अर्थ

उत्पादन किसानको, मूल्य निर्धारण सरकारको

धान खरिद बिक्री हुँदै।

सरकारले समयमा मूल्य नतोक्दा कैलालीका किसान सस्तोमा धान बेच्न बाध्य छन्। उनीहरु खाद्यान्न व्यापारीलाई सस्तोमा धान बेचिरहेका छन्।

टीकापुर नगरपालिका–८ का किसान लोकबहादुर ठकुल्लाले प्रति क्विन्टल १ हजार ८ सयदेखि २ हजार २ सयसम्ममा धान बेच्नु परेको बताए। उनले सरकारले समयमा धानको मूल्य नतोक्दा आफू जस्तै अधिकांश किसान मर्कामा परेको गुनासो गरे।

उनले किसानले धान बेचिसकेपछि मात्रै सरकारले मूल्य तोकेर व्यापारीलाई मोटाउने काम गर्ने गरेको बताए। ‘हामीले बेचिसके पछि मात्रै सरकारले मूल्य तोक्छ’ उनले भने–‘यो व्यापारीलाई मोटाउने काम मात्रै हो।’

गतवर्ष सरकारले कात्तिक १८ गते नै धानको समर्थन मूल्य तोकेको थियो। तर यो वर्ष अहिलेसम्म धानको मूल्य तोक्ने बारेमा सरकारले पहल गरेको छैन। गतवर्ष सरकारले धानको मूल्य मोटो धान प्रति क्विन्टल २ हजार ७३५ र मध्यम धान प्रति क्विन्टल २ हजार ८८५ तोकेको थियो।

धान बाली यहाँका किसानको नगदे बाली हो। वर्षेनी किसानले मेहनत गरेर फलाएको धानको उचित मूल्य पाउन सकेका छैनन्। उनीहरुले सस्तोमा धान बेच्नु पर्दा लागत समेत असुल नहुने गरेको दुःखेसो पोखे। समयमा बीउ विजन र मलखाद नपाएर दुःख पाएका किसानले सस्तोमा धान बेच्नु पर्दा झन धेरै दुःख महशुस भैरहेको बताए।

टीकापुर नगरपालिका–७ का किसान चुन्नुलाल थारुले धान बेचेरै आर्थिक जोहो गर्नुपर्ने वाध्यता रहेको बताए। उनले धान बेचेको पैसाले मलखाद किन्न समेत धौधौ हुने गरेको बताए। ‘अरु व्यापार व्यवशाय केही छैन। यही धान बेचेको पैसाले परिवार पाल्नुपर्छ’ उनले भने–‘धान बेचेको पैसाले मलखाद किन्न समेत पुग्दैन।’

एकातिर कैलालीको पूर्वी भेगका किसानलाई बाढीले सताउने गरेको छ। वर्षायाममा आउने बाढीले किसानको धान खेती नष्ट पार्छ। यो वर्ष दुई/दुई पटक बाढी आयो। किसानको अधिकांश धान बाढीले बगायो। उनीहरुले आधा पनि धान खेती स्याहार्न पाएनन्। बाढीको मुखबाट जोगाएको धानको उचित मुल्य समेत नपाए पछि किसान मर्कामा छन्। उनीहरु प्राकृतिक विपत्ती र सरकार दुवैले आफूहरुलाई दुःख दिएको बताउँछन्।

टीकापुर नगरपालिका–८ सोनाहाफाँटाका किसान कृष्णबहादुर धमालाले व्यवशायीहरुले बाढी प्रभावित क्षेत्रको धान किन्न आनाकानी गर्ने गरेको दुःखेसो पोखे। ‘बाढी प्रभावित क्षेत्रको धान भनेपछि सस्तोमा पनि किन्न मान्दैनन्’ उनले भने–‘हामी दोहोरो मारमा परेका छौं।’

खाद्यान्न व्यापारी बिरबल चौधरीले बाढी प्रभावित क्षेत्रको धान राम्रो नभएको बताए। उनले धानमा माटो मिसिएकाले अरु धान समेत बिग्रिने भएकाले व्यापारीले बाढी प्रभावित क्षेत्रको धान किन्न समस्या भएको बताए। ‘धान राम्रो छैन। सबै माटो मिसिएको धान मात्रै छ’ उनले भने–‘अरु राम्रो धान समेत बिग्रिने भएकाले ब्यापारीले नकिकेको हो।’

सरकारले धानको मुल्य तोक्ने बारेमा अहिलेसम्म कुनै पहल गरेको छैन। हरेक वर्ष सरकारले नै धानको मूल्य तोक्ने गरेको छ। सरकारले धानको मूल्य तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. ले विभिन्न ठाउँमा काँटा राखेर धान खरिद सुरु गर्छ। यस बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. धनगढीका प्रमुख इञ्जिला बस्नेतले जानकारी दिइन्।

उनले अहिलेसम्म कुन-कुन ठाउँमा धान खरिदका लागि काँटा राख्ने भन्ने बारेमा समेत निर्णय नभएको बताइन्। ‘अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन’ उनले भनिन्–‘सरकारले निर्णय गरेपछि आधिकारिक जानकारी आउँछ होला।’ कैलालीको पूर्वी भेग धान उत्पादनका लागि प्रख्यात छ।

यहाँको उत्पादन देशभर आपूर्ती हुन्छ। मनग्ये धान उत्पादन हुने गरेपनि सरकारले यहाँका किसानका लागि कुनै कार्यक्रम समेत ल्याउन सकेको छैन। किसानले परम्परागत ढंगले नै धान खेती गर्दै आएका छन्। उनीहरुले आफ्नै क्षमताले उत्पादन गरेको धान बेच्न समेत सरकारको निर्णय पर्खिनुपर्ने वाध्यता छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०७:४१ बुधबार

टीकापुर नगरपालिका टीकापुर नगरपालिका–८ सोनाहाफाँटा