त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कटाइसकेको १ सय क्विन्टल सुन बरामद गर्न सफल भएपछि मुलुक यतिबेला तरंगित छ। एकातिर, मुलुकमा चरम गरिबी छ। अर्कोतिर, पहुँचवालाले त्यही भन्सारबाट एकै खेपमा क्विन्टल सुन बाहिर निकाल्न सम्भव देखिएको छ। यो मुलुक तिनै व्यक्तिका निम्ति मात्र कठिन छ, जोसँग पहुँच छैन। पहुँचवालाले विमानस्थल भन्सार विन्दुसम्मै पुगेर आवश्यक चिजवस्तु कटाउन र ल्याउन सक्छन्।
भर्खरै १ सय १७ जना श्रमिक विदेश श्रम स्वीकृति पाएर पनि जान पाएनन्। तिनका कागजातमा खोट निकालेर उडानबाट रोकिएको हो। ती श्रमिकका ठाउँमा मुलुकका पहुँचवाला व्यक्ति भएका भए रोकिने थिएनन्। त्यसो त ‘सेटिङ’ मै दैनिक व्यक्तिहरूलाई ‘भिजिट भिसा’ मै विदेश पठाउने काम पनि भएको छ। बेलाबेलामा मात्र यस्ता घटना हुन पाउँछन्, जतिबेला ‘सेटिङ’ बिग्रन्छ।
सुनको सेटिङ पनि त्यस्तै हो। दैनिक नियमानुसार आउने सुन २२ किलोग्राम हो। अवैधरूपमा आउने सुनको कुनै हिसाब छैन। जतिबेला थोरै परिणाममा सुन समातिन्छ, त्यतिबेला मात्र केही दिन चर्चा हुने हो। त्यसपछि सबै चूप लाग्छन्, धन्दा चलिरहन्छ।
बुधबार रातिसम्ममा फेला परेको एक क्विन्टल सुन भनेको सर्वसाधारणको भाषामा सय किलो हो। अचेल सामान्यजनका घरमा सय किलो चामल पनि हुँदैन, सुनको के कुरा भयो र ? तर सय किलो सुन ल्याउन सक्ने व्यक्ति यस्ता पहुँचवाला छन् कि जो प्रधानमन्त्री र ठूला नेताका ‘बेडरुम’ सम्मै पुग्न सक्छन्। त्यही भएर तिनले यस्ता धन्दा गर्न सक्छन्।
विमानस्थलबाट भर्खरै विद्युतीय सिगरेट (भेप) का नामममा ल्याइएको करिब ९ किलोग्राम सुन निकालेर बेची खाइसकेको सार्वजनिक भइसकेको छ। त्यस काण्डमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चासो राखेको भन्नेसम्म प्रहरीको प्रतिवेदनमा परेको छ। यस काण्डमा उनीहरूमाथि कुनै छानबिन गर्नु आवश्यक ठानिएको छैन।
सर्वसाधारण नेपालीले विदेशबाट लिएर आएका एक बोतल रक्सी वा एउटा मोबाइलमा आँखा लगाउनेहरूको ध्यान करोडौँको तस्करीमा जाँदैन। जाओस् पनि कसरी ? यसमा सबैको भागशान्ति हुन्छ।
यो काण्ड सेलाउन नपाउँदैन फेरि सय किलो सुन काण्ड सार्वजनिक भएको हो। धन्य, यसपटक ‘सेटिङ’ ले काम नगरेका कारण मात्र यो सार्वजनिक भएको हो। अन्यथा, यो सुन सजिलै बाहिर जान्थ्यो र आफूलाई ‘लोकतान्त्रिक तस्कर’ भन्न रुचाउनेहरूले व्यवस्थाको जय-जयकार गर्ने थिए। यो प्रणाली नहुँदो हो त तिनले कहिल्यै यसो गर्न सम्भव थिएन।
वास्तवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको सुनको ‘सेटिङ’ पहिलो होइन। पञ्चायतकालमै २०४२ फागुनमा चन्द्रबहादुर बुढा ४२ तोला सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। पछि उनी ‘सुन बुढा’का नामले चर्चित रहे। विगतमा जनआन्दोलन २०६२-६३ अघि र पछि पनि संसद्मा विभिन्न सुन काण्डबारे व्यापक कुरा उठ्ने गरेको हो। त्यो बेला पनि सुन तस्करीको भन्सार लाइन खुलाउने तत्कालीन गृहमन्त्रीहरूका काला कर्तुत अखबारमा पोखिने गरेका हुन्। त्यति मात्र होइन, कुनै कुनै तत्कालीन गृहमन्त्रीलाई तोकेरै अमेरिकी दूताबासको केबलमा समेत सुन तस्करी गराएको विवरण परेको हो। पछि ती केबल लिक हुँदा यो तथ्य बाहिर आएको हो। सार्वजनिक जानकारीमै आएका दर्जनौं सुन काण्ड छन्। कहिल्यै घामको मुख देख्न नपाएका यस्ता काण्ड त कति हुन् कति !
नेपाली शासन प्रणालीले भने यी प्रक्रियामा कहिल्यै सुधार गर्न चाहेको देखिएन। प्रत्येक पटक किलोका किलो सुन काण्ड आउँछन् र समयसँगै हराउँछन्। विमानस्थलमा कर्मचारीको व्यवस्थापन ‘सेटिङ’ कै आधारमा हुन्छ। त्यसको प्रयोग यस्तो तस्करीका निम्ति प्रयोग हुन्छ। अहिले आएर नेपाल, भारत र चीनका तस्करहरूको बहुराष्ट्रिय सञ्जालले काण्ड गराइरहेको देखिएको छ। अझ सुनमै घुस खाने चलन चलेका कारण पनि यसको तस्करी भइरहेको भन्ने सुनिन्छ। तर यसलाई नियन्त्रण गर्ने तागत कुनै ‘माइका लाल’मा देखिएको छैन। हुँदाहुँदा भन्सारमा सुवर्णादि धातु र लागु औषध पहिचान गर्न सक्ने मेसिनको व्यवस्था छैन, भए पनि बिगारिन्छ। बरु मेसिन बिगारेर तस्करीलाई सहज बनाइएको छ।
सर्वसाधारण नेपालीले विदेशबाट लिएर आएका एक बोतल रक्सी वा एउटा मोबाइलमा आँखा लगाउनेहरूको ध्यान करोडौँको तस्करीमा जाँदैन। जाओस् पनि कसरी ? यसमा सबैको भागशान्ति हुन्छ। त्यसमा पनि पछिल्लो सय किलो सुनको बजार मूल्य एक अर्ब रुपियाँ बराबर छ भने सहजै बुझ्न सकिन्छ, हाम्रो मुलुकमा कुन तहको अनाचार भइरहको छ।
वास्तवमा हाम्रो मुलुकको समग्र प्रणाली क्षतविक्षत भइसकेको छ। भन्सार विभागले यस्तो अवैध कारोबार रोक्न सकेको देखिएन। अर्को निकाय राजस्व अनुसन्धान विभागको सक्रियता नभएको भए यो सम्भव थिएन। यसको अर्थ हो– अझै सन्तुलन र नियन्त्रणको व्यवस्था कमजोर छ। यस्तो काम दैनिक भइरहेको छ तर औँसी-पूर्णिमामा मात्र समात्ने काम भएको छ। यसले समग्र प्रणालीलाई ध्वस्त तुल्याउँछ।
नेपालमा हुने गरेको सुन तथा धातु, लागु औषध र अन्य वस्तुको तस्करीमाथि बलियो गरी अंकुश नलगाउने हो भने अहिलेको प्रणाली नै थप बदनाम हुँदै जानेछ। हिजो पञ्चायतकालमा तस्करी गर्नेहरूको ढाँचा र ढर्रामा अहिले पनि काम भइरहेको छ। अहिले पनि एकथरी व्यक्तिले पाएको सुविधाबाट यो सम्भव भएको छ। देशमा प्रहरी, न्यायालय, प्रशासनलगायत छन्। तर कुनै पनि एउटा निकायले सक्रियता देखाउने हो भने यस्तो सेटिङ सम्भव छैन। त्यहाँ खटाइएका कुनै पनि एक कर्मचारीले सक्रियता देखाउने हो भने पनि परस्थिति फरक हुन्छ। यहाँ आचरणयुक्त काम नभएकै कारण तस्करको स्वर्ग बन्न लागेको छ यो देश।
सुन तस्करीसम्बन्धी यसअघि पनि कैयन् अनुसन्धान भएका छन्। यसैका आधारमा फेरि एउटा शक्तिशाली आयोग बनाएर कारबाही गर्ने हो भने सुधार आउन सक्छ। अन्यथा, तस्करीले नेपालको अर्थतन्त्रलाई मात्र ध्वस्त पार्दैन, यसलाई गतल कामको थलो बनाउन सक्छ। बेलैमा सोचौँ, चेतौँ।
प्रकाशित: ५ श्रावण २०८० ००:३० शुक्रबार