सम्पादकीय

युद्ध विभीषिका

प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार बिहान झुक्याएर इजरायलमाथि गरेको आक्रमणको झड्का विश्वभर महसुस भइरहेको छ। ३ दिनयता मारिने इजरायली र प्यालेस्टिनीको संख्या बढिरहेको छ।अहिलेसम्म मारिनेको संख्या ११ सय पुगिसकेको छ। आजको विश्वव्यापीकरणको युगमा युद्ध संसारको जुनसुकै कुनामा भए पनि त्यसको बाछिटा जहाँसुकै पुग्छ। 

मध्यपूर्व यसको तनावमा अहिल्यै परिसकेको छ। इजरायललाई सघाउन अमेरिका, फ्रान्स र जर्मनी जस्ता पश्चिमा मुलुक तयार भइसकेका छन्। त्यसैगरी प्यालेस्टाइनलाई सघाउन अरब मुलुकको साथ र समर्थनको घोषणा भइसकेको छ। आणविक शक्तियुक्त इरानमा यसको पक्षमा जुलुस भइरहेका छन्।

प्यालेस्टाइन र इजरायलबीचको तनाव अहिलेको होइन।  ७५ वर्षदेखि यी २ मुलुक तनावमा बाँचिरहेका छन्। हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरिसकेका छन्। उनले भनेका छन्– ‘हाम्रा शत्रुले अहिलेसम्म नदेखेको शक्ति र तहमा उनीहरूविरुद्ध हामी युद्ध गर्ने छौं।’ इजरायली प्रत्याक्रमण सुरु भएपछि त्यसले ल्याउने क्षतिको अनुमान अहिल्यै गर्न सकिन्छ। इजरायली वा प्यालेस्टाइनीमध्ये जसको मृत्यु भए पनि आखिरमा त्यो मानवीय क्षति हो। युद्धले कसैको भलो गरेको छैन। आखिर त्यसले अनाहकमा जनधनको क्षति गर्छ। त्यसमा पनि दुई छिमेकविरुद्धको युद्धमा सर्वसाधारणले सबैभन्दा धेरै दुःख पाउँछन्। त्यसमा पनि युद्ध दुई देशबीच मात्र हुँदैन। यसले क्षेत्रीयरूपमा समेत अशान्ति पैदा गर्छ।

२ वर्षदेखि रुस र युक्रेनबीच युद्ध भइरहेको छ। त्यसले यी २ देशलाई मात्र पिरोलेको छैन। विश्वलाई धु्रवीकृत गरेको छ। युद्धकै कारण विश्वव्यापीरूपमा महँगी बढेको छ। युरोपको ‘खाद्यान्न डालो’ का रूपमा परिचित युक्रेनमा भएको आक्रमणले खाद्यान्न सहजरूपमा बजारमा जान सकेको छैन। सर्वसाधारणको जीवन समाप्त भएको छ। अन्तर्राष्ट्रियरूपमा तनाव बढेको छ। युद्धका निम्ति अन्तर्राष्ट्रिय क्षेत्रले खर्च गर्नुपरेको छ। भोकमरी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा खर्च गर्नुको सट्टा युद्धमा लगानी हुँदा त्यसले कसैलाई पनि भलो गर्दैन। यसले शक्ति राष्ट्रहरूको तुष्टि पूरा गरे पनि यथार्थमा सेवा÷सुविधा पाउनुपर्ने सर्वसाधारणको जीवनमा ताŒिवक असर पर्दैन। बरु यो तनावको स्थितिले विश्वव्यापीरूपमा प्रभाव पारिरहेको हुन्छ।

जेरुसलमलाई इसाई, मुस्लिम र यहुदी तीनै सम्प्रदायको पवित्र भूमि मानिन्छ। यही भूमिलाई प्रतिष्ठाको विषय बनाइ यतिका वर्षदेखि त्यहाँ युद्ध भइरहेको छ। आखिर धार्मिक सम्प्रदाय मानिसकै निम्ति हो। यस्ता विषयमा सहमति हुन नसक्दा अन्ततः सर्वसाधारणले दुःख पाउने अवस्था हुन्छ। राजनीतिक सुझबुझ र समझदारीबाट मात्र यस्ता समस्याको समाधान निकाल्न सकिन्छ। यतिका वर्षसम्म समस्याको समाधान हुन नसक्नु र अहिले आएर भीषण युद्ध हुनुले झनै चिन्ता सिर्जना गरेको छ। विगतमा भएका ठुल्ठूला युद्धका कारण संयुक्त राष्ट्रसंघ जन्मिएको भए पनि यसले समेत यथार्थमा युद्धरत पक्षलाई प्रभावमा पार्न सकेको देखिएको छैन।

इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो युद्धमा परेर १० जना नेपालीको समेत दुःखद निधन भएको छ। इजरायलमा ‘लर्न एन्ड अर्न’ अर्थात् ‘सिक्दै, कमाउँदै’ कार्यक्रममा पुगेका विद्यार्थी त्यहाँ परेका हुन्। सरकारले त्यहाँको अवस्थालाई ध्यानमा राखेर समयमै सम्बोधन गर्न सकेको देखिएको छैन।  

३ दिनपछि बल्ल मन्त्रिपरिषद् बैठकले तिनको उद्धार गर्ने, मृतकका परिवारलाई राहत दिने र राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।नेपाल इजरायलको पुरानो मित्र मुलुक हो। त्यसैगरी प्यालेस्टाइनसँग समेत मैत्री सम्बन्ध रहेका कारण युद्धभन्दा शान्ति कायम गर्न प्रेरित गर्न सक्नुपर्छ। तर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भूमिका खेल्न छाडेको वर्षौँ भइसकेको छ। युद्धभन्दा शान्तिले मात्र आजको विश्वमा प्रगति गर्न सकिन्छ।

युद्धमा स्रोत÷साधनको अनावश्यक उपयोग गर्नुभन्दा सर्वसाधारणको शिक्षा, स्वास्थ्य र भोकमरी नियन्त्रणमा लगाउनु उचित हुन्छ। यो युद्ध चाँडै टृुंगिएन भने त्यसले दीर्घकालीनरूपमा पार्ने प्रभावबाट कोही पनि टाढा हुने छैनन्। त्यसकारण युद्धलाई थप भड्काउनेभन्दा पनि अन्त्यका निम्ति विश्व समुदायले भूमिका खेल्न सक्नुपर्छ। 

प्रकाशित: २३ आश्विन २०८० ०१:४१ मंगलबार

युद्ध विभीषिका