सम्पादकीय

वैदेशिक रोजगारीको विकल्प

राल्फाकालीन एउटा गीतको पंक्ति निकै चर्चित थियो– ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ।’ आज पनि मुलुकको अवस्था यस्तै छ– विदेश हिँड्नेको ताँतीले बस्नेको मन उस्तै गरी रुवाएको छ। मुलुकले राजनीतिक व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा कुनै परिवर्तन आएको छैन। 

त्यही अवस्था परिवर्तन नहुँदा आज प्रत्येक युवा देशप्रति विमुख हुँदै विदेश जान तत्पर हुन थालेका छन्। सामान्यतः विगतमा चाडवाडका बेला जसरी पनि घर फर्कने चलन थियो। अहिले त्यो चलन पनि विस्तारै हराउन थालेको छ। जिन्दगीका समस्याको समाधान खोज्न चाडवाडका मुखमा पनि नेपाली विदेशिन थालेपछि अवस्था निकै गम्भीर भएको महसुस भएको छ।

वैदेशिक रोजगारीका निम्ति दसैँको मुखमा यही असोजमा मात्रै ५६ हजार २ सय ३५ युवा विदेश गएका छन्। यो तथ्यांक यस आर्थिक वर्षको सबैभन्दा ठूलो हो। त्यसमा पनि मुख्य चाडकै मुखमा पनि विदेशिनुलाई युवाले प्राथमिकतामा राखेका छन्। वास्तवमा हाम्रो मुलुकको अवस्था कैयन् वर्षदेखि यस्तै छ। देशभित्रै गरिखान सक्ने अवस्था कमजोर भएको छ। त्यसैले युवाले आफू र आफ्नो परिवारको जीविकाका निम्ति जसरी पनि विदेशिनुपर्ने बाध्यता महसुस गर्न थालेका हुन्। देशभित्रै उद्योगधन्दा खुल्न सकेका छैनन्। प्रत्येक सरकारको सफलताको मापन भनेको कति रोजगारी सिर्जना गरियो भन्ने पक्ष हुनुपर्ने हो तर रोजगारी सिर्जना कसैको पनि चासोको विषय बन्न सकेको छैन।

कुनैबेला कृषि क्षेत्रले मात्र पनि धेरै ठूलो संख्यालाई देशमै अल्झाएको थियो। आफ्नो परिवारका निम्ति मात्रै पनि कृषि उत्पादन गर्दा त्यसले एक हदसम्म मुलुकलाई आत्मनिर्भर रहन योगदान गरेको हो। तर अहिले गलत नीतिका कारण नेपाललाई विदेशी कृषि वस्तुको उपभोक्ता मुलुकमा अनुदित गरिएको छ। सर्वसाधारणले विदेशका धुपमा गएर काम गर्ने र त्यसबाट पठाएको विप्रेषणबाट यहाँ परिवारले कृषि वस्तु उपभोग गर्ने अवस्था सिर्जना गरिएको छ। यसले एकातिर युवा जनशक्तिलाई विदेश जान वाध्य पारेको छ। यसको सामाजिक मूल्य धेरै ठूलो छ। घर÷परिवार छाडेर विदेश जानुपर्दा कसलाई पो खुसी लाग्छ र ? अर्कोतिर देशभित्रै उद्यमशीलताका निम्ति जनशक्ति अभाव हुने अवस्था सिर्जना गरेको छ। अहिले खेतबारीमा काम गर्ने मानिस नहुँदा अत्यावश्यक वस्तु आयात गर्नुपरेको छ।  

कुनै पनि मुलुकले कृषि क्षेत्रबाट आफूलाई सेवा क्षेत्रतर्फ उन्मुख गराउनु स्वाभाविक आर्थिक विकासको गति पनि हो। सेवा क्षेत्रमै रोजगारी सिर्जना गरेर देशको उत्पादकत्व वृद्धि गर्ने उपायतर्फ लागेको देखिएको छैन। कैयन् मुलुकले हिजो कृषिबाट आफूलाई वस्तु उत्पादक र क्रमशः सेवा क्षेत्रमा लगाएका छन्। हिजो मोटरगाडी बनाउने कम्पनी हुनुलाई आर्थिक वृद्धिको कारक मानिन्थ्यो भने आज सूचना प्रविधि क्षेत्रको सेवाबाट ठुल्ठूला कम्पनी बनेका छन्। गुगल, एक्स वा यस्तै ‘टेक जायन्ट’ अर्थात् ठूला प्रविधि कम्पनीले आफूलाई मात्र उन्नत स्तरमा राखेका छैनन्, सम्बन्धित देशहरूलाई पनि यसले आर्थिक उपार्जनको बाटो दिएका छन्। हाम्रो जस्तो मुलुकले शिक्षा क्षेत्रमा जोड दिँदै जनशक्तिलाई सूचना प्रविधिमा लगाउन नसक्ने होइन। तर त्यो हुन सकेको छैन। त्यसैले युवाले जसरी पनि पलायन हुनुपर्ने परिस्थिति सिर्जना गरिएको छ।

देशका युवालाई विदेशमा धकेलेर मात्र उन्नति गर्न सकिन्छ भन्ने ठानिएको छ भने त्यो सही रणनीति होइन। सही रणनीति त्यही हो, जसले अध्ययन र कामको खोजीमा युवाले विदेश मात्र ताक्नुपर्ने अवस्थामा सुधार गर्छ। दैनिकजसो युवालाई विदेश जान मात्र प्रेरित गरेर देशले कहिल्यै अपेक्षित उन्नति गर्न सक्दैन। दक्ष जनशक्तिलाई विदेश पठाएको भए बरु तिनीबाट देशले भने जति आम्दानी गर्न सक्ने थियो। उत्पादनका साधनमा जनशक्तिलाई सबै भन्दा महŒवपूर्ण मानिन्छ। यस्तो स्रोतलाई निर्यात गरेर मात्र देश सम्पन्न हुन सक्दैन।

अतः युवालाई विदेश पठाएर अहिले भइरहेको विप्रेषणमा रमाउने होइन, बरु यसको विकल्प खोज्नतिर लाग्नुपर्छ। निःसन्देह अहिले यसले सर्वसाधारणको आर्थिक हैसियत बढाएको छ। तर यत्तिमै रमाएर बस्ने होइन। अहिले विदेशिनेको ताँतीलाई रोक्न सकिएन भने जो पनि यसबाट भाग्नतिर मात्रै लाग्ने खतरा बढ्दो छ।  

प्रकाशित: १४ कार्तिक २०८० ००:२१ मंगलबार

वैदेशिक रोजगारीको विकल्प