विभिन्न आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष मंगलबार आत्मसमर्पण गरेका छन्। अमेरिकाका ४५औँ राष्ट्रपति ट्रम्प आफ्ना विरुद्ध लागेका अभियोगका सुनुवाइका क्रममा अदालत पुग्न बाध्य भएका हुन्। प्रहरीले उनलाई थोरै समयका लागि पक्राउसमेत गरेको थियो।
ट्रम्पविरुद्ध एक वयस्क चलचित्र नायिकासँगको यौन सम्बन्ध गुपचूप राख्न ठूलो रकम भुक्तानी गरेको, झुटो व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर आपराधिक अभियोग लगाइएको छ। उनीमाथि अवैध तरिकाले अर्बौ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको तथा राष्ट्रपति निर्वाचन परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएको आरोप लागेको छ।
पूर्वराष्ट्रपतिमाथि लागेका यी अभियोगविरुद्धका अर्काे सुनुवाइ डिसेम्बर १४ मा हुनेछ। त्यसअघि आगामी अगस्टसम्म आफूमाथि लगाइएको अभियोगका बारेमा अगस्टसम्ममा उनले प्रष्टीकरण पेस गर्नुपर्नेछ। रिपब्लिकन पार्टीका तर्फबाट आगामी वर्ष राष्ट्रपति चुनावको दौडमा अगाडि रहेका ट्रम्पलाई राजनीतिक प्रतिशोधका हिसाबले यो अभियोग लगाइको उनी र उनका समर्थकको जिकिर छ। तर यो गिरफ्तारी र आत्मसमर्पणले धेरै कुराको संकेत गरेको छ। यसले अमेरिकामा कानुनी सर्वाेच्चतालाई स्थापित गरेको छ। राष्ट्रपति भैसकेको र राजनीतिक हिसाबले शक्तिशाली मानिएका ट्रम्प कानुनी प्रक्रियाका अगाडि झुक्न बाध्य भएका छन्। यो प्रजातान्त्रिक र कानुनी सर्वोच्चता भएका देशमा मात्र हुने दुर्लभ घटना हो।
अमेरिकी इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति ट्रम्प बनेका छन्। अन्य अभियुक्त जस्तै गरी अदालतमा प्रहरीले उनको औँठा छाप लिएको थियो। विभिन्न हिसाबले चर्चामा रहेका उनको अन्य अभियुक्तलाई लिइने गरेको मगसट (अनुहार प्रष्ट देखिने टाउको फोटो) लिइएन। न त उनलाई हत्कडी नै लगाइयो। अदालतमा उनी शान्त र गंभीर देखिएका थिए। अदालतमा आफ्ना वकिलहरूसँग रहेका ट्रम्पलाई उनीमाथि लागेका आरोपहरू पढेर सुनाइएको थियो।
मंगलबार अपराह्न झण्डै एक घण्टाको सुनुवाइपछि उनी अदालतबाट बाहिरिएका थिए। उनका समर्थकहरूले हंगामा गर्न सक्ने शंकामा उनलाई ठूलो सुरक्षा घेराबीच अदालत पुर्याइएको थियो। अदालती सुनुवाइका क्रममा उनले आफू दोषी नरहेको दाबी गरेका छन् र त्यही कुरा उनले फ्लोरिडा फर्केपछि आफ्ना समर्थकहरूलाई गरेको एक सम्बोधनका क्रममा पनि दोहोर्याएका छन्।
‘अमेरिकामा यस्तो हुन सक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ, आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुटा मुद्दा लगाइएको हो, यो तत्काल खारेज हुनुपर्छ’–न्युयोर्कबाट फ्लोरिडा फर्केपछि ट्रम्पले भनेका छन्।
ट्रम्पको गिरफ्तारी र मुद्दाको विषय अमेरिकामा मात्र होइन, विश्वभर चासोको विषय बनेको छ। विश्वका अधिकांश सञ्चार माध्यमले यो विषयलाई उच्च महत्व दिएका छन्। बिबिसी मोनिटरिङले गरेको एक समीक्षाका अनुसार बुधबार बिहानसम्म ट्रम्प ह्यासट्याग भएका पोस्टिङहरूलाई ३४ करोड मानिसले हेरेका छन् र ११ हजारले प्रतिक्रिया व्यक्त गरेका छन्। सामाजिक सञ्जालको कतिपय प्रयोगकर्ताले सत्तारुढ डेमोक्र्याट पार्टीले ट्रम्पविरुद्ध राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् भने अन्यले यो गिरफ्तारीले उनलाई राजनीतिक लाभ दिने बताएका छन्। अमेरिकी कानुनले फौजदारी अभियोगको व्यक्ति पनि चुनावी मैदानमा उत्रन अनुमति दिने भएकाले यो समग्र घटनाक्रमले उनका कट्टरपन्थी समर्थकहरूको झन् बढी उत्साह थपिने कतिपयको आकलन छ।
विभिन्न युरोपेली पत्रिकाले यो कानुनी जीत भएको भएका छन्। चमत्कार अझै हुने गरेको छ (मिराकल्स स्टिल डु ह्यापन) भनेर जर्मनीको डेर स्पाइगेल पत्रिकाका पंक्तिकार रोनाल्ड नेलेस लेख्छन्–‘न्यायका पांग्राहरूलाई धेरै समयसम्म भ्रममा पारेर र विभिन्न जालझेल गरेर बसेका ट्रम्प अन्ततः कानुनको अगाडि सर्वसाधारण जस्तै निरीह बनेका छन्।’ अमेरिकाको प्रतिद्वन्द्वी राष्ट्र रुसको सरकारी पत्रिका इजभेस्टियाले यसलाई उदारवादको संकटका रूपमा लिएको छ। पत्रिकाले स्वतन्त्र र प्रजातान्त्रिक प्रणालीले आफैँलाई समाप्त र निषेध गर्ने तर्क गरेको छ। यसैगरी चीनको सामाजिक सञ्जाल वाइवोमा पनि यो विषयमा चर्काे बहस भएको छ।
कानुनी प्रक्रियाअन्तर्गत उनले आगामी दिनमा या अदालतबाट सफाइ पाउलान् अथवा दोषी ठहरिएर केही वर्षका लागि जेल जालान् तर यो घटनाले प्रमाणित गरेको महत्वपूर्ण पक्ष भनेको कानुनी सर्वाेच्चता हो। हरेक समाज र त्यसमा रहेका व्यक्तिले नियम÷कानुनको परिपालना गर्नुपर्छ। कानुनी राज्यको आधारभूत सिद्धान्त पनि यही हो। प्रजातन्त्रको आधारभूत सिद्धान्त पनि यही हो। पद र ओहोदाका हिसाबले जतिसुकै ठूलो र शक्तिशाली व्यक्ति भए पनि उसले आपराधिक र गैरकानुनी कार्य गरेको छ भने कानुनले तोकेको सजाय भोग्नुपर्छ।
अमेरिकामा मात्र होइन, विश्वका अन्य राष्ट्र प्रमुखहरूले पनि यस प्रकारका अभियोग खेपेका छन्। फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराक र निकोलस सार्काेजी, इटालीका वेटिनो क्र्याक्सी, सिल्भियो बुलोस्कोनी, इजराजयका मोसे काटसभ, इहुज ओलमर्ट र बेन्जामिन नेतान्याहु जस्ता पूर्व र बहालवाला राष्ट्रपति तथा प्रधानमन्त्रीहरूलगायतका अन्य नेताले कानुनी कारबाही भोगेका छन्।
नेपालको सन्दर्भमा पनि उच्च ओहोदामा रहेका राजनीतिक तथा अन्य शीर्ष व्यक्तिले गर्ने गैरकानुनी कार्यविरुद्ध पनि कानुनी कारबाही अगाडि बढाउन आवश्यक छ। देशमा ठुल्ठूला भ्रष्टाचारका मुद्दा सामुन्ने आए पनि राजनीतिक नेतृत्व सजिलै उम्कने गरेको छ। विगतमा चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्तालगायतका केही राजनीतिक व्यक्तिलाई मात्र कानुन लागेको छ। अरूलाई यसले छुन सकेको छैन। राज्यले दोषीलाई संरक्षण गर्दा समग्र कानुनी व्यवस्था र राजनीतिक प्रणालीविरुद्ध आमवितृष्णा सिर्जना हुने गरेको पाइएको छ। प्रजातन्त्र सुदृढ पार्न र सर्वसाधारणलाई कानुनी शासनको अनुभूति दिन पनि कानुनी सर्वोच्चता अनिवार्य र अपरिहार्य सर्त हो।
प्रकाशित: २३ चैत्र २०७९ ००:१६ बिहीबार