अर्थ

संसद् भवन निर्माणमा ढिलाइ

फाइल तस्बिर।

प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्। सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन।

यही आसन्न निर्वाचनबाट संघीय संसद्मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएर आउँदैछन्। सुरुको ठेक्का सम्झौता अनुसार संघीय संसद् भवनको संरचना २०७९ असोज १६ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

ठेकेदार कम्पनीको ढिलासुस्ती र समयमै साइट उपलब्ध नहुँदा अहिले संघीय संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिपक श्रेष्ठले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्मा नयाँ निर्वाचित भएर आउने सांसदहरू तत्कालै सिंहदबार सर्न सक्ने अवस्था नभएको बताए।

‘अहिलेसम्म संघीय संसद् भवनको बाहिरी संरचना मात्रै तयार हुने अवस्थामा आएको छ,’ उनले भने, ‘संसदभवनको भित्री सजावट तथा अन्य प्राविधिक काम अझै सुरु भएको छैन। त्यसैले संघीय संसद् तुरून्तै सर्न सक्ने अवस्थामा छैन।’ अहिलेको संघीय संसद् भवन नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चल्दै आइरहेको छ।

सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले संघीय संसद् भवन परिसरका संरचनाको समष्टिगत भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको बताए। ‘संघीय संसद् भवन परिसरमा रहेका संरचनाहरूको छानो हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘परिसरका भवनमा आवश्यक साजसज्जा लगायतका काम भने बाँकी नै छन्। यसका लागि पनि कम्तिमा ८ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ।’

सुरुको ठेक्का सम्झौता अनुसार संघीय संसद् भवन २०७९ असोज १६ गते भित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। कोभिड १९ लगायतका विविध कारणले यो संरचनाको म्याद २०७९ चैत १६ गतेसम्म थप गरिएको छ। सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले आगामी चैत मसान्तसम्म पनि आयोजनाको सबै काम गर्न नसकिने बताए।

सजावटको ठेक्का अझै भएन

संघीय संसद् भवन परिसरमा निर्माणाधीन भवनहरूको भित्री सजावट तथा डेकोरेसन लगायतका कामको पनि अहिलेसम्म ठेक्का आह्वान गरिएको छैन। त्यसैले पनि संघीय संसद् भवनको सम्पूर्ण संरचना निर्माण सम्पन्न हुनका लागि अझै एक वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ।

सिनियर डिजिभनल इन्जियर श्रेष्ठले संसद् भवनका संरचनामा आवश्यक सजावट लगायतका कामको लागत इष्टिमेट तयार पार्ने काम भइरहेको बताए। ‘भित्री सजावटको लागि आवश्यक डिजाइन तथा बोलपत्र तयार पार्ने काम भइरहेको छ,’ उनले भने ‘छानो तथा छतमा आवश्यक काम सकिने बित्तिकै सजावटको काम अघि बढाइनेछ।’

ठेकेदार कम्पनी तुँदी-एसएचइसी जेभीको ढिलासुस्ती र लापारबाहीको कारणले यो संरचना निर्माण गर्न नसकिएको हो। सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको बाहिरी संरचना लगभग तयार भए पनि फिनिसिङ र डेकोरेसनको काम बाँकी नै रहेको बताए।

‘निर्माणाधीन भवनको बाहिरी संरचना लगभग अन्तिम चरणमा पुगीसकेको छ,’ उनले भने-‘भवनभित्रका संरचनाको काम भने हुन सकिरहेको छैन।’ भवनभित्रको आवश्यक फिनिसिङ, मार्वल, टायल ओछ्याउने, इलोक्ट्रोमेकानिकल लगायतका संरचना निर्माणको काम अझै बाँकी छ।’

सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवनभित्रको मेकानिकल, प्लम्बिङ, विद्युत् वायरिङ लगायतका काम प्रभावित हुँदै आइरहेका छन्। सरकारले आफ्नै स्वामित्वको संसद् भवनसम्बन्धी अभाव टार्न भ्याटसहित पाँच अर्ब ६८ करोड ३९ लाख रूपैयाँ लागतमा सिंहदरबारमा उक्त भवन निर्माण गर्न थालेको हो। संघीय संसद् भवन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी निर्माण गरिँदैछ।  

प्रकाशित: २८ कार्तिक २०७९ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App