अर्थ

रमेश कर्पको भारतीय कम्पनीसँग साझेदारी

टाइल्स उत्पादन गर्न नेपालको व्यापारिक समूह रमेश कर्पले भारतको कजारिया सेरामिक्ससँग साझेदारी गर्ने भएको छ। दुई समूह बीच नयाँ कम्पनी स्थापना गर्न व्यावसायिक सम्झौता भएको हो।

सम्झौतापत्रमा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन्। करिब ४ अर्ब नेपाली रूपैयाँ पुँजीको कम्पनी स्थापना गर्ने ती समूहले जनाएका छन्। दुवै समूहले आधाआधा लगानी गर्ने भएका हुन्।

सेरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थ टाइल्स उत्पादनमा प्रयोग गरिनेछ। नेपालकै नमुना उद्योग बनाउने कम्पनीको दाबी छ।

अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकताका राखेर उद्योग सञ्चालन गर्ने भएका छन्। कजारिया सेरामिक्स भारतमा सेरामिक/भिट्रिफाइड टाइल्सको ठूलो उद्योग हो। भारतका विभिन्न प्रदेशमा यसका ८ वटा उत्पादन कम्पनी छन्। 

प्रकाशित: २१ कार्तिक २०७९ ०२:१८ सोमबार

नेपालको व्यापारिक समूह रमेश कर्प कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारिया