सम्पादकीय

सिमेन्टको सुसमाचार

भूपरिवेष्ठित नेपाल प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ। आर्थिक मेरुदण्ड कृषि भएको यो मुलुकले केही वर्षअघिसम्म कृषिजन्य पदार्थ निर्यात गर्दै आएको पनि हो। तर जति पछि भयो उति उति कृषिप्रति देखिएको विकर्षणका कारण उत्पादनमा बर्सेनि कमी आइरहेको छ। विशेषगरी युवाहरू रोजगारीका लागि विदेशिने क्रमसँगै गाउँहरू रित्तिनु कृषि ओरालो लाग्नुको मुख्य कारण हो। यसैले गर्दा आफ्नो दैनिक खाद्यान्न पूर्ति गर्नसमेत छिमेकी र अन्य देशबाट अन्न भित्र्याउनुपर्ने अवस्थाले व्यापार घाटा बढाउन सघाएको छ।

व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक। दिनदहाडै विमानस्थलबाट सुन भित्रिन्छन्। लागुऔषधको कारोबार खुलेयाम हुन्छ। सरकारी आहरूमा घूस नदिइ काम हुन्न। हरेक क्षेत्र बिचौलियाका कारण ध्वस्त छ। प्रक्रियाका नाममा हुने चलखेलले सर्वसाधारण आक्रान्त छन्। कुनै पनि ठाउँमा नीति र कानुनले काम गरिरहेको छैन। यस्तो अवस्थाले चौतर्फी निराशा मात्र जन्माएको छ। त्यसैले सम्पूर्ण नेपाली असफल राष्ट्रको सूचीमा पुग्न नपरोस् भन्ने कामना गरिरहेका छन्।

यस्तै निराशाबीच एउटा सुखद खबर सार्वजनिक भएको छ– सिमेन्ट निर्यातको बढ्दो ग्राफ। चालु आर्थिक वर्षको सात महिनामा अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा सात गुणाले नेपाली सिमेन्ट निर्यात बढ्नु साँच्चै मिठो खबर हो। आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा दुई अर्ब ६ करोड रूपैयाँको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ जबकि अघिल्लो एक वर्षमा ७७ करोड ९३ लाख रुपियाँको मात्र निर्यात भएको थियो। सम्पूर्ण आर्थिक सूचकहरू नकारात्मक देखिएका बेला सिमेन्ट निर्यातले देखाएको यो हिसाब सकारात्मक संकेत हो।

उसै त नेपालको निर्यात व्यापार चिन्तालाग्दो छ। त्यसमा पनि यो क्रमशः ओरालो लागिरहेको छ। गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो आर्थिक वर्षको पहिलो सात महिनामा समग्र निर्यात सात प्रतिशतले घटेको छ। यसरी घट्दो निर्यातले मुलुकको आर्थिक अवस्थामा धावा  बोलिरहेका बेला सिमेन्ट निर्यातमा देखिएको तथ्यांक पक्कै पनि आशाको सञ्चार गराउन काफी छ। गत वर्ष मासिक सरदर ६ करोड रूपैयाँको सिमेन्ट निर्यात भएकामा अहिले यो बढेर मासिक २९ करोड रूपैयाँ पुग्नु मुलुककै लागि सुसमाचार हो।

नेपालबाट पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबलीलगायत नाम गरेका सिमेन्ट भारतमा निर्यात हुँदै आएको छ। स्थानीय चुनढुंगा प्रयोग गरिने भएकाले यहाँको सिमेन्टमा आकर्षण धेरै हुने र यही कारण भारतीयको रोजाइमा नेपाली सिमेन्ट पर्ने गरेको छ। भारतीय पक्षको बढ्दो मागका कारण यो वर्ष करिब पाँच अर्ब रूपैयाँको सिमेन्ट भारततर्फ निर्यात गर्ने लक्ष्य सिमेन्ट उद्यमीले राखेका छन्। चौतर्फीरूपमा घाटा बढ्दै गएका बेला उद्यमीमा देखिएको यो उत्साह पक्कै पनि मुलुकका लागि गर्वलायक छ।

सिमेन्ट निर्यातमा देखिएको सकारात्मकताले प्रष्ट पारेको विषय के हो भने सरकारी नीति सही भएमा र उद्यमीका पीरमर्का बुझेर सोहीअनुरूप वातावरण बनाइदिएमा नेपाली उद्योग क्षेत्र र उद्यमी पनि विदेश निर्यात गर्ने स्तरीय सामग्री उत्पादन गर्न सक्षम छन्। सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई  आठ प्रतिशतसम्म नगद अनुदान र १० करोड रुपियाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छूट दिने नीति लागु गरेको छ। जसको भरपुर उपयोग सिमेन्ट उद्योगले गरिरहेका छन्। अहिले सिमेन्ट उत्पादन गर्ने उद्यमीहरू हौसिनु र निर्यात बढ्नुको मुख्य कारण पनि यही हो।

नेपालका सिमेन्ट उद्योगको वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ। जबकि वार्षिकरूपमा स्वदेशी बजारले खपत गर्ने माग भनेको मात्र एक करोड २० लाख टन हो। यसरी हेर्दा सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात गर्ने सम्भावना छ। उद्यमीहरू पनि आफूहरूलाई केही थप सहुलियत मिल्ने हो भने वार्षिक एक खर्ब ५० अर्ब रुपियाँ बराबरको सिमेन्ट निर्यात गर्न सकिने बताइरहेका छन्। उनीहरू यसरी हौसिनु भनेको घाउमा मलम लगाउने प्रयासका रूपमा बुझ्नु उचित हुनेछ।

यतिबेला सिमेन्टमा बहुनिकायले विभिन्न कर लगाउँदा उद्यमीले दोहोरो÷तेहोरो कर तिर्नुपरिरहेको छ। अर्कोतर्फ अहिले विद्युत्मा कर छूटका लागि दिइएको सीमा बढी भएको र प्रतिशत पनि कम भएको उद्यमीको गुनासो छ। यसबाहेक मौसमी अप्ठेरा र स्वार्थी अवरोधहरू पनि चुनौतीका रूपमा देखिएका छन्। यस्ता चुनौती समाधानका लागि सरकारले सहयोग गर्ने र सबै पक्ष मिलेर उपयुक्त वातावरण बनाउने हो भने नेपालको सिमेन्ट उद्योग हाम्रो बढ्दो व्यापार घाटा समाधान गर्न कोसेढुंगा सावित हुनेमा शंका छैन।

नेपालसँग सिमाना जोडिएका भारतको उत्तर प्रदेश र बिहार सिमेन्टका राम्रा बजार हुन सक्ने प्रमाणित भइसकेको छ। एकातिर उनीहरू गुणस्तरीय सिमेन्टको खोजीमा छन् र नेपालको सिमेन्ट रुचाइरहेका छन्। अर्कोतर्फ हाम्रा सिमेन्ट उद्योग भने बजार अभावमा आफ्ना कारखाना पूर्णरूपमा सञ्चालन गर्न सकिरहेका छैनन्। उत्पादित सबै सामग्री बजारमा जाने सुनिश्चितता अभावमा उद्योगहरू पूर्णरूपमा चलेका छैनन्। यस्तो अवस्थामा यसको असर केही व्यापारीलाई मात्र परेको नभइ सिंगो मुलुकको अर्थतन्त्रमा परिरहेको छ। त्यसैले सरकारले यो वास्तविकता आत्मसात गरेर अघि बढेमा क्रमशः ओरालो लागेको नेपाली अर्थतन्त्रलाई सिमेन्टले थोरै भए पनि थाँक्रोको काम गर्न सक्छ। 

प्रकाशित: २१ फाल्गुन २०८० ०५:५७ सोमबार

Download Nagarik App
Download Nagarik App