सम्पादकीय

लोकतन्त्र जस्तो होस् लोकतन्त्र

जोन केले भनेका छन् कि सच्चा लोकतन्त्र हुनका लागि देशका मालिक जनताले शासन गर्नुपर्छ। शायद वंशका आधारमा शासक फेरिने परिपाटी अन्त्य गरेर त्यो ठाउँमा जनताका सन्तान पुग्न सक्ने सुनिश्चित भएकै दिनलाई लोकतन्त्र दिवसका रूपमा सम्झन थालिएको छ। त्यसैले यो मुलुक यतिबेला गणतन्त्रात्मक लोकतान्त्रिक मुलुकका रूपमा सबैतिर चिनिन सकेको छ।

लोकतन्त्र त्यसै धेरैद्वारा मन पराइएको हैन। बोल्ने, लेख्ने अभिव्यक्ति स्वतन्त्रतादेखि निर्वाध मतदान गर्न पाउने र पेसा, बसोबास थलोदेखि विचारसम्म रोज्न पाउने स्वतन्त्रता यसले दिन्छ। त्यसैगरी धर्म, लिङ्ग, वर्ण, भूगोल, जात, रङ आदिका आधारमा भेदभाव गर्नसमेत यसले निषेध गर्छ। निषेध गर्ने मात्र हैन, यस्तो कार्यमा संलग्नलाई सजायको भागिदार समेत बनाउँछ। यस्तै यस्तै दर्जनौँ विशेषताकै कारण हो कि आज लोकतन्त्रबाट वञ्चित मुलुकका जनता पनि क्रमशः लोकतान्त्रिक शासनपद्धतिको खोजीमा अग्रसर छन्।

नेपालमा लामो समय जहानिया राणा शासन कायम रह्यो। त्यसपछिको ३० वर्ष पञ्चायती शासन चल्यो। धेरै नेपालीले यो अवधिमा प्रजातन्त्रको अभाव महसुस गरे। त्यति मात्र हैन, नेपालको अविकास र पछौटेपनको मुख्य कारण पनि प्रजातन्त्र अभावलाई ठानियो। त्यसैले जनता जुर्मुराए र लोकतन्त्र ल्याउन सफल भए। जुन दिनलाई सम्पूर्ण नेपालीले आफ्नो भाग्यरेखा कोरिएको दिनका रूपमा स्मरण गर्दै आएका छन्।

प्रजातन्त्र प्राप्तिपछिका दिन सर्वसाधारणले सोचे जस्ता भएनन्। विशेषगरी नेताहरूको स्वार्थीपन, अनावश्यक महत्वाकाङ्क्षा, परिवारवादप्रतिको बढ्दो मोह तथा विगतको धरातल बिर्सने बानीका कारण प्रजातन्त्रप्रति वितृष्णा समेत जाग्दै गएको देखिन्छ। स्थायी सरकारका रूपमा चिनिने कर्मचारीतन्त्रले यस्तो निराशाबीच केही आशा सञ्चार गराउने हैसियत राख्थ्यो तर ऊ पनि अनियमितताको चङ्गुलमा नेता भन्दा बढी फसिरहेको छ। जसले सर्वत्र निराशाबाहेक केही छाएको देखिन्न।

सर्वसाधारणसँग जोडिएका मालपोत, भूमि सुधार, खानेपानी, बिजुली, यातायात, उद्योग जस्ता कार्यालयहरू चरम अनियमितताका अखडामा परिणत भएका छन्। दिउँसै खुल्लमखुला बार्गेनिङ हुन्छ भ्रष्टाचारको। कर्मचारी कोहीसँग डराउने अवस्था छैन। ऐन/कानुन भुत्ते बनेका छन्। नेताहरू तिनकै मतियार बनेका छन् अर्थात हिस्सेदारका रूपमा देखिएका छन्। यस्तो अवस्थाले प्रजातन्त्र भनौँ वा लोकतन्त्र, जति प्रिय हुनुपर्ने हो, त्यति हुन सकेको छैन।

बढ्दो राजनीतिक अस्थिरता प्रजातन्त्रप्रति निराशा निम्त्याउने अर्को कारक बनेको छ। सत्ताका लागि जे पनि गर्न तयार हुने, जस्तोसुकै झुट बोल्न, गालीगलौजमा उत्रन र तल गिर्न समेत पछि नहट्ने प्रवृत्ति बढ्दो छ। सत्तामा पुगेपछि आफू सर्वेसर्वा हुँ भन्ठान्ने र यो मुलुकमा कानुन/नियम छ भन्नेसमेत बिर्सने अवस्थाले सर्वसाधारणलाई दिक्दारी मात्र दिएको छ। पहिले कसरी सत्तामा पुग्ने र त्यसपछि कसरी त्यहाँ टिकिरहने भन्नेबाहेक दलका नेतामा अन्य चिन्ता देखिएको छैन। न कसैसँग राष्ट्र बनाउने योजना छ न त कसैसँग यसका लागि भरपर्दो सोच नै। जसले अन्ततः लोकतन्त्रलाई खिज्याउने काम मात्र गरेको छ।

हो, लोकतन्त्रको खिसी उडाइएको छ। लोकतन्त्रलाई पहुँचवालाले जे पनि गर्न पाउने अधिकारसँग जोडेर गलत व्याख्या गरिएको छ। आफूहरू जेलनेल भोगेको र लामो आन्दोलनसमेत गरेका कारण त्यसको ब्याज खान पाउनु स्वाभाविक हो भन्ने भाष्य खडा गर्न खोजिएको छ। जसले लोकतन्त्रको अवमूल्यन गर्ने काम भएको छ। तर पनि वास्तकिताचाहिँ के हो भने लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो। यो ध्रुवसत्य कसैले नकार्न सक्दैन। हामी नेपालीले पनि यसलाई मनन गर्दै आआफ्नो ठाउँबाट लोकतान्त्रिक पद्धति बलियो बनाउन निर्वाह गर्नुपर्ने भूमिकामा चुक्न हुन्न। नत्र यसको असरले सबै भन्दा बढी सताइने हामी सर्वसाधारण नै हुनेछौँ भन्नेमा दुई मत छैन।

नेताहरूलाई प्रश्न गर्ने, कर्मचारीलाई अनियमितता गर्ने ठाउँ नदिने, गलत महत्वाकाङ्क्षाविरुद्ध खबरदारी गर्ने, नमान्नेलाई कानुनी र वैधानिक माध्यमबाट नसिहत दिने जस्ता काम हामीबाट सम्भव छ। त्यसबाहेक अरूको कुरा काट्ने र फलानो यस्तो/उस्तो भनेर चौबाटोमा कुर्लनुभन्दा आफू जहाँ जेमा लागिएको छ, त्यसप्रति मात्र इमानदार भइदिने हो भने पनि धेरै कुरा आफैँ सुध्रिएर जान्छ। जस्तो–दिनेले कुनै हालतमा नदिने हो र कानुन पछ्याउने हो भने घूस लिनेले/माग्नेले पाउँछ कसरी? हो, यस्ता कुरामा हामी सर्वसाधारणको ठूलो भूमिका निर्वाह हुन सक्छ। जसले अहिले लोकतन्त्रप्रति देखिएको निराशा न्यूनीकरणमा सघाउ पुर्‍याउँछ।

यसैले नेता/कर्मचारी मात्तिनुपर्ने र जनता आत्तिनुपर्ने अवस्था छैन। अहिले लोकतन्त्रका नाममा देखिएका केही विकृति तदर्थ हुन्। यिनको आयु दीर्घकालीन छँदै छैन। किनकि लोकतन्त्रमा यस्तो सम्भवै हुन्न। हो, लामो सङ्क्रमणकालबाट गुज्रनुपरेकाले नेपालीले यस्तो महसुस गर्नुपरेको पक्कै हो। तर विश्वमा आजसम्म जसरी सत्यले, निष्ठाले हारेको छैन, त्यसैगरी लोकतन्त्र पनि पराजित हुने छैन। विश्व इतिहास यसको साक्षी छ। मार्जोरी केलीले पनि भनेका छन् कि ‘इतिहासको पाठ स्पष्ट छ, लोकतन्त्र सधैँ अन्तमा जित्छ।’ यही कारण सुखद भविष्यको आशा गरौँ। निराशा पालेर कहीँ पुगिन्न। लोकतन्त्र दिवसको शुभकामना सबैमा।  

प्रकाशित: १० वैशाख २०८० २३:४१ आइतबार

नेता/कर्मचारी मात्तिनुपर्ने र जनता आत्तिनुपर्ने अवस्था लोकतन्त्र जस्तो होस् लोकतन्त्र जहानिया राणा शासन