अर्थ

ग्लोबल र बैंक अफ काठमाण्डू एकापसमा गाभिँदै

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने सम्बन्धमा सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई गाभिएपछि कूल ५७ अर्ब पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ।  

यसअघि दुबै बैंकबीच गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कूलनिक्षेप ४०० अर्ब, र कूल कर्जा ३७९ अर्ब रूपैयाँभन्दा बढी हुने बैंकले जनाएको छ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्ने दाबी बैंकले गरेको छ।

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने भएका छन् । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुने सम्झौतामा उल्लेख छ । 

प्रकाशित: २९ कार्तिक २०७९ ०२:२५ मंगलबार

ग्लोबल आइएमई बैंक बैंक अफ काठमाण्डू