अर्थ

त्रियुगा नगरको बजेट १ खर्ब २३ करोड

बजेट पुस्तिका सार्वजनिक गर्दै मेयर,उपमेयर र प्रप्र अधिकृत। तस्विरः महेश्वर

त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ। सोमबार नगरपालिकाकै सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आवधिक गतिविधिको ‘सार्वजनिक सुनुवाई’सँगै बजेट पुस्तिका सार्वजनिक गरेको हो।  

कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले संयुक्त रुपमा बजेट पुस्तिका सार्वजनिक गरे। सार्वजनिक पुस्तिकामा चालु वर्ष त्रियुगाले गर्ने नीति तथा कार्यक्रम, वार्षिक बजेट, योजनाहरुको बिबरण समेटिएको छ।  

चालु वर्ष नगरपालिकामा १ अर्ब २३ करोड ५३ लाख ३० हजार ४ सय ४० रुपैंयाको आम्दानी तथा खर्च हुने पुस्तिकामा उल्लेख छ। नगरपालिकाले गत वर्षभन्दा चालु वर्ष १० करोड २० लाख २७ हजार २ सय ९५ रुपैंया बढीको बजेट बनाएको छ। गतवर्ष त्रियुगाको बजेट १ अर्ब १३ करोड ३३ लाख ३ हजार १ सय ४५ रुपैयाँ थियो।  

कार्यक्रमबारे जानकारी गराउँदै मेयर बस्नेतले गत वर्षभन्दा चालु वर्ष आन्तरिक र बाह्य दुवै स्रोत बढ्ने अनुमान अनुसार बजेट बनाइएको बताए। उनका अनुसार चालु वर्ष गत वर्षभन्दा संघीय सरकार र प्रदेश सरकारले दिने बित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान सबै बढेर आएकाले बजेटको आकार बढेको हो। त्यसैगरी आन्तरिक स्रोततर्फ पनि आम्दानी बढ्ने अनुमान वार्षिक नीति कार्यक्रमले गरेको छ।

गतवर्ष संघीय सरकारले वित्तीय समानीकरण शीर्षकमा २२ करोड २५ लाख दिएकोमा चालु यसवर्ष २३ करोड ४८ लाख दिएको छ। जस अनुसार गतवर्षभन्दा १ करोड २३ लाख बढी यो वर्ष आउने भएको छ। त्यस्तै सशर्ततर्फ गतवर्ष ५३ करोड ५९ लाख दिएको संघीय सरकारले यसवर्ष ५७ करोड २४ लाख दिने भएको छ। यसरी सशर्ततर्फ पनि गत वर्षभन्दा ३ करोड ६५ लाख बढी आउने बस्नेतले बताए।  

त्यसैगरी गतवर्ष समपूरक अनुदान १ करोड १० लाख तथा विशेष अनुदान १७ लाख ७९ हजार ७ सय ५० आएकोमा यसवर्ष समपूरक अनुदान १ करोड ८४ लाख आउँदा विशेष अनुदान ३ करोड ४९ लाख आएको छ। यसरी संघीय सरकारबाट चालुवर्ष ८६ करोड ५ लाख आउने छ भने गतवर्ष ७७ करोड १२ लाख ४९ हजार ७ सय ५० मात्र आएको मेयर बस्नेतले बताए।  

उता प्रदेश सरकारबाट भने गतवर्षको दाँजोमा बजेट घटेर आएको छ। गतवर्ष प्रदेशले वित्तीय समानीकरण, सशर्त र समपूरक गरी ६ करोड २४ लाख पठाएको थियो। तर, चालु वर्ष सो आकार घटेर ३ करोड ३४ लाख ६६ हजारमा सीमित भएको छ।  

प्रमुख प्रशासकीय अधिकृत वनले गएको वर्षभन्दा यो वर्ष संघबाट बजेट थपिएर आएको तथा आन्दरिक आमदानी पनि बढ्ने अनुमानका आधारमा बजेटको आकार बढाइएको बताए। उनका अनुसार संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमबाहेक त्रियुगाले आन्तरिक स्रोत र राजश्व बाँडफाँडलाई आमदानीको मुख्य स्रोत बनाएको छ। वनले राजश्व बाँडफाँड र प्रदेश सवारी साधन करलाई आन्तरिक आयको मुख्य स्रोत अनुमान गरेको बताए।  

जस अनुसार राजश्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशूल्कबाट १९ करोड ८५ लाख आय हुने अनुमान गरेको हाकिम वनले बताए। त्यसैगरी प्रदेश सवारी साधन करबाट १ करोड ७२ लाख ७९ हजार ४ सय ४० रुपैंया आमदानी हुने अनुमान नगरपालिकाले गरेको उनको भनाइ छ।  

१२ करोड ८५ लाख आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको नगरपालिकाले विभिन्न २० वटा शीर्षकलाई मुख्य आमदानीको स्रोत मानेको छ। जसमा सबभन्दा बढी आमदानी ‘अन्य राजश्व’ शीर्षकलाई मानेको छ। यो शीर्षकबाट नगरपालिकाले ५ करोड ५० लाख आय गर्ने अनुमान गरेको हाकिम वनले बताए। त्यस्तै सिफारिस दस्तुरवापत १ करोड २० लाख आमदानीको अपेक्षा गरेको छ। नगरपालिकाले अन्य राजश्व शीर्षकमा गतवर्ष पनि सोही अंक संशोधित अनुमानमा राखेको थियो। सिफारिस दस्तुरवापत भने नगरपालिकाले चालुवर्षभन्दा २० लाख कम अर्थात १ करोड मात्र अनुमान गरेको थियो।  

चालुवर्ष कार्यालय सञ्चालन खर्चमा ३०.१८ प्रतिशत हिस्सा अर्थात १९ करोड ३० लाख छु्ट्याइएको हाकिम वनले बताए। बाँकी ७९.८२ प्रतिशत अर्थात ४४ करोड ६४ लाख २३ हजार ४ सय ४० रुपैंया विकासतर्फ बिनियोजन गरिएको उनले बताए।  

प्रकाशित: २९ कार्तिक २०७९ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App