सम्पादकीय

बाघ कूटनीति

पछिल्लोपटक नेपालमा विभिन्न बहानामा बाघ मार्ने र त्यसलाई ठूलै पुरुषार्थ गरेको ठान्ने परिपाटी विकास भएको छ। कहीँ मान्छेलाई आक्रमण गरेका रिसमा त कहीँचाहिँ बाख्रा खाइदिएको तथा पशुपन्छीलाई देखिनसहेको आक्रोशमा बाघ मार्ने गरेको पाइन्छ। उसले खान लागेको मासुमा विष हालेर उसैलाई सिध्याइदिने र खुच्च्युँ भन्ने मानसिकता पनि निकै उच्च देखिएको छ।

बाघ दुर्लभको सूचीतर्फ लम्कँदै गएको जीव हो। विश्वको पारिस्थितिकीय चक्र सुचारु हुनका लागि अरू चिज जस्तै बाघको पनि ठूलो भूमिका छ। खासमा यो धर्तीमा उत्पन्न भएका जति पनि वनस्पति, जीव वा कीटपतंग छन्, ती सबै आवश्यकता भएरै प्रकृतिले सिर्जना गरेको बुझ्नुपर्छ। त्यसैले यो धर्तीका सबैको अस्तित्व स्वीकार गर्नु एकाअर्काका लागि हितकर हुन्छ।

यसरी हेर्दा आवेगमा आएर कुनै पनि प्राणीको हत्या गर्नु उचित हुँदैन। अझ बाघको हत्या त हाम्रा लागि प्रत्युत्पादक नै हुने बाघविज्ञहरूको दाबी छ। खासमा बाघले खाना खोज्नु, सुरक्षित आवास खोज्नु र अन्य आवश्यकता परिपूर्तिका लागि आफ्ना गतिविधि जारी राख्नु हाम्रा लागि खतरा हुन सक्छ तर त्यो उसका लागि स्वाभाविक हुन सक्छ किनकि बाँच्ने, खाने र सुरक्षित तवरले गरिखान पाउने अधिकार प्राणीको पनि हुन्छ। यसलाई मानवले आफ्नो मात्र अधिकारका रूपमा बुझ्न थाल्यो भने त्यसले अन्याय जन्माउँछ। अहिले बाघप्रति मान्छे आक्रामक हुनु यही सोचको विसंगति हो।

गर्ने के त भन्ने प्रश्न पनि उठ्न सक्छ। यदि बाघबाट मानिस वा उसले पालेका पशुपन्छीमाथि खतरा आइलाग्यो भने त्यसको ‘व्यवस्थापन’ गर्ने हो। न कि एउटा प्राणीलाई सिध्याइदिने। यो त सरासर प्राणीमाथिको अन्याय हुन जान्छ। यस्तो अवस्थामा गर्ने भनेकै बाघ–मानव द्वन्द्वको व्यवस्थापन हो।

नेपालमा तीन सय ५० भन्दा बढी बाघ रहेको अनुमान गरिन्छ। यो अन्य देशको तुलनामा निकै राम्रो संख्या हो। तर अर्को नराम्रो कुरा यो छ कि विगत पाँच वर्षमा ५० भन्दा बढी बाघ विभिन्न आरोपमा मारिए। बाघको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले हरेक वर्ष जुलाइ २९ का दिन विश्व बाघ दिवस नै मनाइन्छ। गत वर्षको बाघ दिवसको नारा नै ‘मानव–बाघ सहअस्तित्व’ थियो। यसबाट पनि थाहा हुन्छ कि मान्छे र बाघबीच दुश्मनी बढ्दै गएको छ र ‘बुद्धिमान’ भएकाले मान्छेले नै यस्तो अवस्था अन्त्यका लागि व्यवस्थापनरूपी औजार प्रयोग गरेर समाधान पनि गर्न सक्छ।

बाघमा पनि पाटेचाहिँ एकदमै कम मुलुकमा मात्र पाइन्छ। जस्तो–म्यानमार, भारत, चीन, भुटान भियतनाम, लाओस जस्ता थप केही देशमा मात्र यस्ता बाघ पाइन्छ। सन् २०२२ सम्ममा विश्वभर बाघको संख्या चार हजार पाँच सय रहेको तथ्यांक छ। जोसँग जे छैन, त्यसैको चाह बढी हुनु मानवीय स्वभाव नै हो। त्यसैले बाघबिहीन धेरै देश आफ्नो मुलुकमा पनि बाघ प्रवेश गराएर गर्व गर्ने अवसरको खोजीमा छन्।

नेपालले बाघबारे सोच्नुपर्ने मुख्य पाटो यही हो। जस्तो–अफ्रिकामा हात्ती धेरै भएकाले उसले अरू देशलाई हात्ती उपहार दिएर सम्बन्ध सुधार गर्ने वा आफ्नो मुलुकमा नभएका अन्य दुर्लभ प्राणी साटासाट गर्न गर्न सक्छ। त्यसैले नेपालले पनि अब आफूसँग भएको बाघ दिएर सम्बन्ध कसिलो बनाउने वा नभएका अन्य प्राणी, चिजबिज साट्न सकिन्छ। यसका लागि बाघ मार्ने हैन, बढाउनतर्फ लाग्नुपर्छ। यसो गरियो भने ‘बाघ कूटनीति’ कुनैबेला नेपालका लागि निकै फलदायी रणनीति बन्न सक्छ।

प्रकाशित: २२ चैत्र २०८० ०६:२९ बिहीबार

दुर्लभ बाघ पुरुषार्थ