सम्पादकीय

सुस्वागतम् २०८० साल

नेपाली समाज बिहीबार मध्यरातिदेखि नयाँ वर्ष २०८० मा प्रवेश गर्दैछ। नयाँ वर्ष दोहोरिइरहन्छ। तैपनि यो वर्ष एक दशकअघिको नेपाललाई हेर्ने समय पनि हो। त्यति मात्र होइन, नेपाली समाज आधुनिकतामा प्रवेश गरेको पनि आठ दशक लागिसकेको छ। २००७ सालको जनक्रान्तिलाई आधार मान्दा त्यसयताको नेपाली समाजलाई आधुनिकताको समयका रूपमा लिन सकिन्छ।

बितेको एक दशक नेपाली समाजका निम्ति कोसे ढुंगा सावित भएको छ। ७० को दशकमा प्रवेश गर्दै गर्दा अझै पनि मुलुकले शान्तिपूर्ण रूपान्तरण प्रक्रियालाई स्थायित्व दिइसकेको थिएन। बल्ल २०७२ सालमा नयाँ संविधान जारी भएपछि शान्तिको कामलाई स्थायित्व दिन जग बसेको हो। त्यो भन्दा अघिल्लो दशकको प्रारम्भ अर्थात् २०६२-०६३ सम्म नेपाल अन्योलपूर्ण स्थितिमा रहेको हो। तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको दशक लामो सशस्त्र द्वन्द्वबाट मुलुक बल्ल शान्तिपूर्ण बाटोमा प्रवेश गरेको हो। त्यसलाई मूर्त रूप दिने संविधान जारी गर्न एक दशक भन्दा बढी लागेको हो। समाजमा द्वन्द्व छ तर त्यसको शान्तिपूर्ण समाधान गर्न सक्ने क्षमताको विकास भएको छ।  

केही भएन भन्दाभन्दै पनि बितेका यी वर्ष नेपाली समाजको रूपान्तरणका निम्ति असरदार भएका छन्। सबै भन्दा महत्वपूर्ण पक्ष भनेको नेपाली समाजमा आएको खुलापन हो। २०४६ सालको परिवर्तनपछि आएको खुलापनको गति रोकिएको छैन। बीचमा केही समयका निम्ति तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ को ‘शाही कु’का बेला भने यसलाई राम्रैसँग खल्बल्याउन खोजिएको हो। तर यसलाई नेपालीले पुनः हासिल गरेका छन्।  

आज दक्षिण एसियाका सबैजसो देशमा लोकतन्त्रका आधारभूत प्रस्थापनामै आक्रमण भएको छ। तर नेपाली समाजले यसलाई अझै बचाएर राखेको छ। यसैकारण सबैले बोल्न पाएका छन्। बोल्न मात्र पाएका छैनन्, त्यसले समाजमा आवश्यकताअनुसार परिवर्तनका निम्ति अग्रसर पनि गराएको छ। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपालीले प्रकट गरेका अभिमतले पनि यसलाई उजागर गर्न धेरै हदसम्म मद्दत गरेको छ। मुलुकका पुराना र स्थापित भनिएका दलमा आएको विचलनविरुद्ध नयाँप्रति आममतदाताले देखाएका झुकाव यही खुलापनले ल्याएको परिणाम हो। विगत दशकको उपलब्धि भन्नु नै स्वतन्त्र ढंगले सोच्न र बोल्न सक्ने बनाउनु हो।

नेपालले बितेका दशकमा विकास निर्माणको गति धेरै तीव्र नबनाए पनि आशा लाग्दा केही क्षेत्र देखिएका छन्। सडक निर्माणमा नेपालको प्रगति छ। तर यतिमै चूप लागेर बस्ने अवस्था छैन। जलविद्युत्को क्षेत्रमा पनि उल्लेख्य काम भएका छन्। दशकअगाडि २४ घन्टा बिजुली पाउनु भनेको दिवास्वप्न जस्तो थियो भने अहिले भिन्न स्थिति छ। कम्तीमा ‘लोडसेडिङ’ इतिहासको विषय बनेको छ। जुत्ता, चप्पल, तरकारी फलफूल, माछा-मासु जस्ता क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको छ। खाली गर्न नसकेको भनेको उद्योगधन्दाका निम्ति उपयुक्त वातावरण निर्माण हो। वातावरण निर्माण गरिदिने हो भने उद्यमशीलता विकासको सम्भावना पनि छ।

नेपालले राजनीतिक अधिकारका निम्ति विगतमा गरेका संघर्षको प्रतिफल प्राप्त गर्ने बेला भएको छ। राजनीतिक उपलब्धि त्यतिबेला मात्र सफल हुन्छ, जतिबेला यसलाई आर्थिक समृद्धिले समेट्न सफल हुन्छ। आर्थिक समृद्धि हुने समाजमा मात्र लोकतन्त्र फाप्छ। यसकारण वर्तमान राजनीतिक नेतृत्वको ध्यान सत्ता र कुर्सीमा भन्दा आमनागरिकको जीवन सुधारतिर हुनुपर्छ। देशले विकासको बाटो समात्ने हो भने परिवर्तन सम्भव छ। हाम्रो मुलुकले अब सोच्ने भनेकै कसरी देशमा उद्यमशीलता विकास गर्ने भन्ने हो। देशमा बढी भन्दा बढी उत्पादन क्षमता बढाएर विदेशमा पठाउनु हो। यतिबेला मुलुकमा युवा जनशक्ति रहेको छ। तिनलाई उपयोग गर्दै देशलाई समृद्धि यात्रामा अगाडि बढाउन सकिन्छ।  

सधैँ राजनीतिक परिवर्तनकै निम्ति मात्र काम गर्न सकिँदैन। उदार लोकतान्त्रिक शासन व्यवस्था भन्दा उम्दा राजनीतिक पद्दति अर्को हुन सक्दैन। अतः अहिले यसैलाई सुधार गर्दै जान सकिन्छ। संविधान निर्माणकै पनि आठ वर्ष पुगिसकेको छ। यो स्थितिमा यसका प्रयोगमा देखिएका समस्या समाधान गर्दै अघि बढ्न पनि सोच्ने बेला भइसकेको छ। लोकतान्त्रिक व्यवस्थाको विकल्प भनेको अझ बढी लोकतान्त्रिक मात्र हो। भ्रष्टाचारमुक्त र नागरिक अधिकार सम्पन्न व्यवस्थाले मात्र मुलुकमा उन्नति गर्न सक्छ।  

नेपाललाई अब चाहिएको भनेकै विकासको गति हो। दलहरूबीचको आन्तरिक झगडाले मात्र देशलाई कहीँ पुर्याउँदैन। लोकतन्त्रको अभ्यास दलभित्रै पनि उत्तिकै हुनु आवश्यक छ। त्यसले मात्र योग्य व्यक्तिलाई सही ठाउँमा पुर्याउन सक्छ। अहिलेसम्म योग्य व्यक्तिलाई भन्दा पनि नाता र कृपाको भरमा मानिस छान्ने परिपाटी विकास भएको छ। यस्तो अभ्यासले समग्रमा लोकतन्त्रकै धज्जी उडाइरहेको छ। त्यति मात्र होइन, विगतमा संघर्ष गरेका आदर्श नेता यतिबेला शंकाले घेरिएका छन्। अबको समय शुद्धीकरणका निम्ति लगाउन सबैमा तत्परता आवश्यक देखिएको छ।  

पात्रो फेरिएको छ। फेरि अर्को उत्साहको समय आएको छ। यसलाई एक साताको उत्साह होइन, आगामी दशककै उत्साहका रूपमा विकास गर्न सकिन्छ। अहिलेसम्मका कमी-कमजोरीबाट शिक्षा लिँदै भावी समय सुखमय बनाउन सबैलाई यो समयले प्रेरणा दिन सक्नुपर्छ। घडीपला गर्दै समय व्यतीत भइरहेको छ। हाम्रा निम्ति समयले पर्खिँदैन। यसलाई प्रभावकारी बनाउने योजना हाम्रै हातमा छ। योजना गरौँ। काम गरौँ। देशलाई समृद्ध बनाऔँ। नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना। 

प्रकाशित: १ वैशाख २०८० ००:२२ शुक्रबार

Download Nagarik App
Download Nagarik App