सम्पादकीय

दाइजोका दलदलमा देश

विवाहमा दुलहीका बाबु/आमाले आफ्नी छोरीलाई दिएर पठाउने धन/सम्पत्ति हो दाइजो। गोडधुवा पनि समावेश हुने यसअन्तर्गत कपडा, गहना, फर्निचरलगायत अन्य सम्पत्ति पनि हुने गर्छ। विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।

यसरी हेर्दा उनको घर/परिवारका अन्य सदस्यले समेत प्रयोग गरे पनि खासमा दाइजो नवदुलहीको जीवनचर्या सहज बनाउने एकसूत्रीय उद्देश्यसँग मात्र सामीप्य राख्छ। त्यसैले आफ्नी छोरीलाई के के आवश्यक पर्छ वा के के दिन मन लाग्छ भन्ने पूर्ण अधिकार बाबु/आमा वा माइती पक्षमा निहीत हुन्छ। त्यसैगरी आफ्नो माइतीसँग के के अपेक्षा राख्ने भन्ने अधिकार दुलहीलाई मात्र। यसरी हेर्दा दाइजो शब्द दुलही र उनको माइती पक्षसँग मात्र सम्बन्धित छ।

विडम्बना, दाइजोलाई नेपाली समाजमा वर पक्षले अधिकारका रूपमा ग्रहण गर्दा विकृत बन्दै गएको छ। दुलहीका रूपमा स्वीकार गर्नै दाइजो कति दिने, के के दिने भनेर मोलमोलाइ गर्ने चलन छ। अझ तराई क्षेत्रमा त दाइजो नगदका रूपमा समेत दिर्नुपर्ने चलन धेरैतिर छ। दुलाहाको पढाइ, धन/सम्पत्ति, जागिर र पद जस्ता आधारमा नगद दाइजो कति दिने भन्ने निक्र्यौल गरिन्छ। यही कारण विवाहका लागि दाइजो घाँडो बन्दै आएको छ। दाइजोको विकृति पहाडी क्षेत्रमा पनि नभएको होइन। कति सुनचाँदी दुलही पक्षबाट प्राप्त भयो भनी र्‍याल काढ्ने प्रवृत्ति पहाडी समुदायमा पनि छ।

गएको सोमबार बाराको कलैया उपमहानगरपालिका–४ का एक दुलाहाले सुनको सिक्री नपाएको भन्दै बिहे नै रद्द गरेको घटना अहिले चर्चित भएको छ। यस घटनामा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिकसमेत गरेको छ। बिहेअघि नै नगद १२ लाख रूपैयाँ, मोटरसाइकल खरिद गर्न तीन लाख २५ हजार रूपैयाँ, ल्यापटप, सुनको औँठी र सुनकै हनुमानी माला लिइसकेको बेहुली पक्षले बताएका छन्। केही दिनअघि मात्र पर्साको विन्दबासिनी गाउँपालिका–४ को मधवल टोलमा भोजमा माछा नखुवाएको भन्दा बेहुला पक्षधरले बेहुली पक्षधरलाई कुटपिट नै गरे। यी दुई घटना ताजा भएर मात्र यहाँ उल्लेख गरिएको हो। अन्य कैयौँ यस्ता घटना छन् जसले दाइजो, भोज, सम्पत्ति जस्ता विषय उठान गरेर समाजमा विसंगति हुर्काइरहेका छन्।

नेपालमा अझै पनि बाल विवाह कायमै छ। र, यसको एउटा प्रमुख कारण दाइजो पनि हो। छोरीलाई धेरै उमेर हुने बेलासम्म राख्यो भने दाइजो बढी दिनुपर्ने भयले खासगरी तराई क्षेत्रमा उमेरै नपुगी बिहे गरिदिने चलन छ। यसरी सानै उमेरमा बिहे गर्दा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याले सताउने गरेको छ। चाँडै बच्चा जन्माउनुपर्ने, घर/व्यवहार सम्हाल्नुपर्ने, सकी/नसकी आमा/बुहारी/श्रीमतीको भूमिका निर्वाह गर्नुपर्ने जस्ता कारण उनीहरू आफ्नो भविष्य कोर्नबाट वञ्चित हुन्छन्। सानैमा बिहे गरेर पराइघर जानुपरेपछि पढाइ पनि छुट्छ। यसरी छोरीको जिन्दगी अभावै अभावको आहालमा फस्ने गरेको छ।

अर्कोतर्फ जति धेरै पढायो, दुलाहा छोरीले भन्दा बढी पढेको खोज्नुपर्ने आममान्यता छ। अनि जति बढी पढेको वा ठूलो पदमा पुगेको दुलाहा हुन्छ, उसलाई त्यति नै धेरै दाइजो दिनुपर्ने बाध्यता हुन्छ। यो दाइजोका नाममा केटा किन्नुपर्ने अवस्था हो। यही कारण पनि पढाइ छोरीहरूका लागि ‘बोझ’ बन्ने गरेको छ। छोरीलाई दाइजो दिने मात्र हैन, छोराको आउने दाइजोको हिसाबकिताबसमेत सामान्य हुने गरेको छ समाजमा। जसले हामी बाँचेको संसार चिनाउन मद्दत गर्छ।

अझ माथि उल्लिखित दुई घटनामा त बिहेमा असर परेको मात्र हो। कतिपय अवस्थामा दाइजो नल्याएको, ल्याए पनि थोरै ल्याएको, पहिले दिने कबुल गरेर पनि नदिएको, कमसल दिएको जस्ता कारण नवदुलहीलाई घरमा यातना दिने, गाली गर्ने, खान नदिने जस्ता घटना सार्वजनिक हुँदै आएका छन्। कतिपय घटनामा त नवदुलहीको मृत्यु÷हत्याको मुख्य कारणसमेत बन्दै आएको छ दाइजो। त्यसैले दाइजो नेपाली समाजमा महिला हिंसाका खतरनाक हतियारका रूपमा दुरूपयोग हुँदै आएको छ।

जहाँसम्म बाबु/आमाले छोरीलाई दिन पाउने सवाल छ, त्यो जहिले जसरी जे दिए पनि हुन्छ। बिहे नै, त्यो पनि सबैले देख्नेगरी नै दिनुचाहिँ छोरीप्रतिको मायाभन्दा पनि आडम्बर प्रदर्शन मात्र हो। सभ्य र शिक्षित समाजका लागि एकरत्ति पनि नसुहाउँदो दाइजो प्रथालाई कानुनमार्फत नै पूर्ण निषेध गरिनुपर्छ। यसका लागि जनचेतना र यस्ता कुकृत्यमा संलग्नलाई सजाय नै सबैभन्दा प्रभावकारी उपाय हुन सक्छ। 

प्रकाशित: १ चैत्र २०८० ०६:०८ बिहीबार

विवाह छोरी धन/सम्पत्ति दाइजो दैनिकी सहज सुखदायी घर/परिवार