सम्पादकीय

पढ्न नसकिने पाठ

कुनै पनि क्षेत्रका लागि पढाउन तोकिएको विषय वा त्यसको पूर्वापरक्रम हो पाठ्यक्रम। जसका आधारमा पाठ्यसामग्री तयार पारिन्छ। पाठ्यपुस्तकका रूपमा प्रत्येक शिक्षार्थीका हात–हातमा पुग्ने यस्ता सामग्रीले नै उसलाई दीक्षित गर्ने हो। सोझो अर्थमा भन्दा पाठ्यक्रम जस्तो बन्छ, त्यसैका आधारमा पाठ्यसामग्री निर्माण हुने भएकाले पाठ्यपुस्तक पनि त्यस्तै बन्छ। अनि पाठ्यपुस्तक जस्तो बनाइन्छ, त्यो पढ्नेले जान्ने/सिक्ने कुरा पनि त्यसमा जस्तो छ, त्यस्तै हुन्छ।

जसरी संविधान गलत भयो भने त्यसअन्तर्गत बन्ने नियम/कानुनहरू सही हुन सक्दैनन् त्यसैगरी पाठ्यक्रम गलत भएमा त्यसअन्तर्गत बन्ने पाठ्यसामग्री पनि गलत नै हुन्छन्। यसरी हेर्दा सर्वप्रथम पाठ्यक्रम सही हुनुपर्छ। यस्तो पाठ्यक्रमले मात्र शिक्षित, नैतिकवान, अनुशासित र कर्तव्यपरायण व्यक्ति निर्माण गर्न सक्छ। खासमा शिक्षाको मुख्य उद्देश्य पनि यही हो। भविष्यका कर्णधार भनिने जनशक्तिलाई सही बाटोमा लगाउने महत्त्वपूर्ण जिम्मेवारीसमेत भएकाले पाठ्यक्रमलाई गलत हुने सुविधा हुँदैन।

तर विडम्बना, नेपालको विद्यालय तहको पाठ्यक्रममा यही नहुनुपर्ने कमजोरी देखापरेको छ। पाठ्यपुस्तक अडिटसम्बन्धी एक प्रतिवेदनले नै विद्यालय स्तरको पाठ्यपुस्तकमा महिला र अल्पसंख्यकलाई उपेक्षा गरिएको जनाएको छ।

पाठ्यपुस्तकमा समावेश गरिएका पात्रमध्ये ८५ प्रतिशत पुरुष रहेको पाइनुले पनि यस्तो उपेक्षा पुष्टि हुन्छ। यसैगरी पाठ्यपुस्तक लेखकहरूमा महिला १६ प्रतिशत मात्र रहेको पनि अध्ययनले देखाएको छ।

एकातिर लैंगिक पक्षमा यसरी उपेक्षा गरिएको छ भने अर्कोतर्फ दलित, मधेसी, अल्पसंख्यक आदि आधारमा पनि पाठ्यपुस्तक पक्षपाती देखिएका छन्। जसअनुसार पाठ्यपुस्तकमा असन्तुलित प्रतिनिधित्व, लैंगिकताप्रति परम्परागत अवधारणा र समावेशिताका क्षेत्रमा महिला र अल्पसंख्यकलाई कमजोररूपमा प्रस्तुत गर्ने प्रयास भएको अध्ययनले देखाएको छ।

त्यति मात्र हैन, तथ्यगत त्रुटिहरू पनि थुप्रै फेला पारेको छ अध्ययनले। जस्तो– कक्षा १० को सामाजिक अध्ययन विषयमा बाँदर र बाघ जर्मनीमा पाइने उल्लेख छ। जबकि सामान्य नेपालीलाई पनि थाहा छ कि यी दुवै हेर्न र देख्न जर्मनी त के नजिकैको भारत पनि जानुपर्दैन, नेपालमै प्रशस्त पाइन्छ।

यसरी हेर्दा अहिले नेपालका विद्यालयमा पढाइने पाठ्यपुस्तक आफैँ कति दूषित रहेछन् भन्ने पुष्टि हुन्छ। साथै यस्ता पाठ्यपुस्तक पढेर विद्यार्थीले के सिक्लान् र भविष्यका कर्णधार होलान् कि नहोलान् भन्ने प्रश्नचिह्नसमेत खडा भएको छ।

समावेशिता नेपालको मात्र नभएर विश्वकै जल्दोबल्दो माग हो जसले सीमान्तकृतलाई स्रोत/साधनको पहुँचमा पुर्‍याउन सघाउँछ। त्यसैगरी अल्पसंख्यकलाई समानताको यात्रामा अग्रसर गराउँछ। अनि धार्मिक, लैंगिक, वर्ण, भूगोल, जात, रङ जस्ता विभिन्न आधारमा हुने/गरिने विभेदलाई निमिट्यान्न पार्न उद्यत् हुन्छ। त्यसैले नेपालले पनि समावेशिताको अभ्यास गरिरहेको हो। समानुपातिकता समावेशितालाई नै मलजल गर्ने हजारी हो।

यसको मतलब समावेशिता र समानुपातिकता कुनै त्यस्तो मन्त्र हैन जुन जप्दैमा प्राप्त हुने विश्वास गरिन्छ। यो त व्यवहारमा देखिने कुरा हो। त्यसैले जति व्यवहारको कसीमा रट्न सकियो यो उति उति तिखारिने हुन्छ र धारिलो हुँदै जान्छ। यही कारण व्यक्ति, संस्था र मुलुकको व्यवहारमा हेर्ने गरिन्छ यसको प्रभावलाई। तर सबैभन्दा तल्लो तहको मानिने विद्यालय शिक्षामै समावेशिता र समानुपातिकताको विषयमा यस्ता कमजोरी देखिनुले हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तकको निर्मम समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।

पहिलो त नेपालको पाठ्यक्रम नै गरिखानेखालको छैन। दोस्रो, भएकै पाठ्यपुस्तकमा पनि थुप्रै कमजोरी छन्। चाहे त्यो विषयवस्तुमा होस् वा भाषिकरूपमा, तथ्यगत पक्षमा होस् या प्रस्तुतिमा। त्यसैले पाठ्यपुस्तक भन्दासाथ विद्यार्थीको जाँगर मर्छ। पाठ्यक्रम र पाठ्य सामग्रीले विद्यार्थीमा उत्साह भर्न सक्नु पर्छ। त्यो रमाइलो सिकाइ अभ्यास हुनु। त्यसैले यस्तो अवस्थामा नेपालको समग्र पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा गर्नुपर्छ। त्यति मात्र हैन, अहिले देखिएका गल्ती कसबाट भए भन्ने पत्तो लगाएर तिनलाई सजायसमेत गर्नुपर्छ।  

प्रकाशित: १३ फाल्गुन २०८० ०५:०५ आइतबार

पढ्न नसकिने पाठ शिक्षाको मुख्य उद्देश्य