अर्थ

११ वर्षसम्म पनि बनेन पुल

निर्माणाधीन कान्द्रा पुल।

भजनी नगरपालिका–५ लालबोझीका अशोक साउँद कान्द्रा नदीको ठेकीमा पुल निर्माण सुरु हुँदा विद्यालय भर्ना भएका थिए। उनलाई बुबा दलबहादुरले डुंगामा तारेर भजनी नगरपालिका–३ ठेकीपुरस्थित ग्रीन बोर्डिङ स्कुलमा भर्ना गरेका थिए।

दलबहादुरले दुई वर्ष भित्र पुल निर्माण सम्पन्न भए छोरालाई विद्यालय ओहोरदोहोरमा समस्या नहुने आशा बोकेका थिए। अहिले उनका छोरा अशोक कक्षा ११ मा पढ्छन्। तर दुर्भाग्य अहिलेसम्म पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन।

हुलाकी राजमार्ग अन्र्तगतको सो पुल २०६८ जेठ ३१ गतेदेखी निर्माण सुरु भएको हो। लामा साल्पा शेर्पा बिरुवा जेभीले २०७० मंसिर मसान्त भित्र पुल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ। निर्माणाधीन पुलको काम समयमा सम्पन्न नभएपछि पाँच पटक म्याद थप गरिएको छ। पछिल्लो समयावधि अनुसार पुल निर्माणको काम २०७९ चैत मसान्तमा सक्नुपर्नेछ। ४ करोड ४२ लाख २१ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए।  

उनका अनुसार लगातार काम भए थप दुई महिना भित्र पुल निर्माणको काम सम्पन्न हुनेछ। पुलको तीनवटा ‘स्ल्याव’ मध्ये दुईवटा निर्माण सम्पन्न भैसकेका छन्। ‘अब धेरै काम बाँकी छैन’ सूचना अधिकारी सुनारले भने –‘दुई महिनामा काम सकिने अवस्था छ।’

पुल निर्माण भएपछि सहज होला भन्ने आशा बोकेका थुप्रै स्थानीय बासिन्दा निराश बनेका छन। भजनी नगरपालिका–५ र ७ का बासिन्दा अहिले पनि डुंगा चढेर कान्द्रा नदी वारपार गर्छन्। उनीहरुले पालिकाको केन्द्र रहेको भजनी बजार आउन डुंगा चढ्नुपर्ने बाध्यता छ।  

त्यहाँका विद्यार्थीहरुले उच्च शिक्षाका लागि समेत डुंगा चढेर कान्द्रा नदी पार गर्नैपर्छ। स्थानीय रमेश बुढाले कैयौं विद्यार्थीहरु जोखिम मोल्न नसकेर पढाई छोड्न बाध्य हुनुपरेको दुखेसो पोखे। ‘सबै डुंगा तरेर पढ्न जान सक्दैनन्’ उनले भने–‘आधा भन्दा बढी विद्यार्थी पढाई छोड्छन।’

त्यहाँका बासिन्दालाई दुःखी बिरामी हुँदा समेत समस्या छ। उनीहरुले समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता छ। भजनी बजारमा रहेको अस्पतालमा उपचारका लागि आउन त्यही कान्द्रा नदीको डुंगा तर्नुपर्छ। ‘डुंगा चढेर अस्पताल पुग्दासम्म ढिलो भैसक्छ’ स्थानीय मथुरा धामीले भनिन् –‘कैयौंले अकालमा ज्यान गुमाएका छन्।’

यो पुल भजनीका बासिन्दाका लागि मात्रै उपयोगी छैन। यो हुलाकी राजमार्ग अन्र्तगतको पुल हो। यसले पश्चिम नेपालका दुई प्रमुख ब्यापारिक केन्द्र धनगढी र नेपालगञ्जलाई जोड्ने छ। धनगढीदेखी नेपालगञ्जसम्मको हुलाकी सडक निर्माणको काम लगभग सकिएको छ। सबै सडक कालोपत्रे भइसकेको छ। अझ कतिपय ठाउँमा त सडक स्तरोन्नतीको काम समेत भइरहेको छ। यही पुलले मात्रै अहिलेसम्म हुलाकी राजमार्ग अन्र्तगत धनगढी र नेपालगञ्जको सोझो सम्बन्धलाई जोड्नबाट रोकेको छ।  

अहिले स्थानीयले धनगढीदेखी नेपालगञ्जको यात्रा पूर्वपश्चिम राजमार्ग मार्फत गर्छन्। यो पुल बनेपछि धनगढीदेखी नेपालगञ्जको यात्रा आधा छोटो हुनेछ। कैलालीको पूर्वी भेगका बासिन्दालाई समेत धनगढी ओहोरदोहोरमा निकै सहज हुनेछ। उनीहरु अहिले झण्डै ८० किलोमिटर यात्रा गरेर धनगढी पुग्छन्। यो पुल बनेपछि भजनी बजारबाट ४५ किलोमिटरको दूरीमा धनगढी पुगिनेछ।  

‘यो पुलले दक्षिणी भेगका बासिन्दालाई निकै सहज हुनेछ’ स्थानीय गणेश बुढाले भने–‘पुल निर्माणमा भैरहेको ढिलासुस्तीले हामीलाई निराश पारेको छ।’

पुल निर्माणमा भैरहेको ढिलासुस्तीले स्थानीय निकै आक्रोशित बनेका छन्। उनीहरु निर्माण कम्पनीलाई राजनीतिक संरक्षण रहेको आरोप लगाउँछन्। राजनीतिक संरक्षण नभएको भए पुल निर्माणको काम समयमै सम्पन्न हुने विश्वास स्थानीयमा छ। ‘हामीले विरोध गरेर मात्रै के हुन्छ। ठेकेदारलाई नेताहरुले संरक्षण गरेका छन’ स्थानीय नेत्रबहादुर साउँदले भने –‘समयमा पुल निर्माण नहुनुमा नेताहरु पनि दोषी छन्।’

निर्माण पक्षले भने पुलको डिजाइन परिवर्तन भएका कारण निर्माण कार्यमा ढिलाई भएको दावी गरेको छ।

 

प्रकाशित: १९ कार्तिक २०७९ ०५:१० शनिबार

कान्द्रा पुल