अर्थ

बेस्ट एअरलाइन्स अवार्ड हुँदै

नेपालमा पहिलोपटक बेस्ट एअरलाइन्स अवार्ड (बान) आयोजना हुने भएको छ।

मुलुकको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उदेश्यले अवार्ड आयोजना हुने भएको हो।

नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने उद्देश्यका साथ १३ डिसेम्बर २०२२ का दिन विशेष समारोहका माझ बेस्ट एअरलाइन्स अवार्ड नेपाल-२०२२ घोषणा गरिने बानका उपाध्यक्ष लालचन्द्र गौतमले बताएका छन्।

विभिन्न १६ विधामा दिइने बेस्ट एअरलाइन्स अवार्डमध्ये ३ वटा विधा नेपालका एयरलाइन्सका लागि छुट्याइएको छ। बाँकी ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायु सेवाले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारहरूको प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत र मूल्यांकनका आधारमा तय गरिने अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एशोसिएसन नेपालका अध्यक्ष सिर्जना राणा, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती लगायतका व्यक्तित्वहरू रहेका छन्।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एअरलाइन्स अवार्ड नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक, आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन्। अवार्डको निष्पक्षताका लागि आयोजकले नेपालमा सेवाप्रदायकको रूपमा सक्रिय वायुसेवा र यस व्यवसायमा आबद्ध संघसंस्थासँग आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोन्सरसिप नलिने भएको छ। अवार्ड निष्पक्ष होस् भन्ने हेतुले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डल गठन गरी तिनलाई पूर्ण अधिकार दिइएको दाबी आयोजकको छ।

यस्तै काठमाडौं बेस्ट एअरलाइन्स अवार्ड नेपालको हस्पिटालिटी पार्टनरको रूपमा हायात प्यालेस रहेको छ।  

प्रकाशित: १ मंसिर २०७९ ०१:४९ बिहीबार

मुलुकको पर्यटन क्षेत्र हवाई क्षेत्रले गरेको योगदान