प्रायः हात्तीका बारेमा एउटा लोककथा सबैले सम्झेको हुनुपर्छ। दृष्टिविहीन व्यक्तिले हात्तीलाई छाम्दा कसैले थामजस्तो, कसैले नाङ्लोजस्तो ठानेका थिए। यथार्थ जीवनमा पनि हात्तीलाई सबैले गलतरूपमै बुझ्ने गरेको देखिन्छ। हात्तीलाई हाम्रो जीवनको समग्रताबाट बाहिर राखेर हेर्न सकिँदैन। यो विशाल जनावर जैविक विविधताका लागि त अत्यावश्यक छ नै, साथै पर्यटन क्षेत्रका लागि पनि उत्तिकै महत्त्वको हुन पुगेको छ। विशेषगरी हात्ती हेर्नकै लागि बर्सेनि पर्यटक सात समुद्रपारिको मुलुकसमेत धाउँछन्। त्यसैले यो स्वदेशी मात्र नभई विदेशी मुद्रासमेत आर्जनको स्रोत पनि बनेको छ।
शायद हात्तीको यस्तै बहुआयामिक भूमिका बुझेर होला कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गत बुधबारदेखि सुरु गरेको साताव्यापी हात्तीमैत्री पदयात्रा पूरा गरेका छन्। हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ। भनाइको मतलब मुख्यमन्त्रीको यो पदयात्राले एकातिर हात्ती जोगाउने अर्कोतिर मान्छे र बालीको पनि संरक्षण गर्ने उपाय खोजी गरेको छ।
भारतको आसामदेखि नेपालको कोसी टप्पुसम्म स्वतन्त्रतवरले विचरण गर्दै आएका छन् हात्ती। यो तिनको परम्परागत चरिचरन हो। खासमा यसो गर्नु उनीहरूको पुख्र्यौली थितिका रूपमा बुझ्न सकिन्छ। सीमावारि र पारिका भन्दै मानिसबीच विभिन्न समयमा तनाव, झगडा भए पनि हात्तीबीच यस्तो द्वेष कहिल्यै देखिएन। यस अर्थमा सीमाको बन्धनले नछेक्ने प्राणी हो हात्ती। यो अर्थमा हात्तीलाई बुझ्न सकियो भने सीमाका नाममा हुने बखेडा निर्मूल गर्न सकिनेछ र हात्ती जस्तै मनमौजी भएर जीवनलाई सन्तुष्ट तुल्याउन सकिन्छ।
हात्ती करिडोर जीवजन्तु अधिकारको संरक्षणका लागि मात्र महत्त्वपूर्ण हैन, यसले मुलुकको आर्थिक उन्नतिमा पनि भरथेग गर्छ भन्ने उदाहरण चितवनको सौराहा नै बनेको छ जहाँ दैनिक सयौँ मानिस हात्ती हेर्न, चढ्न र तिनैसँग रमाउन पुग्छन्। हात्ती पालेरै आम्दानी गर्ने र केहीलाई रोजगारी दिनेसमेत छन् अन्यत्र पनि। यसरी हेर्दा मुख्यमन्त्रीले अहिले हात्तीको बहुउपयोगिता बुझेर जुन पहलकदमी चालेका छन्, त्यो उचित छ। साथै सान्दर्भिक पनि।
हात्तीमैत्री पदयात्रा आफैँमा नौलो अभ्यास पनि हो। प्रदेशको मुखियाका रूपमा रहने मुख्यमन्त्री नै हात्तीको नाम जप्दै सुरक्षाकर्मीसहितको लावालस्करमा निस्कँदा यसले आमजनमानसमा जुन उत्सुकता पैदा गर्छ, त्यसले हात्ती हाम्रो शत्रु नभई मित्र जीव रहेछ भन्ने भावना विकास गराउँछ। यस्तो भावनाले हात्तीको विनाश हैन, संरक्षण गर्नुपर्ने शिक्षा दिन्छ। शायद, मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्राको मुख्य लक्ष्य पनि यही हुनुपर्छ।
हात्तीपीडित थुप्रै छन् हात्ती करिडोर परिसरमा। उनीहरूमध्ये केहीको घर भत्काइदिएको छ, केहीको करङ भाँचिदिएको छ, केहीको गोठबाटै पाल्तु पशु उठाएर लगिदिएको छ, अनि केहीलाई चाहिँ सुँढले निमोठनामोठ पारेर बेहोसै तुल्याइदिएको छ। तर यति हुँदाहुँदै पनि हात्तीलाई माया गर्ने र यसलाई अवोध पशुले आफू बाँच्नका लागि गरेको संघर्षका बुझ्ने दयालु पनि भेटिन्छन् उक्त क्षेत्रमा। त्यसैले उनीहरू हात्तीलाई सरापेर बस्नु भन्दा हात्तीले नखाने, नाश नगर्ने बाली लगाउनतर्फ मोडिएका छन्। हात्तीबाट बच्ने नयाँ प्रविधि र जुक्ति अपनाउन थालेका छन्। पर्यावरणप्रेमीका नजरमा यो एकदमै राम्रो संकेत हो। त्यसो त हात्तीले गर्ने क्षतिको बिमा पनि गरिदिएको प्रदेश सरकारले। घर बिमाको योजना पनि अघि सारेको छ।
हो, हात्तीको पनि बस्ने ठाउँ हो या धर्ती। त्यसैले उसलाई लखेटेर वा मारेर हामी मात्र बस्छौँ भन्नु शठपन मात्र हुनेछ। त्यसैले हात्तीले मानवको नाश नगर्ने कुरा सोच्न सक्दैन तर मानवले भने हात्तीको नाश नगर्ने कुरा बुझ्न सक्छ। यही कुरा बुझ्ने भएकैले मानवको जिम्मेवारीमा यसको संरक्षण पनि पर्छ। आफूलाई चेतनशील ठान्ने मानवले बाँकी प्राणीको हितका निम्ति जहिल्यै सोच्न तत्पर हुनुपर्छ। त्यसैले मानवको यही विशिष्ठतालाई आत्मसात गर्दै पृथ्वीका सम्पूर्ण प्राणाीको रक्षा गर्नु मानवको दायित्व हो भन्ने बिर्सनु हुन्न।
प्रकाशित: १६ फाल्गुन २०८० ०६:०७ बुधबार