सम्पादकीय

अस्पतालको अस्वस्थता

सर्वसाधारण रोग पहिचान र पहिचानपछि उपचारका लागि अस्पताल जान्छन्। अस्पताल नै बिरामी छन् भने सर्वसाधारणको कस्तो होला? देशको सबै भन्दा ठूलो र जेठो वीर अस्पताल आफैँ रोगले थलिएको छ। अर्थात उसले आफ्नो उद्देश्यअनुसार न काम गर्न सकेको छ न त गरेको कामबाट जस पाउन सकेको छ। यही कारण ऊप्रति सर्वसाधारण कृतज्ञ बन्न सकेका छैनन्।

एकजना बिरामीले शल्यक्रियाका लागि ७ महिनासम्म कुर्नु पर्ने अवस्था आफैंमा सामान्य होइन। ३–४ महिना त जस्तोसुकै बिरामीले पनि शल्यक्रियाका लागि कुर्नैपर्छ। त्यसैले लाखौँ मानिसको शल्यक्रिया गरेर ज्यान बचाउँदा पनि यो अस्पताल सबैको वाहवाही पाउनबाट चुकेको छ। जसलाई व्यवस्थापन गर्न नसक्नु अस्पताल प्रशासनको कमजोरी हो भन्न हिच्किचाउनु पर्दैन।  

यो मुलुककै सबै भन्दा ठूलो अस्पताल हो। बेड धेरै छन्। स्वास्थ्यकर्मी प्रशस्तै छैन। उपकरण पनि आधुनिक र धेरै छन्। भौतिक पूर्वाधार तुलनात्मकरूपमा गतिलो छ। संघीय राजधानीको मुटुमै भएकाले सबैलाई पायक पर्छ। शल्यक्रियादेखि सबैखाले उपचार पनि निजीमा भन्दा यहाँ सस्तो छ। यही कारण वीर अस्पताल सबैको रोजाइमा पर्नु अनौठो होइन। यति थाहा हुँदाहुँदै पनि व्यवस्थापन गर्न नसक्नु अहिले देखिएका समस्याको मूल कारण मान्न सकिन्छ।

सबैजसो सरकारी निकायका पदाधिकारी समस्याको कारण जनशक्ति र बजेटलाई मात्र देखाउँछन्। नेपाल जस्तो गरिब मुलुकमा सीमित स्रोत र साधनले काम चलाउनुपर्ने वास्तविकताबाट उनीहरू पनि अनविज्ञ छैनन्। यस्तो अवस्थामा भएकै स्रोत अधिकतम प्रयोग गरी त्यसबाट लाभग्राहीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनुपर्ने दायित्वमा उनीहरू चुकिरहेका छन्। वीर अस्पताल प्रशासन पनि जनशक्ति र स्रोतको यही ‘रेडिमेड’ शब्दाबली अघि सारेर समस्याको दोष थोपर्न खोजिरहेको छ।  

प्रायः सरकारी स्वास्थ्य निकाय अन्य सरकारी कार्यालय जस्तो १०–५ सेवामै सीमित छन्। सार्वजनिक बिदाका दिन यी निकाय खुल्दैनन्। के बिरामी समय तोकेर त्यही अवधिभित्र होइन्छ? बिहानको १० बज्नुअघि र ५ बजेपछि बिरामी होइन्न? बिदाको दिन कोही बिरामी हुँदैन? यी प्रश्नको उत्तर तिनले दिनुपर्छ जसले स्वास्थ्य जस्तो संवेदनशील निकायलाई समयको बन्दी बनाएका छन्। अहिले वीर अस्पतालमा सेवा लिन आतुर बिरामीले समयमै उपचार नपाउनुको एउटा मुख्य कारण यो पनि हो।

यो अस्पतालले अहिले बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रदान गर्दै आएको छ। जनताको जीवनसँग जोडिएको राजधानीको मुटुमा रहेको यस्तो अस्पतालको जुनसुकै सेवा पनि चौबीसै घण्टा उपलब्ध हुनुपर्ने हैन? आवश्यक स्वास्थ्यकर्मीलाई विशेष सेवा-सुविधा उपलब्ध गराएर हुन्छ वा जनशक्ति थपेर भए पनि यो अस्पताललाई नमुना बनाउन सकिने अवसरबाट सरकार चुक्दै आएको छ। नत्र वीर अस्पताल बेलाबेलामा यसरी चर्चामा आइरहनु पर्दैनथ्यो।

निजी अस्पतालमा सेवा प्रायः चौबीसै घण्टा उपलब्ध हुन्छ। आवश्यक पर्यो भने सुतिरहेका स्वास्थ्यकर्मीलाई समेत बोलाइन्छ। अन्यत्र (सरकारीमै किन नहोस्) अस्पतालमा काम गरिरहेका चिकित्सक-विशेषज्ञलाई समेत बोलाएर उपचार सम्भव तुल्याइन्छ। तर यही कुरा सरकारी स्वास्थ्य निकायमा किन हुन सक्दैन? मुख्य प्रश्न यही हो। यसको मतलव यहाँका स्वास्थ्यकर्मीले कामै गरेका छैनन् भन्ने होइन, सेवा उत्कृष्ट छ तर गर्न सकिने सम्भावनाहरूतर्फ भने पर्याप्त ध्यान पुगेन भन्ने हो। जुन वास्तविकतासमेत हो।

आफूले चिनेजानेको कर्मचारी वा स्वास्थ्यकर्मी हुँदा चाँडै सेवाको पालो आउने गरेको पनि देखिएको छ। स्वास्थ्य जस्तो विषयमा चिनजान भन्दा रोगको प्रकृतिका आधारमा प्राथमिकता दिइनुपर्छ। यो मानवीय हिसाबले समेत अत्यावश्यक छ। तर अन्यत्र क्षेत्र जस्तो स्वास्थ्य संस्थामा समेत भनसुन चल्नु बढी चिन्ताको विषय हो। जसको मार महिनौँदेखि पालो कुरिरहेका अन्य बिरामीमाथि पर्न गइ ज्यान तल-माथिसमेत हुन सक्छ। यस्तो अवस्थाको जिम्मेवारी कसले लिने? अस्पताल प्रशासनले सोच्नुपर्ने विषय योसमेत हुन पुगेको छ।

वीर अस्पताल १३३ वर्षअघि विशेषगरी असहायलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीरशमशेरले स्थापना गरेका थिए। त्यसैले यो अस्पतालप्रति भुइँ तहका मानिसले समेत उचित र सहज सेवाको अपेक्षा राख्नु अस्वाभाविक हैन। यतिबेला संघीय राजधानीलगायत मुलुकका ठूला सहरमा थुप्रै आधुनिक अस्पताल छन्। त्यसैले हुनेखानेका लागि वीर अस्पताल प्राथमिकतामा नपर्न सक्छ। त्यसैले पनि अस्पताले आफ्ना सबैखाले सेवा स्थापनाकालीन उद्देश्यअनुरूप अर्थात तल्लो तहका जनताको अपेक्षा र हैसियत हेरेर उपलब्ध गराउनु उचित हुन्छ।

यो अस्पताललाई जनशक्ति, भौतिक पूर्वाधार तथा अत्यावश्यकीय उपकरणबाट वञ्चित हुने सुविधा छैन। यसका लागि संघीय सरकारले आवश्यक स्रोत उपलब्ध गराउनुपर्छ भने प्राप्त स्रोतसाधनको अधिकतम प्रयोगमार्फत सेवाको याचना गरिरहेका सबैलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रशासनले पनि कुनै कसुर बाँकी राख्नु हुँदैन। किनकि स्वास्थ्य सेवामा गर्ने लगानीलाई सरकारले नाफा-घाटाको नजरले हेर्नै मिल्दैन। स्वास्थ्य क्षेत्रमा फराकिलो छाती राखेर किन पनि लगानी गर्नु जरुरी छ भने रोगी जनशक्तिले मुलुक उभो लाग्न सक्दैन। त्यसैले आफ्ना जनतालाई रोगी हुनबाट बचाउने अस्पताललाई स्वस्थ राख्नु पहिलो प्राथमिकता हुनुपर्छ।

प्रकाशित: १९ श्रावण २०८० ००:२६ शुक्रबार

अस्पतालको अस्वस्थता सम्पादकीय