सम्पादकीय

हिमनदीको हिसाब

पृथ्वीको पारिस्थितिक प्रणालीमा हिमालय क्षेत्रमा रहेका हिमनदी र यो क्षेत्रबाट बग्ने पानीको भूमिका अहम् छ। नेपालका अधिकांश नदीको उद्गम स्थल मुख्यतः हिमालय क्षेत्र हो। विश्वमा तेस्रो ध्रुव भनेर चिनिने हिन्दकुश हिमालयको केन्द्रमा रहेको नेपालको उच्च हिमाली क्षेत्रबाट निस्कने स्वच्छ पानीमा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै दुई अर्ब जनसंख्या आश्रित छन्। 

हिन्दकुश क्षेत्रमा रहेका ८ देशमध्ये नेपाल सबैभन्दा धेरै पर्वतीय क्षेत्रले ढाकिएको देश हो। पृथ्वीका उत्तरी र दक्षिणी ध्रुवपछि सबैभन्दा धेरै हिउँ अर्थात् बरफ जमेको क्षेत्र हिन्दकुश हिमालय क्षेत्र हो।  

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने क्षेत्र पनि यही बनेको छ। विभिन्न अध्ययनले हिमनदीहरू तीव्र गतिमा पग्लिने क्रम पछिल्ला केही दशकमा निकै डरलाग्दो रूपमा बढेको र यसले तल्लो तटीय क्षेत्रमा बस्ने एसियाका दशौं लाख मानिसका लागि आवश्यक पर्ने पानीको आपूर्तिमा गम्भीर असर पर्ने देखाएका छन्। भौगोलिक रूपमा अत्यन्त विकट यो क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावका अध्ययन सीमित छन्। भएका अधिकांश अध्ययनले हिमाल, हिमताल र हिमनदीको अस्तित्व संकटमा रहेको देखाएका छन्। अध्ययनको यो शृंखलामा हालै सार्वजनिक सगरमाथा उच्च भूभागको एक अध्ययनले पनि विश्वको उच्च चुचुरोमा हिउँको तहमा तीव्र गतिमा ह्रास भइरहेको देखाएको छ।  

सन् २०१९ मेमा नेसनल जोग्राफिक्स र रोलेक्स माउन्ट एभरेस्ट एक्सपेडिसनले नेपालको जल तथा मौसम विभाग तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय जल तथा मौसम अध्ययन विभागको सहकार्यमा सगरमाथाको विभिन्न उचाइमा स्थापना गरिएका ५ वटा मौसममापन यन्त्रले उपलब्ध गराएको तथ्यांकको समीक्षात्मक अध्ययनले हिउँको तहमा उच्चतम ह्रास भइरहेको देखाएको हो। यी केन्द्रमा जडित उपकरणमार्फत सगरमाथाको उच्चतम बिन्दुमा फेरबदल भइरहने तापक्रम, हावाको वेग, सापेक्षिक आद्रता, विकिरण तथा घाम लाग्ने समयका बारेमा वास्तविक समय (रियल टाइम)का मौसमी तथ्याकहरू संकलन गरिएको थियो।

चाखलाग्दो पक्ष के छ भने यो उच्च भूभागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (ऊध्र्वपातन) हुने गरेको देखिएको छ। हिउँ बग्लेर पानी हुने र वाष्कीकरण हुने सामान्य प्रक्रिया हो। तर यो क्षेत्रमा तीव्र रूपमा चल्ने हावा र न्यून आद्रताका कारण ऊध्र्वपातनमार्फत हिउँ विलुप्त हुने गरेको पाइएको छ।  

मौसममापन स्टेसनहरूले उपलब्ध गराएका तथ्यांकको समीक्षात्मक अध्ययनले हिउँको तहमा ह्रास हँुदा हिउँद याममा समेत टाकुराको उचाइ ५० देखि ९० सेन्टिमिटरसम्मले घटेको हुन सक्ने देखाएका छन्। अध्ययनमा सहभागी वैज्ञानिकहरूका अनुसार यसरी यो प्रक्रिया लामो समयसम्म जारी रहँदा सगरमाथाको उचाइसमेत परिवर्तन हुन सक्ने देखिएको छ। अध्ययनकर्ताहरूले हिउँको सम्भावित क्षयीकरण र यसले सगरमाथाको उचाइमा पार्न सक्ने प्रभावका आधारमा, हरेक वर्ष हिउँ थपिने र बिलाएर जाने विषयमा थप अध्ययन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा शोधकर्ताहरूले हालै प्रकाशित गरेको प्रतिवेदनका अनुसार सगरमाथाको टाकुरामा हरेक घण्टा हावाको चिसोपना माइनस ८३ डिग्री सेल्सियस र हरेक दिनको सरदर तापक्रम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो स्तरको चिसोमा १ मिनेटभित्रै पर्वतारोहीलाई हिउँले खाने (फ्रोस्टवाइट) सम्भावना देखिएको छ।  

यति धेरै उचाइमा रहेको मौसमका विषयमा यसअघि अध्ययन नभएका अवस्थामा यो अध्ययनले एसियाका उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई आँकलन गर्न सजिलो पार्ने अध्ययनकर्ताको दाबी छ। अनुसन्धानकर्ताका अनुसार अध्ययनको नतिजाले सगरमाथाको चुचुरोको मौसम पूर्वानुमान गर्न सहयोग गर्ने, हिमाली आरोहीको सुरक्षालाई सहयोग गर्ने तथा वायुमण्डलको ट्रोपोसफेयरमा भइरहेको मौसम परिवर्तनलाई उजागर गरेको छ।  

विश्वको एक चौथाइ जनसंख्या हिमालय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर रहने हुँदा यी तथ्यांकले जलवायु परिवर्तनले जलस्रोतमा परिरहेको र पार्न सक्ने प्रभावलाई आँकलन गर्न सजिलो पारेका छन्। पृथ्वीका उत्तरी र दक्षिणी धु्रवीय क्षेत्रभन्दा बाहिर हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा धेरै हिउँ रहेको मानिन्छ। यति धेरै आयतनमा रहेको हिउँमा हाल भइरहेको र भविष्यमा हुनसक्ने क्षयीकरणले यो क्षेत्रको स्वच्छपानीको आपूर्तिलाई प्रभावित पार्ने तथा जलवायुजन्य जोखिम निम्तिन सक्ने मानिएको छ।  

हिमालय क्षेत्रबाट बग्ने नदीहरूले खानेपानी, सिँचाइ, जलविद्युत्लगायत जीविकोपार्जनमा महŒवपूर्ण भूमिका खेल्नुका साथै सांस्कृतिक र पारिस्थितिक प्रणालीमा पनि उल्लेखनीय योगदान पुर्‍ याएका छन्। भारतको गंगा नदीमा सुख्खा याममा ६५ प्रतिशत पानीको हिस्सामा नेपालबाट बगेर जाने पानीको योगदान छ। यसरी नेपालमा रहेका हिमनदी पग्लँदा तथा हिमतालको विस्फोट हँुदा हिमालय क्षेत्र तथा तल्लो तटीय भूभागमा संकट हुने देखिएको छ। केही वर्षअघि जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था आइपिसिसीले सार्वजनिक गरेको प्रतिवेदनले पनि पृथ्वीको समुद्री सतह बढ्नुमा हिमाली क्षेत्रबाट पग्लिने हिउँको पनि भूमिका रहेको उल्लेख गरेको थियो। समुन्द्र तटमा रहेका राष्ट्रहरू समुन्द्री सतहमा आएको बढोत्तरीले अस्तित्व संकटमा छन्।  

यति धेरै महŒव बोकेको हिमालय क्षेत्रमा देखिएको चुनौतीको सामना गर्न यो क्षेत्रका राष्ट्र र समग्र विश्व समुदायको सामूहिक पहल हुनुपर्ने देखिएको छ। विकसित मुलुकले यसप्रकारको जलवायुजन्य संकटलाई तुलनात्मक रूपमा थेग्न र अनुकूलन हुन सक्ने क्षमता राखे तापनि अधिकांश समुद्री तटमा रहेका राष्ट्र र नेपालजस्ता अल्प विकसित मुलुकसँग यो क्षमता छैन। जलवायु परिवर्तन समग्र मानव अस्तित्वसँग जोडिएको विषय हो। त्यसैले विकसित राष्ट्र, विकासोन्मुख राष्ट्र र अल्पविकसित राष्ट्रहरूले यो संकट सम्बोधनका लागि आपसी हातेमालो र सहकार्य गर्न आवश्यक छ। 

प्रकाशित: ३० वैशाख २०८० २३:४५ शनिबार