सम्पादकीय

पालो गैरआवासीय नेपालीको

प्रधानमन्त्री पुष्पकमल दाहालबाट मंगलबार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता प्राप्त गरेसँगै गैरआवासीय नेपालीले लामो समयदेखि राख्दै आएका माग पूरा भएको छ। सबैजसो राजनीतिक दलले उनीहरूका माग पूरा गर्ने बताए पनि कार्यान्वयन बल्ल अहिले आएर भएको हो।

विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा उल्लेख छ। यसैका आधारमा अहिले गैरआवासीय नेपालीलाई नागरिकता दिइएको हो।

यस्तो नागरिकता पाएकाले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न नपाए पनि नेपालमा व्यवसाय गर्न र सम्पत्ति राख्न भने पाउने छन्। त्यसैले आफूसँग लगानीयोग्य रकम रहे पनि ढुक्कसँग लगानी गर्न नपाएको गुनासो गर्दै आएकाले अब स्थिति बदलिएको छ। अर्थात अहिलेसम्म लगानी गर्न नागरिकता अभाव नै मुख्य कारण बताउँदै आएकाहरू अब यो वा त्यो बहानामा नेपालमा लगानी गर्नबाट पन्छन पाउने छैनन्। र, पन्छिए भने त्यो उनीहरूको लगानी नगर्ने बहाना मात्र भएको पुष्टि हुनेछ।

‘विश्व नै एउटा गाउँ’ को अवधारणा झांगिरहेका बेला अवसर बढी पाउने ठाउँमा जानु स्वाभाविकै हो। यसरी विभिन्न देशमा पुगेर सम्पत्ति र सिप आर्जन गर्नेले निश्चित समयपछि आफ्नै मातृभूमि फर्केर उद्योग/व्यवसायमा लगानी गरेका थुप्रै उदाहरण छन्। जर्मनीबाट फर्केकाले टर्कीमा र अमेरिकाबाट फर्केकाले ताइवानमा गरेका लगानीले ती देशको अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको विभिन्न अध्ययनले देखाएका छन्। छिमेकी चीन र भारतको अवस्था पनि विदेशमा रहेका ती देशका नागरिकले स्वदेशमा आएर लगानी र काम गर्दा भिन्न परिणाम अनुभव भएकै छ।

त्यसैले विभिन्न मुलुकमा काम गर्ने, बसोबास गर्ने गैरआवासीय नेपालीले पनि आफूले त्यहाँ आर्जन गरेको पैसा र सिप मातृभूमिमा लगानी गर्ने उचित बेला आएको छ। कम्तीमा मातृभूमिको ऋण तिर्न पनि यो उपयुक्त मौकाको सदुपयोग गर्न सके मात्र अहिले उनीहरूका माग पूरा गर्नुको औचित्य सिद्ध हुन्छ।

हुन त एनआरएनए संघका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीले नागरिकता पाउनुलाई ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अभियान सार्थक भएकोसँग जोडेका छन्। त्यसैगरी अध्यक्ष कुल आचार्यले पनि यो कार्यले मुलुकबाहिर रहेका नेपालीलाई मातृभूमिसँग जोडेको बताएका छन्। उनीहरूको यो भनाइको तौल आगामी दिनमा गैरआवासीय नेपालीले मुलुकको समृद्धिका लागि गर्ने योगदानको तुलोमा नापिनेछ। यो भनाइमै सीमित रह्यो भने मातृभूमिप्रति उनीहरू बफादार नभएका पुष्टि हुन्छ।

कतिपयले गैरआवासीय नेपालीले खोजिरहेका दोहोरो नागरिकताप्रति नकारात्मक टीकाटिप्पणी पनि गर्ने गरेका छन्। नेपालमा भएको आफ्नो सम्पत्ति विदेश लैजान बाटो खुलाउने, विदेश र नेपाल दुवैतिरको सुविधा उपभोग गर्ने तथा सुविधाको दुरूपयोग गर्ने उद्देश्यले गैरआवासीय नागरिकता माग गरिएको आरोप लगाउनेहरू पनि देखिएका छन्। केही सांसदले नै यो कार्य अनुचित भएको टिप्पणीसमेत गरेका छन्।

कुनै पनि विषयमा सकारात्मक/नकारात्मक समीक्षा हुनु मानवीय स्वभाव हो। तर नकारात्मक टिप्पणी वा शंकालाई चिर्ने अभिभारा भने गैरआवासीय नेपालीको जिम्मामा छ। जसलाई उनीहरूले आफ्नो व्यवहार, काम र गतिविधिबाट गलत सावित गर्न सक्नुपर्छ। यसो भए मात्र आरोप लगाउनेहरू गलत ठहरिनेछन् भने गैरआवासीय नेपाली सही ठहरिनेछन्। र, उनीहरूको माग पूरा गर्न सरकारले लिएको पहलकदमीको पनि सराहना हुनेछ। आफ्नो मातृभूमिका सेवाका निम्ति तत्पर हुने यो उत्तम अवसर हो। 

प्रकाशित: १ कार्तिक २०८० ००:१७ बुधबार

पालो गैरआवासीय नेपालीको सरकारले लिएको पहलकदमी