अर्थ

निर्वाचनअघि २५ अंकले बढ्यो शेयरबजार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि २५.५७ अंकको हरियालीसहित शेयरबजार बन्द भएको छ। निर्वाचनपछि नयाँ सरकार बन्ने उत्साहसहित बिहीबार शेयरबजारमा २५.५७ अंकले शेयर वृद्धि भएर १९३६.८३ विन्दुमा पुगेको छ। अर्काेतर्फ नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांकले पनि मुलुकको अर्थतन्त्र सुध्रिदै गइरहेको देखाएको छ। 

त्यसैगरी वाणिज्य बैंकहरूले पनि मंसिर महिनामा ब्याजदर वृद्धि नगर्ने लगायतका कारणले पनि शेयरबजारमा उत्साह जगाएको हो। बिहीबार २५.५७ अंकले शेयरबजार बढ्दा १ अर्ब ७१ करोड ५४ लाख रूपैयाँको शेयर कारोबार भएको थियो। १७२ कम्पनीको शेयर बिहीबार बढोत्तरी भएको थियो। यो साता शेयर बजार समग्रमा ३०.२६ अंकले बढेर बन्द भएको छ। यो साताको आइतबार र मंगलबार शेयरबजार घटेको थियो भने अन्य तीन बार भने शेयर बढेको थियो। साताको चौथो दिन बुधबार नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगी बन्द भएको थियो। सो दिन २४ लाख ९५ हजार ६ सय १२ कित्ता शेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रूपैयाँको शेयर कारोबार भएको थियो।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको थियो। मंगलबार २७ लाख ४५ हजार १ सय ९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँको शेयर खरिद बिक्री भएको थियो। 

प्रकाशित: २ मंसिर २०७९ ०१:३८ शुक्रबार

नेप्से परिसूचक