, विकासको ‘ब्रेक थ्रु’ गर्दै जान सकियो भने अवश्य पनि हाम्रो पछौटेपन डाँडो काट्नेछ। अहिलेलाई नव वर्षले नेताहरूलाई यत्ति सद्बुद्धि दिए काफी हुनेछ।

प्रकाशित: ५ वैशाख २०८१ ०५:५९ बुधबार

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको विकास इतिहास