राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली मिडिया, प्रकाशक र सम्पादकहरूका विषयमा जे जस्तो अभिव्यक्ति दिए, त्यो आपत्तिजनक छ। उनले मिडियाकै कारण आफ्नो उपप्रधान एवम् गृहमन्त्री र सांसद पद गएको मात्रै बताएनन्, त्यसको झोंकमा आफ्नो आक्रोश झल्किएको पनि भन्न भ्याए। यसैबाट पनि प्रस्ट हुन्छ कि नेपाली पत्रकारिता र पत्रकारका विषयमा उनका भनाइ कति आधारहीन छन् भनेर।
जब व्यक्तिले स्वविवेक गुमाउँछ र आवेगपूर्ण अभिव्यक्ति दिन्छ, त्यो आधारहीन, कपोलकल्पित, अप्रमाणित लाञ्छना र बर्बराहटबाहेक केही हुन सक्दैन। आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले त्यही झल्को दिए। उनले आफ्नो विगतको उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदको त ख्याल गरेनन् नै, आफू संसद्को चौथो ठुलो दलको सभापति भन्ने कुरालाई पनि हेक्का राखेनन्। साथै विगतमा आफ्ना जे जस्ता हैसियत थिए, ती सबैलाई बिर्सिएर नेपाली मिडियाप्रति निम्नस्तरको गालीगलौजमा उत्रिए। यसले उनको क्षणिक आवेग त साम्य भयो होला तर उनको यो अभिव्यक्तिले उनी आफै र उनको पार्टीलाई अधोगतितर्फ लैजाने कुरामा कुनै शंका छैन।
विगतमा लामिछानेले एक सञ्चारकर्मीका नाताले नेपालको राजनीति र नेताका विषयमा प्रश्न उठाएका हुन्। उनले उतिबेला सञ्चार माध्यममार्फत राजनीति र नेताका विषयमा गरेका टिप्पणी आचारसंहिताको कसीमा कति ठिक/बेठिक थिए भन्ने छुट्टै बहसको विषय बन्ला। तर, उनका उतिबेलाका टिप्पणीले राजनीतिक नेतृत्व र सरकारप्रति आमजनतामा घृणा उत्पन्न गराउने काम भने पक्कै पनि गरेको थियो। हो, त्यही घृणाजन्य अभिव्यक्तिको जगमा उनको राजनीतिक उदय भएको हो।
सबै राजनीतिक दल र नेतालाई पदलोलुप र भ्रष्टको संज्ञा दिने उनै ‘सञ्चारकर्मी’ लामिछाने निर्वाचन जितेपछि जसरी पनि सरकारमा जान मरिहत्ते गरेर लागे। त्यसमा उनी सफल पनि भए। तर, उनी सरकारमा नजाँदै उनको नागरिकता र राहदानी विवाद छताछुल्ल भएको थियो। त्यो अवस्थामा उनले केही समय धैर्य गर्न सक्थे तर त्यसो गर्न चाहेनन् र गृह मन्त्रालय नै सम्हाले। उनको नागरिकता र राहदानी विवादको छानबिनसँग सोझै जोडिने मन्त्रालय पनि गृह नै थियो। यो अवस्थामा नेपाली मिडियाले लामिछानेले गृह सम्हाल्दा स्वार्थको द्वन्द्व (कन्फिक्ट अफ इन्ट्रेस्ट) भयो भन्ने कुरालाई उठाएका हुन्। यही सेरोफेरोमा सर्वाेच्च अदालतको फैसलाका कारण उनको उपप्रधान एवम् गृहमन्त्रीदेखि सांसदसम्मको पद गयो। हो, त्यसैका कारण नेपाली मिडियाप्रति उनलाई झोंक चलेको हो, जसको परिणामस्वरूप उनी तथानाम गाली गर्न उद्यत भएका हुन्।
त्यसो त सार्वजनिक पदमा पुगेका व्यक्तिलाई प्रश्न गर्नु मिडियाको उत्तरदायित्व र धर्म नै हो। विगतमा पनि मिडियाले प्रश्न उठाएकै कारण कतिपय मन्त्रीका पद गएका छन्। तर, उनीहरू कसैले पनि मिडियालाई गाली गरेनन्, बरु आफ्ना कमजोरीलाई सुधार्दै राजनीतिमा पुनः उदाएका छन्। लामिछाने आफैले पनि कति नेताका विषयमा अनर्गल प्रचारबाजी गरे होलान्, एकपटक आफ्नै अनुहार हेरे पर्याप्त हुने थियो। तर, अहिले त मिडियाले विगतमा उनले नेताप्रति गरेकोजस्तो अनर्गल प्रचारबाजी गरेका होइनन्, उनी आफैले स्वीकार गरेको यथार्थ तथ्यलाई उठाएका हुन्।
लामिछाने आफैले दोहोरो नागरिकता र राहदानी लिएको स्वीकार मात्रै गरेका छैनन्, सार्वजानिक सञ्चार माध्यममार्फत घोषणा नै गरेका छन्। अहिले मिडियाले उठाएको विषय पनि त्यही हो। तर, यसलाई लिएर उनले मिडियामाथि तथानाम गालीगलौज मात्रै गरेका छैनन्, आफ्ना कार्यकर्ता र शुभेच्छुक लिएर घेराउ गर्ने धम्कीसमेत दिएका छन्।
उनको आशय मिडियाले आफ्ना सकारात्मक कुरा मात्रै लेखिदिऊन् भन्ने छ। चार महिनामै आफू राजनीतिमा उदाएको विषयमा मिडियाले नसोधिदिएको र सफलताको कथा नलेखिदिएकोमा उनको चित्त दुखाइ छ। एकातिर उनी आफ्नो सफलताको कथा नलेखिदिएकोमा मिडियाप्रति चित्त दुखाइ गर्छन्, अर्काेतिर उनको नागरिकता र राहदानी विवादको विषय सञ्चार माध्यममा आएकोमा धम्की दिन्छन्। स्वतन्त्र मिडियाको मुख थुन्न उनले जे हर्कत गर्न खोजेका छन्, त्यो उनको अधिनायकवादी चरित्र हो।
राजनीति त्यसमाथि सार्वजानिक पदको जिम्मेवारी उनले सोचेजस्तो सहज छैन। यस्तो जिम्मेवारीमा जो जान्छ, उसले अनगिन्ती प्रश्नको सामना गर्नुपर्छ र आफू जवाफदेही पनि बन्नुपर्छ। त्यस्तो प्रश्न गर्ने/जवाफदेहिता खोज्ने मुख्य सरोकारवाला पक्ष मिडिया नै हो। त्यसैले त लामिछानेले सार्वजानिक उत्तरदायित्व र जवाफदेहिताका विषयमा प्रश्न गर्ने मिडियालाई ‘दुस्मन’ देखे। हो, उनी राजनीतिको आवरणमा मिडियामाथि विषवमन गर्दै घृणा फैलाउन चाहन्छन् किनकि सार्वजनिक पदमा पुगेकाको जवाफदेहिता र नैतिकताको प्रश्न उठाउने मिडियाको तागत उनले राम्रैसँग बुझेका छन्। त्यसैले उनले मिडियालाई आफ्नो अवरोधक ठान्छन् र मुख थुन्न चाहन्छन्। तर, उनले बुझ्नुपर्ने तथ्य के हो भने मिडिया यस्ता धम्कीबाट डराउँदैन। बरु, लामिछानेले स्वतन्त्र मिडियालाई जे जस्तो लाञ्छना लगाउँदै धम्की दिएका छन्, त्यो फिर्ता लिएर सार्वजनिक रूपमै माफी मागून्।
प्रकाशित: २४ माघ २०७९ ००:०८ मंगलबार