अर्थ

हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ।

उपमहानगरपालिकाको कुल दुई अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा दुई अर्ब २० करोड ५२ लाख खर्च भएको छ।

गत आर्थिक वर्षमा सो पालिकाको एक अर्ब ३० करोड १७ लाख बजेट रहेकामा  एक अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै पूँजीगततर्फ एक अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा एक अर्ब आठ करोड ३७ लाख खर्च भएको छ। हेटौंडा उपमहानगरपालिकाले आव २०७८÷७९ मा आन्तरिकतर्फ २८ करोड ४२ लाख ८२ हजार राजस्व संकलन गरेको छ।  

विभिन्न सिफारिश दस्तुरवापत दुई करोड ८८ लाख र नक्सापास दस्तुरवापत दुई करोड ३७ लाख र व्यवसाय करवापत एक करोड ७९ लाख ४४ हजार राजस्व संकलन गरेको छ। साथै १९ वडाबाट पाँच करोड ३२ लाख राजस्व संकलन तथा नदीजन्य पदार्थको बिक्रीबाट चार करोड ३० लाख राजस्व संकलन गरेको छ।  

हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ। समाज कल्याण शाखाअन्तर्गत ४५.५८ प्रतिशत वित्तीय प्रगति भएको छ। यसका लागि एक करोड २१ लाख बजेट विनियोजन भएकामा ५५ लाख ३८ हजारमात्र खर्च भएको छ। नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाइने र जनताको कामलाई सरल तथा सहज बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताए। रासस

प्रकाशित: २६ कार्तिक २०७९ ०९:३७ शनिबार

हेटौंडा उपमहानगरपालिका