अर्थ

‘उज्यालो टीकापुर’ अभियान सुरु

टीकापुर नगरपालिकाले ‘उज्यालो टीकापुर’ अभियान सुरु गरेको छ। अभियान अन्तरगत नगरपालिकाका विभिन्न चोक तथा मुख्य सडकहरुमा सडक बत्ती जडान कार्य थालेको छ। वडा नं. १ को मुख्य बजार क्षेत्रका विभिन्न चोक तथा अन्य वडाका मुख्य बजार तथा चोकहरुमा सडकबत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ।

वडा नं. २ देखि ९ सम्म प्रत्येक वडामा ५० हजार रुपैयाँ र वडा नं. १ मा झण्डै ३ लाख बराबरका सेल्फ अनअफ सडकबत्ती जडान गरिएको नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले जानकारी दिएका छन्। इञ्जिनियर रावलका अनुसार वडा नं. १ मा मुख्य चोक र मुख्य सडक गरी ६० वटा बत्ती जडान गरिएको छ भने अन्य वडामा १० वटाका दरले बत्ती जडान गरिएको छ।

बजारका मुख्य चोकहरुलाई लक्षित गर्दै नगरपालिकाले हाइमास्ट लाइट समेत जडान गर्ने योजना बनाएको छ। वडा नं. १ को खड्ग चोकमा सञ्चालन भएको हाइमास्ट लाइट जस्तै अन्य चोकमा जडानका लागि टेण्डरको प्रक्रियामा रहेको इञ्जिनियर रावलले बताए।

भदौ २४ र २५ गते आयोजना भएको नेपाल जेसीजको क्षेत्र घ सम्मेलनदेखि नै नगरलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख रामलाल डगौरा थारुले बताए। ‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

नगर प्रमुख थारुले उज्यालो टीकापुर कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन्। नगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन्।

प्रकाशित: १७ कार्तिक २०७९ ०६:०२ बिहीबार

टीकापुर नगरपालिकाले ‘उज्यालो टीकापुर’ अभियान सुरु