सम्पादकीय

मानवता बचाऊ !

नेपालमा दिनानुदिन अपराधका नयाँ नयाँ प्रकरण देखापरिरहेका छन्। दाजुभाइबीच अंशबन्डाका लागि झगडा र हत्या, छिमेकीको पशुले आफ्नो बाली खाइदिएको आरोपमा हत्या, पत्नी परपुरुषसँग लागेको आरोपमा हत्या र हुँदाहुँदा आफूलाई घुरेर हेरेको निहुँमा समेत हत्या भइरहेका घटना सार्वजनिक भइरहेका छन्। यस्तै परिवेशमा बुधबारमात्र सार्वजनिक ‘इज्जत जोगाउन भन्दै आफ्नै छोरीको हत्या’ (अनर किलिङ) खबरले हामी अझै पनि कस्तो घिनलाग्दो सोच र दुनियाँमा बाँचिरहेका छौँ भन्ने पुष्टि गरेको छ।

प्रहरीले बाराको फेटा गाउँपालिका–१, त्रिवेणी टोलका हरिन्द्र महतोलाई आफ्नै छोरी कोशिलाकुमारीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। हत्या गर्नुपर्नाको कारण भने ती किशोरीले दलित युवासँग प्रेम गर्नु रहेको उनका बाबुको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ। गत साउन ११ गते घटना भए पनि उल्टै बाबुले छोरी हराएको बहाना गरेर अपराध छिपाउन खोजेको प्रहरी दाबी छ।

यो घटनाले केही महत्त्वपूर्ण पक्ष उजागर गरेको छ। पहिलो कुरा त हामी हत्या जस्तो विषयलाई पनि कति सामान्य ठान्दै गइरहेका छौँ भन्ने हो। त्यसमाथि आफ्नै छोरीप्रति पनि यति निष्ठुर हुन सक्नुले मानवीयताको खडेरीले शिखर चुम्न लागेको बुझ्न सकिन्छ। जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।

ती किशोरीले कुनै युवकसँग प्रेम गरिछिन् नै भने पनि यसमा के अपराध भयो ? अनि प्रेम गर्ने व्यक्ति कुनै जात, वर्ण, सम्प्रदाय, भूगोल र परिवेशको हुनुसँग इज्जतको के सम्बन्ध हुन्छ ? यस्ता प्रश्नको उत्तर अब खोजिनुपर्छ र यसलाई व्यापक बहसको विषय बनाउनुपर्छ। त्यति मात्र हैन, अब इज्जतको पनि परिभाषा प्रष्ट पार्नु जरुरी भएको छ। के इज्जत कुनै लिंगको ठेक्का हो ? वा कुनै व्यक्तिको तत्तत् अंगमा बस्ने चिज हो ? हैन भने किन विशेषगरी महिला/किशोरी र उनीहरूका पनि केही सीमित अंगलाई इज्जतसँग जोडिन्छ? खासमा अब यसबारे चूप लागेर बस्न मिल्दैन।

अहिले हरिन्द्रमाथि अनुसन्धान हुँदैछ। प्रमाणहरूले दोषी ठहर्‍याए भने उनले कानुनी सजाय पाउने नै छन्। तर यहाँ कुरा न हरिन्द्रको मात्र हो न त अनाहकमा मारिनुपरेकी उनकै छोरी कोशिलाकुमारीकै मात्र। किशोरावस्थामा उक्लँदै गरेका लाखौँ छोरीका सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि पनि अब यस्ता विषय सहन सकिँदैन। त्यति मात्र हैन, आफ्ना सन्तानभन्दा बनावटी र देखावटी इज्जत ठूलो ठान्ने लाखौँ हरिन्द्ररूपी बाउहरूलाई निद्राबाट ब्युँझाउन पनि अब ढिला गर्नुहुँदैन। त्यसैले यस्ता विषयमा व्यापक बहस जरुरी भइसकेको छ।

उसै पनि लैंगिक हिंसाका घटनामा मधेस प्रदेश अग्रणी स्थानमा छ। आर्थिक वर्ष २०७९/८० मा मुलुकभर यस्ता घटना ३३५७ वटा दर्ता भएकामा सबैभन्दा बढी कोसी प्रदेशमा ७८७ थिए भने दोस्रोमा लुम्बिनी ५१३ र त्यसपछि तेस्रोमा मधेस प्रदेश ४५६ थिए। जसमध्ये ८८.२ प्रतिशत घटनाका अभियुक्त चिनजानकै व्यक्ति थिए। यसरी प्रहरीको तथ्यांकबाट पनि थाहा हुन्छ कि विशेषगरी छोरीहरू आफन्तबाटै बढी असुरक्षित छन् र यस्तो समस्याबाट मधेस प्रदेश बढी भयभित छ।

मधेस प्रदेश भूमिहीनता, दयनीय स्वास्थ्य अवस्था, कमजोर शैक्षिक चेतना जस्ता अभावै अभावले सम्पन्न प्रदेश हो भन्दा फरक पर्दैन। मुलुकमै सबैभन्दा बढी दलित समुदाय बसोबास गर्ने सिरहा र सप्तरी पनि यही प्रदेशमा छन् जो गरिबी र सीमान्तकृतको पर्यायका रूपमा बाँच्न विवश छन्। पहाडी दलितको तुलनामा मधेसी दलितको अवस्था झनै दयनीय छ। यस्तो अवस्थामा अझै पनि थुप्र्रै कोशिलाकुमारीहरूको ज्यान खतरामा छ। र, यस्तै कारण प्रेम प्रसंगमा जोडिएका व्यक्तिहरूसमेत जोखिममा पर्ने सम्भावना उत्तिकै छ।

त्यसैले सबैतिर र विशेषगरी मधेस प्रदेशलाई केन्द्रित गरेर ‘अनर किलिङ’, जातीय विभेद, यस्ता विषयसँग सम्बन्धित कानुनी पक्ष र हुन सक्ने सजायबारे विशेष कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। विशेषगरी सञ्चार माध्यम यसका लागि उपयुक्त हुन सक्छन्। र, यो काम संघीयभन्दा पनि प्रदेश र पालिका सरकारको प्राथमिकतामा पर्नुपर्छ। आफ्नो गाउँठाउँको परिवेश र आवश्यकता थाहा हुने भएकाले उनीहरू नै यस्ता समस्या समाधानका लागि मुख्य कर्ता ठहरिन सक्छन्। यसो भएमात्र इज्जतका नाममा हुने अपराध न्यूनीकरण हुन सक्छ। अन्यथा, यस्ता घटना दोहोरिने खतरा रहिरहन्छ।

प्रकाशित: १२ माघ २०८० ००:२१ शुक्रबार

नेपाल अपराध अंशबन्डा झगडा छिमेकी पशु बाली खाइदिएको घटना सार्वजनिक प्रहरी कोशिलाकुमारी जातीय विभेद