सम्पादकीय

सडक दुर्घटनामा सतर्कता

नेपालमा प्रत्येक वर्ष सडक दुर्घटनाबाट २ हजार ५ सयजनाले ज्यान गुमाउँदै आएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार यहाँ हरेक वर्ष ३० हजारको हाराहारीमा यस्ता दुर्घटना हुन्छन् जसले मानवीयबाहेक अन्य क्षति पनि उत्तिकै पुर्याउने गर्छन् । यसरी हेर्दा बितेका ५ वर्षमा मात्र १२ हजार ६ सय १२ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको छ । यो भनेको निकै संवेदनशील विषय पनि हो ।

कुनै पनि दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सडक दुर्घटना बढी हुनुमा धेरै कारण छन् । सडकको चौडा कम हुनु, निर्माण कमसल हुनु, खाल्डाखुल्डी नपुरिनु, क्षमता भन्दा बढी भारका सवारी गुड्न दिनु, चालकले मादक पदार्थ सेवन गरेर चलाउनु, सिकारुले हाँक्नु, चालक अनुमतिपत्र वितरणमा हुने चलखेल, थोत्रा सवारी साधन, ट्राफिक प्रहरीको संख्या कम हुनु आदि मुख्य कारण हुन दुर्घटनाका । त्यसबाहेक सडक निर्माणका लागि तयार पारिएको पूर्वाधार (ट्रयाक) लाई नै पूर्णरूपले निर्माण भएको सडक ठानेर सवारी चलाउने र चलाउन दिने कार्यले पनि दुर्घटना बढाउन मद्दत पु¥याएका छन् ।

कतिपय ठाउँमा जेब्राक्रस नहुनु, ट्राफिक जानकारी सबै सडक प्रयोगकर्तासम्म नपुग्नु, चालकहरू एकदमै कम उमेरका हुनु, तीव्र गति, ट्राफिक बत्तीको पालना नहुनु, गलत लेनमा जान मन पराउनु जस्ता कारणले पनि दुर्घटना बढिरहेका छन् । सवारीचालकले सडक सुरक्षासम्बन्धी व्यवस्था तथा कानुनी जानकारीहरू उल्लंघन गर्दा पनि यस्ता दुर्घटना भइरहेका देखिन्छ । काठमाडौँ, विराटनगर, चितवन, पोखरा जस्ता सीमित सहरमा केन्द्रीकृत भएका सवारी साधनले पनि यस्तै गतिविधिलाई साथ दिइरहेका देखिन्छ ।  

यस्ता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यतिबेला विभिन्न प्रक्रिया अपनाएको पनि छ । जस्तो– उपत्यकाका बढी दुर्घटना हुने ४० स्थानमा बिहान र दिउँसो, ५४ स्थानमा राति र १० स्थानमा मध्यरातसम्म जाँच गर्ने, सिसिटिभी फुटेज हेरेर नियम उल्लंघनकर्तालाई कारबाही गर्ने जस्ता काम पनि थालिएको छ । ट्रक र ट्रिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि रातको समय निर्धारण गर्ने र अगाडिका स्टिकर तथा सजावट सामग्री, साउन्ड बक्स आदि हटाउने काम पनि भएको छ ।

तर अहिलेसम्म ट्राफिक प्रहरीले लागु गरेका नियम दुर्घटना रोक्ने भन्दा पनि भइसकेपछि कारबाही गर्नेमा केन्द्रित देखिन्छ । उसले त नियम उल्लंघन नै नहुने परिस्थिति निर्माणमा ध्यान दिनुपथ्र्यो । यसरी नियम उल्लंघन नभएपछि दुर्घटना स्वतः कम हुन्थ्यो । तर सिसिटिभीबाट हेरिने, कतै बसेर छड्के गर्ने कामले विकृति रोकिने भन्दा एकाध व्यक्ति÷चालक कारबाहीमा पर्ने अवस्था मात्र उत्पन्न हुन्छ । त्यसैले अहिले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जे गरिरहेको छ, त्यसमा सुधार गर्नुपर्ने देखिन्छ ।

यसमा ट्राफिक प्रहरीको मात्र भूमिका पर्याप्त हुन्न । सडक स्तरीय बनाउने र खाल्डाखुल्डी पुर्ने काम सडक विभागको हो । सडक प्रयोगकर्तालाई आवश्यक जानकारी उपलब्ध गराउने काम तीनै तहका सरकारको हो । नियम लागु गराउने काम यातायातसम्बन्धी अड्डा र सुरक्षा निकायको पनि हो । त्यसैले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि कुनै एक पक्ष भन्दा पनि सबैको समन्वयात्मक भूमिका जरुरी हुन्छ । र, अहिलेसम्म दुर्घटना कम नहुनुको कारण पनि यही समन्वय अभाव नै हो ।

यतिबेला नेपालीहरूको महान् चाड बडादसैँ र तिहार नजिकै आइसकेको छ । यही चाडका लागि आफ्नो झिटीगुन्टासहित थातथलो फर्कने क्रम पनि सुरु भइसकेको छ । त्यसैले यतिबेला निश्चितरूपमा सवारी आवतजावत बाक्लो हुने गर्छ । माथि उल्लिखित समस्याहरूका कारण दुर्घटना बढी हुने सम्भावना पनि रहन्छ । त्यसैले चाडपर्वलाई ख्याल गरेर यतिबेला दुर्घटना न्यूनीकरणका लागि विशेष व्यवस्था अपनाउन ढिला गर्नुहुँदैन । यात्रुदेखि सवारीचालकसम्म, मादकपदार्थ बिक्रेतादेखि पिउनेसम्म, सडक संकेतदेखि कानुनी कारबाहीसम्म सबै विषयमा व्यापक प्रचारप्रसार गरिनुपर्छ । त्यसो भए मात्र दुर्घटनाकै कारण अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनेछ । साथै आफ्नो मुख्य पर्व पनि हर्षविभोरसाथ सम्पन्न गर्न सकिनेछ ।

प्रकाशित: २२ आश्विन २०८० ००:२८ सोमबार

नेपाल नेपाल प्रहरी सडक दुर्घटना