अर्थ

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न आग्रह

सुनचाँदी व्यवसायीले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न आग्रह गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमै बाधा पुगेको भन्दै सिधैं निर्देशिका जारी गर्न आग्रह गरेको हो।

त्यसक्रममा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको मागलाई आफूले सकारात्मक रूपमा लिएको र शीघ्र निर्देशिका जारी गर्न पहल गर्ने बताए। उनले यसका लागि आवश्यक अध्ययन गरी शीघ्र प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्। सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट निर्देशिका नहुँदा व्यवसायी मर्कामा पर्दै आएका छन्। यसैबीच व्यवसायीले बजारको मागअनुरूप आपूर्ति व्यवस्था मिलाउन आवश्यक पहल गर्न पनि विभागसमक्ष आग्रह गरे। पछिल्लो समय बजारको मागअनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी मर्कामा परेका छन्। विदेशी विनिमय सञ्चितीको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएकाले बजारमा सुनको अभाव भएको छ।  

पछिल्लो समयमा विभिन्न बैंकमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ। बजारको माग भने योभन्दा निकै बढी भएको व्यवसायीको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०१:३० बिहीबार

सुनचाँदी