सम्पादकीय

सवारी सास्ती

प्रत्येक पटक राष्ट्रपतिको ‘सवारी’ चल्दा सर्वसाधारणले सास्ती भोग्नुपर्छ। संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार अपराह्न संबोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको दुईतर्फी सवारीमा सडक अस्तव्यस्त भएको छ। यस्तो स्थिति जहिल्यै आउँछ। तैपनि सुधारको प्रयास कहिल्यै हुँदैन। जनता कुटिन्छन्, मुर्मुरिन्छन् र अन्त्यमा अवाक भएर हिँड्छन्। अति विशिष्ठ व्यक्तिको यात्रा चलाउँदा अपनाउनुपर्ने न्यूनतम कार्यविधि भए पनि चाहिने भन्दा बढी नै ढर्रा प्रदर्शन हुन्छ। त्यसले अन्ततः समस्यामा पार्ने भनेको सर्वसाधारणलाई हो। विशेष परिस्थितिका यात्रामा मात्र होइन, अरू बेला पनि राष्ट्रपति सडकमा निस्किएपछि हुने यही हो। यस्तो अवस्थालाई लिएर केही दिन चर्चा÷परिचर्चा हुन्छ, फेरि त्यही सिलसिला अगाडि बढ्छ।  

 आमनागरिकमा यतिबेला वितृष्णा छ। त्यसका अनेकन कारण छन्। त्यसमध्ये एक सर्वसाधारण जहिल्यै हेपिनु पनि हो। राज्यका सेवा/सुविधा लिने बेलामा मात्र होइन, सडकमा निस्कँदा पनि तिनले अनेकन अवरोध खेप्नुपर्छ। जनआन्दोलन २०६२/०६३ पछि जनताकै छोराछोरी राष्ट्रपतिको कुर्सीमा पुगेका छन्। निर्वाचित भएर ती पदमा पुगेपछि भने नागरिकको तहबाट उक्लेर उनीहरू एकाएक ‘राजा÷महाराजा’ बन्न पुग्छन्। नागरिक फेरि नयाँ अनुहारमा उही गति देख्छन्। सर्वसाधारणलाई दुःख नदिइ लोकतन्त्रका यस्ता ‘सवारी’ चलाउन सकिन्छ। सहर अस्तव्यस्त बनाएर एउटा सवारी चलाउनु भन्दा त्यसका निम्ति वैकल्पिक व्यवस्था गर्न पनि सकिन्छ। यस्ता तयारी हुँदैनन्। त्यसको परिणामस्वरूप अति विशिष्टले आमनागरिकबाट लाञ्छित हुने अवस्था आउँछ।

 सडकमा लामो समयसम्म अति विशिष्टको सवारीका नाममा सुरक्षाकर्मीलाई उभ्याएपछि स्वाभाविकरूपमा तिनीहरूमा पनि चिढ्चिढाहट हुन्छ। उनीहरू पनि थाक्छन्। सडकको एकतर्फी बाटो केहीबेरलाई बन्द गरेर अर्कोतर्फ सवारी चलाइरहन सकिन्छ। अति विशिष्टको यस्तो सवारी चल्दा कुनै सुरक्षा चुनौती छैन। सुरक्षा चुनौती त्यतिबेला हुन्छ जतिबेला तिनले आफूलाई जनताबाट टाढा पु¥याउँछन्। जनताकै बीचमा घुम्ने राष्ट्राध्यक्ष र सरकार प्रमुखका निम्ति के समस्या हुन्छ र ? हामीकहाँ धेरै सुरक्षाकर्मीबाट घेरिएर साइरन लगाउँदै सवारी चलाउनुलाई प्रतिष्ठाको विषय बनाइएको छ। यसपटक राष्ट्रपति भण्डारीको सवारीका क्रममा पनि भएको यही हो।  

 यसपटक राष्ट्रपतिको सवारीकै क्रममा ट्रमा सेन्टरमा आफ्नो डिउटी सकेर निस्कन लागेका डा. जनिथ सिंहमाथि प्रहरीले लाठी प्रहार गरेको छ। त्यसले चिकित्साकर्मीलाई आन्दोलित तुल्याएको छ। उनीमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि छानबिनका निम्ति निलम्वनसमेत भएको छ। तत्काल एकजना प्रहरीमाथि कारबाही गरेर यत्रो ठूलो घटनालाई केही समयका निम्ति सामसुम पार्न सकिन्छ। तर यसले सवारी व्यवस्थापनसम्बन्धी गम्भीर प्रश्नको समाधान भने गर्न सक्दैन। हरेकपटक समस्या उत्पन्न हुने, केही दिन यसैमा चर्चा हुने र फेरि पहिलेकै स्थितिमा अगाडि बढ्ने प्रवृत्ति सबै भन्दा घातक छ। गलैँचामुनि फोहोर थुपारेर समस्या समाधान हुँदैन।  

 यो समस्या वर्तमान राष्ट्रपति भण्डारीका बेलामा मात्र देखिएको होइन। उनका पूर्ववर्ती डा. रामवरण यादवका पालामा पनि यही स्थिति रह्यो। यस हिसाबले त्यो स्थानमा रहेका विशिष्ट व्यक्तिले पनि सकेसम्म यस्ता गुनासा आएपछि सामान्य किसिमले सवारी चलाउन भन्नुपर्ने हो। आफ्नो कारणले सर्वसाधारणलाई दुःख नहोस् भनेर तिनले किन भन्न नसकेका होलान् ? हाम्रा विशिष्ट नेताले यो कुरा पक्कै पनि सम्बन्धित सुरक्षा निकायलाई भनेको हुनुपर्छ। नभनेकै भए पनि उनीहरूको छवि बिग्रने गरी वातावरण बिग्रन दिनुहुँदैन। यस्तो स्थितिमा सुरक्षा निकायले सकेसम्म जनतालाई दुःख नहुने गरी सवारी चलाउने तरिका अपनाउनु उचित हुन्छ। राष्ट्रपतिको सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायले पनि बढ्ता चाकडी गर्नै यस किसिमको वातावरण बनाएको अनुभूति हुन्छ।  

 हाम्रो मुलुकको गणतन्त्र नयाँ छ। यसलाई अभ्यासबाटै सम्पुष्ट बनाउँदै जानुपर्छ। समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र प्रक्रियामै हराइरहेको छ। यो आमनागरिकको जीवनस्तरमा सुधार ल्याउने भन्दा पनि गलत अभ्यासमा बढ्ता अग्रसर छ। त्यही भएर यसको विरोधमा धेरै मानिस देखिन थालेका छन्। कैयन् मुलुकमा अहिले राष्ट्रपतिको सवारीलाई समेत सामान्य ढंगले अगाडि बढाउँछन्। हामीकहाँ भने रिसल्लासहितको घोडाबग्गीमा सवारी चलाएर के सन्देश दिन खोजिएको हो ? कैयन् मुलुकमा राष्ट्रपति सार्वजनिक यातायातमा निस्कन्छन् र सर्वसाधारणसँगै यात्रा गर्छन्। उनीहरू कहिले साइकलमै सडकमा फेला पर्छन्। हामीकहाँ शासन गर्ने व्यक्तिहरूले आफूलाई आमनागरिकबाट धेरै टाढा लगेको देखिन्छ। यस्तो प्रवृत्तिमा सुधार आवश्यक भइसकेको छ।  

 मुलुकले दुईजना राष्ट्रपति पाइसकेको छ। अब यही फागुन २५ गते तेस्रो राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपति संस्थालाई बदनाम गराउने विगतका केही घटनाबाट पनि सिक्नु आवश्यक भइसकेको छ। अन्यथा, आमनागरिकको साँचो सम्मान र विश्वासबेगर कुनै व्यक्ति पनि त्यो पदमा पुगेर ताŒिवक परिवर्तन महसुस हुँदैन। गणतन्त्रलाई आत्मसात गर्ने गरी आमनागरिकमा स्वामित्व पु¥याउन सकिएन भने सबै प्रयास निरर्थक हुन्छन्। त्यो संस्थाका सामान्य अभ्यासले पनि आमनागरिकको मन जित्छ। त्यसमा पनि नेपाली नागरिक थोरै मात्र राम्रो काम हुँदा पनि उत्साहित हुन्छन्। तिनलाई खुसी पार्न गाह्रो छैन। अतः राष्ट्रपतिको अर्को सवारी चल्दा अहिलेका दुःखहरू निवारण हुन सक्ने गरी सरकारले प्रयास गर्नुपर्छ।

प्रकाशित: २८ माघ २०७९ २३:४६ शनिबार