सम्पादकीय

गरिखान देऊ

इलामको सूर्योदय नगरपालिका-११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफैँलाई आगोको लप्कामा हालेर सन्देश दिएका छन्-देशमा गरिखाने अवस्था छैन। विद्यमान व्यवस्थाप्रति गरिखाने नागरिकको पीडालाई विद्रोहको स्वरूप दिएर उनले आफ्नो इहलीला समाप्त पारेका हुन्। आफ्ना कुरा बुझाउन उनले गरेको संघर्षलाई सामाजिक सञ्जालमा लेखेका छन्। उपचारकै क्रममा उनको निधन भएको छ। उनले विद्यमान व्यवस्थाका बारेमा उठाएका प्रश्नको महत्ता कम भएको छैन। बरु यसले झन् गम्भीर बनाएको छ।

संघीय संसद् भवनअगाडि आचार्यले मंगलबार आत्मदाह गरेका हुन्। आत्मदाहबाट ८० प्रतिशतभन्दा बढी शरीर जलेका उनलाई वर्न अस्पताल कीर्तिपुर पुर्‍याइएको भए पनि बचाउने कार्य सफल भएन। गरिखाने वर्गको जटिल अवस्थालाई उनले उजागर गरेका छन्। प्रत्येक व्यक्ति यतिबेला यस्तै छटपटी र बेचैनीमा बाँचेको छ। देशभित्र केही गरौँ भनेर प्रयास गरिरहेका व्यक्तिहरूको अवस्था अत्यन्त कठिन छ। त्यो कठिनाइले अन्ततः आत्मदाह जस्तो कठिन अवस्थामा पुर्‍याउन बाध्य बनाएका देखिन्छ।

राज्य प्रणालीको काम कारबाही प्रतिक्रियात्मक मात्र छ। आचार्यले आत्मदाह गरेलगत्तै प्रहरीले पेट्रोलियम पदार्थ खुला रूपमा बिक्री नगर्न सूचित गरेको छ। पेट्रोल पम्पले मंगलबार रातिदेखि नै यो व्यवस्थाको पालना गरिसकेका छन्। यो सावधानीको आफ्नो महत्त्व हुन सक्छ। तर, यो घटना खुलारूपमा पेट्रोल बोकेकै कारण भएको हो भन्ने सोच बनाउने हो भने याथर्थ नजिक पुगिँदैन। नागरिकमा देखिएको यो तहको जीवनप्रतिको मोहभंग अवस्थाको निकास भने राज्यकै तहबाट खोज्न ढिला भइसकेको छ। आमनागरिकले असहाय महसुस गर्नुपर्ने अवस्थाबाट पनि राज्यको ध्यानाकर्षण हुँदैन भने यहाँ सुधारको कुनै गुञ्जायस छैन भन्ने मान्यतालाई बल पुग्छ।

यस घटनालाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको एउटा भावुक अभिव्यक्ति सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ। उनले यसलाई ‘हिजोदेखिको निराशा र पीडाको परिणाम’ भनेका छन्। ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो,’ उनी अगाडि लेख्छन्, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।’

घटनालगत्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की आचार्यलाई भेट्न पुगेकी थिइन्। उनले मन्त्री मात्र होइन, स्वास्थ्यकर्मीसमेत रहेका कारण घाइतेको जिब्रो हेर्नेदेखि अन्य जाँच पनि गरेकी थिइन्। घाइते आचार्यले उनकै दलका नेता एवं गृहमन्त्री लामिछानेलाई समेत सोधेको थिए। शायद यो सबै थाहा पाएका लामिछानेले यसमा आफूसमेत दोषी रहेको बताएका हुन सक्छन्। वास्तवमा यसपटक निर्वाचनमा देखिएको परिणाम आमनागरिकमा रहेको निराशाको परिणाम पनि हो। त्यो निराशालाई चिर्ने गरी तत्काल काम हुन सक्ने अवस्था छैन। यो अवस्थामा ‘हिजोदेखिको निराशा र पीडाको परिणाम’ भनेर आफूलाई पन्छाउन नसकिने होइन। तर हिजोका बेथिति सुधार्न हिँडेका नयाँ नेताको गति र गन्तव्यको खोजीबारे आमनागरिक चिन्तित हुनु स्वाभाविक हो।

यस स्थितिमा शृंगारिक सुधारभन्दा संरचनागत परिवर्तन अहिले टड्कारो देखिएको छ। हिजो जस्तो प्रत्येक १० वर्षमा राजनीतिक परिवर्तनको वातावरण तत्कालका निम्ति देखिँदैन। एकपछि अर्को राजनीतिक परिवर्तन गरी भनेकै जस्तो व्यवस्था पनि आएको छ। अहिलेको राजनीतिक व्यवस्थाका खेलाडीहरूसमेत तीन दशकदेखि क्रियाशील छन्। देश लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा ‘क्लेप्टोक्रेसी’ (चोरहरूको शासन) बन्दै गएको छ। हिजो नेतालाई ‘चोर आयो’ भन्छन् भनेर क्रान्तिकारी भाषण गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन अहिले आफैँ शासनमा छन्।

लामिछाने र लिङ्देन अहिलेको शासन व्यवस्थाका सुधारिएका अनुहार हुन्। यिनीहरूले अहिलेको अवस्था सुधार्ने विश्वास दिलाएर आएका हुन्। भावुक मन्तव्य सार्वजनिक गर्नमै सीमित भए भने अपेक्षित उपलब्धि हासिल हुन सक्दैन। एउटा सर्वसाधारणले राज्यबाट प्राप्त गर्ने सेवा सहज छैनन्। उसले व्यापार व्यवसाय गर्ने, उन्नति गर्ने अवस्थामा यहाँको प्रणालीबाट सहयोग पाउँदैन। त्यही भएर प्रत्येक युवा विदेश भासिन चाहन्छ। पढेको युवा पनि देशमा सपना देख्दैन। नपढेको युवा पनि यहाँ कुनै विपनामा बाँच्न सक्दैन। जतासुकै राजनीतिक अव्यवस्थाले सर्वसाधारणलाई आक्रान्त तुल्याएको छ।

अर्थतन्त्र आफन्तीतन्त्रमा अनुदित भइसकेको छ। एउटा निश्चित वर्गले मात्र यहाँको बैंकिङ प्रणालीदेखि राज्यसम्मको सहयोग पाएर व्यवसाय विस्तार गरिरहेको छ। यहाँको प्रणालीबाटै आफूलाई विकास गर्ने आकांक्षा लिएका व्यक्तिले यस्तो अवसर पाउँदैनन्। जताततै ‘स्वार्थको द्वन्द्व’ छ। सर्वसाधारणले व्यवस्थासँगै अवस्था पनि परिवर्तन हुन्छ भन्ने अपेक्षा गरे पनि स्थिति त्यता गएको छैन। दिनानुदिन कष्टकर अवस्थातर्फ मुलुकको परिस्थिति अगाडि बढेको छ। त्यसैले प्रत्येक व्यक्तिले सहजै आफ्नो पेसा र व्यवसाय चुनेर अगाडि बढ्न सक्ने प्रणालीगत सुधार आवश्यक भइसकेको छ। कुनै दलविशेषमा नलागेका र राज्य संयन्त्रभित्र आफूलाई सहयोग गर्ने व्यक्ति नभएकाले अहिलेको परिपाटीमा बाँच्न सजिलो छैन।

किसानले सडकमा किन गोलभेँडा फ्याँक्नुपरेको छ? पशुपालकले किन सडकमा दुग्धजन्य उत्पादन पोख्नुपरेको छ? किन थोरै स्वाभिमान भएको व्यक्तिले यहाँ बाँच्न नसकिने स्थिति अनुभव गर्नुपरेको छ? आमनागरिकमा निरीहपन  बढ्दो छ। त्यो अवस्था सामूहिकतामा अनुदित भयो भने विद्रोह हुन्छ। एक्लो महसुस भयो भने आचार्यको जस्तो पीडादायी अन्त्य हुन्छ। यसकारण आत्मदाहको यो घटनाबाट गम्भीर समीक्षा गर्दै राज्यले आफूलाई परिवर्तन गर्नु आवश्यक छ। नेताहरूले आफ्नो दल र कार्यकर्ता मात्र होइन, देश परिवर्तनका निम्ति काम गर्न सक्नुपर्छ। यसकारण अहिलेको यो घटना भविष्यमा नदोहोरिने गरी काम थाल्नु उचित हुन्छ। अन्यथा परिस्थिति हातबाट गुम्न धेरै समय लाग्दैन। सर्वसाधारणलाई गरिखान दिने व्यवस्था अहिले आवश्यक देखिएको छ। यसले मात्र अवस्थामा परिवर्तन ल्याउँछ। 

प्रकाशित: ११ माघ २०७९ २३:४९ बुधबार

आत्मदाह विद्यमान व्यवस्थाप्रति गरिखाने नागरिकको पीडा