सम्पादकीय

बिदामाथि बिदा

सरकारले ‘जनयुद्ध’ दिवस भनेर सोमबार सार्वजनिक बिदा दिनुलाई उचित कदम मान्न सकिँदैन। एकातिर, मुलुकमा बिदा धेरै भएका छन्। अर्कोतिर, बेलाबेलामा सरकारले आकस्मिक निर्णय गर्दै बिदा थप्दै गरेको छ। सार्वजनिक बिदा धेरै भएका कारण यसै पनि कामका निम्ति समय कम भएको छ। देशमा बिदा घटाउन र काम बढाउन ढिला भइसकेको छ। सरकारी कार्यालयमा १ सय ५० दिन भन्दा बढी बिदा हुनु भनेको कामका निम्ति कम समय हुनु हो। यसरी समय कम हुँदा सर्वसाधारणको काममा ढिलाइ हुन्छ। समयमा काम नहुँदा सरकारी सेवा प्राप्तिमै समय लाग्छ ।

चालु २०७९ सालमा मात्र शनिबारबाहेक ४३ दिन बिदा रहेको हो। यसबीच थपिएका बिदा पनि उत्तिकै छन्। यसैमध्येको एक हो सोमबारको थपिएको बिदा। त्यसमा पनि ५२ दिन शनिबार स्वतः बिदा हुन्छ। भर्खरै पोखरामा विमान दुर्घटना हुँदासमेत सरकारले बिदा दिएको छ। बीचबीचमा अनेकन चाडपर्व आदिका बिदा पनि थपिन्छ। मुलुकमा रहेको बहुल संस्कृतिका निम्ति बिदा दिनु स्वाभाविक हो। तर यसरी बिदा दिँदा अनावश्यक ठानिएकालाई कटाउन निर्मम हुनुपर्ने आवश्यकता छ। सरकारमा रहँदा सबैप्रति प्रिय हुन पनि बिदा दिएर खुसी पार्ने चलन सुरु भएको छ। यसो हुँदा अहिलेसम्म पाइरहेका बिदा नघट्ने र थपिँदै जाने अवस्था हुन्छ।

यसपटक पुस २७ गते पृथ्वी जयन्तीको बिदा दिइयो। जनआन्दोलन २०६२/६३ पछि यो बिदा काटेको भए पनि अहिले राजनीतिक कारणले यसलाई निरन्तरता दिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउन नपरेको भए सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो बिदा थप्ने थिएन। सरकार प्रवेशको सर्त जस्तै भएका कारण यो बिदा थपिनु स्वाभाविक हो। यो बिदा थपिएकै कारण सरकारले सोमबार ‘जनयुद्ध दिवस’ को छुट्टी दिने मौका पाएको छ। अब यो दिवस भविष्यमा काटिने छैन। यस हिसाबले फेरि अर्को एक दिन सार्वजनिक बिदा थपिएको हो।

बिदासम्बन्धी नीतिगत निर्णयमा जहिल्यै अस्थिरता छ। कहिले दुई दिन बिदा दिने, कहिले शनिबार मात्र गर्ने जस्ता निर्णय पटक-पटक भएका छन्। शनिबार र आइतबार दुई दिन बिदा दिएर अन्य सार्वजनिक बिदा घटाउनुपर्छ भन्ने आग्रह भए पनि त्यसरी निर्णय भएन। पूर्ववर्ती शेरबहादुर देउवा सरकारले दुई दिन बिदा दिने निर्णय गरेपछि एक महिनामै परिवर्तन गर्नुपरेको अनुभव छ। दुई दिन साप्ताहिक बिदा दिन थाले पनि अन्य सार्वजनिक बिदा यथावत भएपछि त्यसलाई विकृतिकै रूपमा चित्रण गर्न थालिएको हो। एकातिर, हामीकहाँ सार्वजनिक कार्यालयमा कामको संस्कृति छैन भने अर्कोतिर बिदा थपेर पनि त्यसले तात्त्विक असर पार्दैन।

अहिले सार्वजनिक बिदा धेरै भएको चर्चा चलिरहँदा सरकारी कार्यालयमा कामको संस्कृति राम्रो हुने हो भने पनि विरोध कम हुन सक्छ। कतिपय मुलुकमा सरकारी कर्मचारी र सर्वसाधारणमा कामप्रति अति लगावले गर्दा बिदा बढाउँदै लगेको देखिन्छ। मानिसका कार्यघन्टा कम भएमा तिनको कार्यक्षमता अरू बढ्छ भन्ने विश्वास गरिन्छ। तर हामीकहाँ जति बिदा दिए पनि सार्वजनिक सेवाको स्तर सुध्रिएको छैन। त्यसैले बिदा बढ्नासाथ चिन्ता हुनु स्वाभाविक हो। त्यसैले बिदाका सम्बन्धमा सरकारले एउटा दीर्घकालीन नीति तय गर्नु आवश्यक देखिएको छ। बिदामाथि बिदा थप्ने भन्दा पनि कसरी बिदा कम गर्न सकिन्छ भन्ने चिन्ता र चिन्तन दुबै आवश्यक भइसकेको छ।

‘जनयुद्ध’ दिवस भनेर बिदा दिनुलाई मुलुकको एउटा राजनीतिक परिवर्तनका क्रमको योगदानका आधारमा उचित मान्न सकिएला। तर कुनै न कुनै निहुँमा बिदा थप्नुभन्दा त्यसलाई सिर्जनात्मक ढंगले सम्झना गर्नु उचित हुन्छ। सार्वजनिक बिदा दिएर मात्र कुनै योगदानको कदर हुन्छ भन्ने मानसिकता हटाउनु आवश्यक छ। राष्ट्रिय चाडपर्व वा योगदानलाई बिदाबाट मात्र मापन गर्ने प्रक्रिया उचित छैन। देश बहुल संस्कृतिको केन्द्र भएका कारण भइरहेका बिदा घटाउन मुस्किल हुन सक्छ। सरोकारवाला व्यक्तिहरूसँग छलफल गरी सुविचारित ढंगले बिदा कम गर्नतिर लाग्नैपर्छ। यसो गर्दा मेरो चाड परेन अर्कोको मात्र पर्‍यो भन्ने भावना कम गराउन सकिन्छ।

हाम्रो मुलुक राजनीतिक रन्थमोलमा गुज्रिरहेको छ। वास्तविक अर्थमा मुलुकलाई समृद्ध बनाउने गरी काम गर्नुपर्ने दबाबपूर्ण समयमा सबै तहका सरकार रहेका छन्। तैपनि स्थानीय, प्रदेश र संघीय सरकारले अलग-अलग बिदा दिने गरेका कारण तोकिए भन्दा बढी बिदा हुने गरेका छन्। हाम्रो मुलुकको आवश्यकतालाई ध्यानमा राखेर बिदासम्बन्धी निर्णय हुनु जरुरी छ। परम्परागतरूपमा दिइएका सबै बिदालाई निरन्तरता दिनुपर्ने र नयाँ बिदा पनि थप्नुपर्ने अहिलेको अवस्थामा सुधार आवश्यक भइसकेको छ। मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउने हो भने काम र बिदाको समयमा विचार नगरी हुँदैन। जहिल्यै बिदामा मात्र रमाउने मुलुकले अपेक्षित प्रगति गर्न सक्दैन। अन्तर्राष्ट्रिय जगत्को समेत अनुभव लिएर अगाडि बढ्नुपर्छ। हामीकहाँ काम कम र बिदामै मात्र जोड दिने हो भने यही नै पछौटेपनको कारक बन्न सक्छ।  

प्रकाशित: १ फाल्गुन २०७९ ००:१२ सोमबार

सार्वजनिक बिदा धेरै भएको चर्चा ‘जनयुद्ध’ दिवस भनेर सोमबार सार्वजनिक बिदा